स्टकल्याण्डलाई युरोप क्षेत्र छनोटको उपाधि

Read Time = 3 mins

लण्डन । घरेलु टोली स्कटल्याण्डले आइसिसी टी-२० विश्वकप युरोप क्षेत्र छनोटको अन्तिम खेलमा आयरल्याण्डलाई आठ विकेटले पराजित गर्दै उपाधि जितेको छ । यसअघि नै दुवै टोलीले विजेता र उपविजेताका रूपमा सन् २०२४ मा अमेरिका र वेस्टइण्डिजमा हुने टी-२० विश्वकपमा स्थान बनाइसकेका छन् ।

जितका लागि २१४ रनको विशाल विजयी लक्ष्य पछ्याएको आयरल्याण्ड निर्धारित २० ओभरमा नौ विकेट गुमाउँदै २०५ रनमा रोकियो । आयरल्याण्डका मार्क आदिरले ३६ बलमा चार चौका र ६ छक्कासहित ७२ रनको पारी खेल्नुभए पनि जितका लागि त्यो पर्याप्त रहेन ।

त्यसबाहेक आयरल्याण्डका एन्डी बालबर्नी चार, कप्तान पल स्टर्लिङ २१, लोर्कान टकर डक, हृयारी टेक्टर एक, कर्टिस क्याम्फर २८, निल रक २० र जर्ज डोकरेल १७ रनमा आउट हुनुभयो ।

स्कटल्याण्डका तीव्रगतिका बलर ब्राड्ली करीले चार ओभरमा एक मेडनसहित १३ रन खर्चेर पाँच विकेट हात पार्नुभयो । माइकल लिस्कले तीन ओभरमा ३० रन खर्चेर दुई विकेट लिनुभयो ।

त्यसअघि टस हारेर पहिला ब्याटिङको निम्तो पाएको स्कटल्याण्डले निर्धारित २० ओभरमा ६ विकेट गुमाउँदै २१३ रन बनाएको थियो । स्कटल्याण्डका ब्रेन्डन म्याकमुलेनले ३५ बलमा चार चौका र पाँच छक्कासहित सर्वाधिक ६८ रनको योगदान दिनुभयो । कप्तान रिची बेरिंग्टन २९ बलमा तीन चौका र चार छक्कासहित ५४, जर्ज मुन्से २०, म्याथ्यु क्रस ३० र माइकल लिस्क २१ रनमा आउट हुनुभयो ।

आयरल्याण्डका ब्यारी म्याकार्थी र बेन हृवाइटले समान दुई विकेट लिनुभयो । स्कटल्याण्ड ६ खेलमा १२ अंकका साथ शीर्षस्थानमा रहृयो । आयरल्याण्ड ६ खेलमा नौ अंकका साथ दोस्रो स्थानमा रहेर विश्वकपमा पुगेको हो ।

स्कटल्याण्डका कप्तान रिची बेरिंग्टन प्लेयर अफ द टुर्नामेन्ट घोषित हुनुभयो । उहाँले पाँच खेलमा २४८ रन बनाउनुभयो । प्रतियोगितामा आयरल्याण्ड, स्कटल्याण्ड, डेनमार्क, जर्मनी, जर्सी, इटाली र अष्ट्रिया थिए । एजेन्सी ।

Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments

रिलेटेड न्युज

छुटाउनुभयो कि ?