इतुंवाहा म्युजियम स्थापना

हिमालय टाइम्स
Read Time = 5 mins

काठमाडौं । ऐतिहासिक, धार्मिक, सांस्कृतिक र पर्यटकीय महत्वको इतुंवाहा म्युजियम स्थापना गरिएको छ । काठमाडौं उपत्यकाका महाविहारमध्ये एक इतुंवाहाः अर्थात् ‘भाष्करदेव संस्कारित केशचन्द्रकृत पारावत्’ महाविहार ऐतिहासिक विशेषता भएको प्रसिद्ध एवं पुरातात्विक महत्व बोकेको प्रमुख महाविहार हो । इतुंवाहालाई कान्तिपुरका विहारमध्येको सबैभन्दा ठूलो र पुरानो महाविहार मानिन्छ । प्राचीन इतिहास बोकेको इतुंवाहाः आफैंमा सिंगो संग्रहालय हो । मूर्त अमूर्त सम्पदाले पनि केशचन्द्र पारावत् महाविहार समृद्ध छ ।

महाविहारमा नेवार, बौद्ध धर्मावलम्बीसँग सम्बन्धित इतिहास, संस्कृति, रहनसहन, महायान, वज्रयान बौद्धहरूको जीवनशैली, संस्कारसम्बन्धी क्रियाकलाप नियमित रूपमा सञ्चालन हुने बताइएको छ । भाष्करदेव संंस्कारित केशचन्द्रवृmत पारावत् महाविहार संरक्षण समाजका अध्यक्ष प्रज्ञारत्न शाक्यले भाष्करदेव संंस्कारित केशचन्द्रवृmत पारावत् महाविहारले इतुंवाहाःको ऐतिहासिक परम्परालाई कायम राख्न सक्रिय भूमिका खेल्दै आएको बताउनुभयो । सोही क्रममा इतुंवाहाः म्युजियम तयार भएको भन्दै उहाँले करिब दुई वर्षदेखिको अथक प्रयासपछि इतुंवाहाः म्युजियम उद्घाटन गरिएको जानकारी गराउनुभयो ।

इतुंवाहाः म्युजियम स्थापनाका लागि अमेरिकाको न्युयोर्कस्थित रुविन म्युजियम आर्टले समाजसँग सहकार्य गरेको छ । त्यसैगरी इतुंवाहा समाजले गरेको म्युजियमको परिकल्पना लुम्बिनी बौद्ध विश्वविद्यालयको म्युजिलियोजी एण्ड बुद्धिस्ट कलेक्सन प्रोग्रामसँग पनि सहकार्य गरेको हो ।

समाजका अनुसार सन् १९९९ मा इतुंवाहाको आँग घरबाट हराएको पुष्पमालाले सुुुसज्जित अप्सरा (विद्याधर) अमेरिका पुगेको थियो । सन् २००३ मा रुवेन म्युजियमको संग्रहमा विद्याधर पनि थपियो । सामाजिक सञ्जालमार्फत् सतर्क गराउने मञ्च लस्ट आर्ट्समार्फत् रुवेन म्युजियम प्राचीन महत्व बोकेको सामग्री विद्याधरको इतिहासबारे जानकारी आएको थियो । त्यसपछि रुवेनले तुरुन्तै सत्यतथ्य बुझ्न अनुसन्धान गर्‍यो र विद्याधरलाई पुरानै स्थान इतुंबहालमा फिर्ता गर्न न्युयोर्कमा रहेको नेपाली वाणिज्य दूतावाससँग सहकार्य गरी विद्याधरलाई नेपाल फिर्ता ल्यायो ।

रुविनले सामाजिक दायित्वअनुरूप समाजसँग सिर्जनात्मक साझेदारी गरेको हो । म्युजियम स्थापनामा लुम्बिनी बौद्ध विश्वविद्यालयका लेक्चरर स्वस्ति राजभण्डारी र सोही विश्वविद्यालयका विद्यार्थी सम्मिलित टिमको पनि महत्वपूर्ण भूमिका रहेको छ ।

इतुंवाहाः म्युजियममा हाल तीन ग्यालरीमा एक सयभन्दा बढी ऐतिहासिक सामग्री प्रदर्शनमा राखिएको छ । सोही क्रममा पाँच सयभन्दा बढी पुरातात्विक सामग्री पहिचान भए पनि हाललाई करिब एक सय पुरातात्विक सामग्रीमात्र प्रदर्शनमा राखिएको समाजले जनाएको छ ।

दशकौंदेखि भण्डारमा थुप्रिएका सामग्री नष्ट हुनबाट जोगाउन र त्यस्ता सामग्री पहिचान गरी आगामी पुस्तालाई पनि सम्पदा संरक्षणबारे जानकारी गराउने उद्देश्य संग्रहालयको रहेको छ । इतुंवाहाः म्युजियमको एउटा सेक्सनले ‘मूर्त सम्पदाको संरक्षणमा सामूहिक जिम्मेवारीः हराएको र फिर्ता भएको सम्पदा’ को पनि जानकारी र जनचेतना गराउने प्रयास गरेको छ ।

Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments

रिलेटेड न्युज

छुटाउनुभयो कि ?