प्रकृति र प्रविधि एक अर्काका विलोम होइनन्

Read Time = 15 mins

सामान्यतया जीवनयापनमा प्राकृतिक तरिकाको भन्ने प्रसंग आउने बित्तिकै वर्तमानका प्रविधि सबै त्याग्नुपर्ने सोच आउने गर्दछ । त्यसैले प्रविधिले सहज बनाएको वर्तमानको विपरीत आदिम युगको जीवन पद्धतिको कल्पना गर्न पुग्ने गरिन्छ । त्यसैले जीवनयापनमा प्रकृतिसँगको सामञ्जस्यता चाहिन्छ भन्ने कुराको अन्तरमनले विरोध गर्न निर्देश गर्छ । किनभने पाकृतिक तरिकाले जीवनयापनको कुरा हुने बित्तिकै अनौठा किसिमका विचार, कल्पना, चित्र आदि मानस पटलमा आउँछ । हात्ती छामेर चिनेको किस्साका जस्तै हुन्छन् ती परिकल्पना वा चित्रहरू । डिस्कभरी जस्ता टेलिभिजनका कतिपय कार्यक्रमहरूले यस्ता विचित्र सोच आउने बनाउँछ ।

आदिम प्रविधिको नाममा वर्तमानमा भएका औजार सुविधा आदिको प्रयोगविना जीवनको कल्पना गरेर बनाएका शृंखलाहरू रुचाइने पनि गरेका छन् । यस्ता कार्यक्रममा आदिम युगको परिकल्पना गरे पनि पात्रहरूले आदिम औजारको प्रयोग गरेर वर्तमानमा प्रयोग हुने गरेका पौडी पोखरी, कलधारा जस्ता संरचना निर्माण गरेको देखाइन्छ । विलियम हाना र जोसेफ बारबराले सिर्जना गरेको कमिक ‘दि फिल्टष्टोन’ मा ढुंगे युगको कल्पनामा हात्तीको सुँडले नुहाउने सावरको काम गर्छ, ढुंगाका खोपेर पत्र लेखिन्छ र खोपेरैै त्यसमा सही गरिन्छ ।

प्रकृतिमा सहजै उपलब्ध सम्पत्तिको सट्टामा जैविक मलहरू, जैविक विषादी आदिका उत्पादक प्रसस्त छन् । जो काम प्रकृतिचक्रको रूपमा सहज नै हुने गर्दछ र करिब-करिब विनामूल्य उपलब्ध हुन्छन् त्यसलाई उच्च प्रविधिको प्रयोग गरेको जस्तो गरेर उत्पादन गरी महँगो मूल्य असुल्ने प्रसस्त छन् ।

वातावरण र आधुनिकताबीचको विवाद गर्ने अनेकौं संगठनले प्रकृति र प्रविधि एक अर्काका विपरीत अर्थात् विलोम हुन भन्ने स्थापित कुरा गर्न सहयोग पुर्‍याएका छन् । यो त्यस्ता संगठनहरूको लक्ष होइन, कतिपय बेलामा त यो लक्षको विपरीत प्राप्त भएको हानिकारक सहउत्पादन हो । वातावरण संरक्षणको नाममा, प्रकृतिक वस्तुहरूको प्रयोगका नाममा एक पक्षले प्रयोगका नाममा एक पक्षले अतिशयोक्तिपूर्ण अभियान चलाउँछ । त्यस्तै अर्को पक्षले बढ्दो जनसंख्यालाई खाद्य सामग्री आपूर्तिको नाममा सम्पूर्ण कृषिकर्म नै आफ्नै कारखानामा तयार गरिएका मल, बिउ, दबाई आदिमा मात्र भर पर्ने बनाउन अभियान चलाउँछ । यस्ता व्यापारिक प्रतिष्ठानहरूको यो व्यापारी स्वाथ्र्य हानीकारक देखिएको अवस्थामा त्यो रोक्न फैसला भएका उदाहरण छन् । तर केही समयमा कानुनी छिद्र, नेता तथा कर्मचारीतन्त्रमा प्रभाव आदिको सहायताले फेरि आउने गर्दछन् ।

यो दोहोरो लडाइँमा वंशानुसूत्रलाई नै मर्मत गरेको अर्थात् जेनेटिक्ल्ली मोडिफाइड बिउ, वर्णशंकर बिउ अर्थात हाइब्रिड, पछि काम नलाग्ने बिउ अर्थात् टर्मिनेटर टेक्नोलोजीका बिउहरू उत्पादक छन् । रासायनिक मल, किटनाशक, झारनाशक आदिको प्रयोगको महिमा गाउने विज्ञहरूको एक पिँढी नै तयार भएको छ । रासायनिक मल, वर्णशंकर बिउको नाममा वंशानुसूत्र मर्मत गरेका बिउहरूको नोक्सानी यस्ता विषेशज्ञले बिस्तारै बुझ्दैछन् । अरू प्रकृतिक तरिका अपनाउन सल्लाह दिए पनि अन्तिम विकल्पको रूपमा त्यही रासायनिक नै सल्लाह दिन्छन् । त्यसको विरोधमा अग्र्र्यानिक अर्थात् प्रांगारिक खेती, वातावरण बचाउ अभियान, फोहोर सफा गर्ने अभियान आफूले समाजमा उच्चकोटिको योगदान गरेको दम्भ साथ छन् ।

यस्ता आपसी द्वन्द्वहरूमा सचेतना कार्यक्रमले धेरै कुरा सिकाएको छ । त्यसैले प्रकृतिको काखको धेरैले बुझेका छन् । बुझेको मात्र होइन यसैको अभियानमा लागेका छन् तर यसमा अतिशयोक्तिले जितेको छ । प्रकृतिमा सहजै उपलब्ध सम्पत्तिको सट्टामा जैविक मलहरू, जैविक विषादी आदिका उत्पादक प्रसस्त छन् । जो काम प्रकृतिचक्रको रूपमा सहज नै हुने गर्दछ र करिब करिब विनामूल्य उपलब्ध हुन्छन् त्यसलाई उच्च प्रविधिको प्रयोग गरेको जस्तो गरेर उत्पादन गरी महँगो मूल्य असुल्ने प्रसस्त छन् । वायवीय सड्न पद्धति अर्थात् एरोविक डिकम्पोजिसनले चौध-पन्ध्र दिनभित्रै मल बनाउँछ त्यही अवायवीय तरिका अपनाएमा त्यो समय तीन-चार महिना लामो हुन्छ । तर, अग्र्यानिक वेष्ट डिकम्पोजर भनेर छिट्टै मल बनाउने झोलको व्यापार फष्टाएको छ ।

रासायनिक मल, किटनाशक आदि प्रयोग नभएको भनेर त्यसलाई महत्व दिने संस्कारको पनि विकास भएको छ । यस्ता उत्पादहरूको मोल धेरै पाउन तथा विदेश पठाउन यो प्रांगारिक हो भनेर प्रमाणीकरण हुने गरेको छ । यस्ता प्रमाणीकरण गर्ने, अनुगमन गर्ने विदेशी निकायहरू छन् । अर्थात् प्राकृतिको काखमा बस्नु भनेको सामान्य जीवनयापनभन्दा अलग कुरा हो सामान्यभन्दा महँगो हो भन्ने अवधारणको निर्माण भएको छ । यसै कारणले प्रकृतिको काखभन्दा टाढा भएको अवस्थामा हुने हानीसँग सबै परिचित छन् तर प्रकृतिको काखमा आउन अन्य कुनै सहायता वा सहायक सामग्रीको खोजी अवचेतनले गरिरहेको छ । यस्ता अभियानमा लागेकाहरूको त के कुरा र स्वयं प्रशिक्षक नै व्यावहारिक रूपमा प्रयोग गर्न नसकेको अवस्था छ ।

यो एक स्वभाविक प्रक्रिया हो, यसलाई अपनाएको कुरा प्रदर्शनयोग्य तत्व हुँदैन । जसरी कसैले पिरामा पलेटी मारेर हातले मुछेर खाएको कुरा प्रदर्शन गर्न योग्य कुरा नै केही हुँदैन तर त्यही कुरालाई होटेल व्यवसायीले राम्रो कमाइको मेलो बनाउन सक्छ । पिरामा बसेर थालको वरिपरि कचौराहरूको घेरा लगाएर खाने कुरा युवा पुस्तालाई रहर र आकर्षणको कुरा हुन्छ । अझ त्यसमा कोदाको ढिँडो, सिस्नुको तरकारी, गाभाको अचार भयो भने त एक छाकलाई हजारौं तिर्न तयार हुने प्रवृत्ति देखिन्छ तर जुन स्थानमा तल्लो वर्गको मुख्य खाना नै त्यही छ उसको निमित्त त्यसमा कुनै आकर्षण हुँदैन । उसले त मसिना चामलको भात उसको पहुँच बाहिरको सितनसँग टेबलमा राखेर कुर्सीमा बसेर खानु सपना हुनसक्छ ।

प्रकृति चिन्नु र प्रकृतिको काखमा रमाउनु भनेको फेरि आदिम युग जस्तै गुफामा बस्न जानु होइन । विज्ञान र प्रविधिले दिएको सजिलोपना त्याग्नु पनि होइन । केवल प्रकृतिको उपहारको अपव्यय नगर्नु हो, आफूलाई प्रकृतिको प्रतिद्वन्द्वी ठानेर जथाभावी वर्तमान सन्तुलन भत्काउन बन्द गर्नु हो ।

प्रकृतिले सबै कुरा करिब-करिब सित्तैमा दिएको हुन्छ । प्रकृतिले सबैको निमित्त उपभोग्य सामग्री उत्पादन गरेको हुन्छ । जो चिन्ने र प्रयोग गर्ने तरिका मान्छेले भुल्दै नै गएको छ । बाहिर छानिएर बोतलमा राखिएको पानी, घरमा त्यही पानी जारमा किनेर वा युभी, आरओ जस्ता नामले बजारमा आएका छान्ने यन्त्रबाट छानिएको पानी प्रयोग गर्ने सबै भएका छन्, केही अपवाद भने होलान् तर उनीहरूलाई आजभन्दा बीस वर्ष जति पहिले यस्तो पानी प्रयोग गर्दैनथे अपवादका केही छोडेर । पानी उमालेर छानेर प्रयोग गर्नु प्रयाप्त हुन्थ्यो । प्रकृतिसँग जति टाढा हुन सक्यो त्यति नै सुसंस्कृत, आधुनिक हुने होडमा मान्छेले आफ्नो प्रतिरोध क्षमता हराउँदैछ ।

सबैजसो धर्म, सम्प्रदायमा प्रकृतिको पूजा हुन्छ । आजकल कसैले आफूलाई मात्र प्रकृतिको पूजक भने पनि ऊ प्रकृतिपूजक रहेन । किनभने प्रकृति पुज्नु भनेको केवल कर्मकाण्डमात्र होइन प्रकृतिको सकेसम्म उपभोग गर्नु पनि हो तर त्यो आफूलाई आवश्यकभन्दा बढी उपयोग गर्नु वा कब्जा गर्नु भने अपराघ हो । यो अपराधको सजाय मान्छेले पाउँदै आएको छ । केही दशकपहिले नियमित आउने बाढी, हावाहुरी, भुइँचालो आदिले त्यसबेला गरेको क्षति र त्यो जति नै वा त्यसभन्दा कम तीव्रता भएका यस्तै कुराले गर्ने क्षति धेरै बढेको छ । किनभने प्रकृतिको काखमा हुँदा यस्तो क्षति सहन क्षमता, त्यससँग लड्ने शक्ति धेरै घटेको छ । चाल्र्स डार्बिनको विकासवादको सिद्धान्तले उपभोग नहुने क्षमता समाप्त हुँदै जान्छ भन्छ ।

प्रकृतिलाई मान्छेले चिन्न छोडेको छ । यो पाँचको परिधि भनेको त्यही प्रकृतिलाई फेरि चिन्ने, प्रकृतिको उपहार उपभोगले आफ्नो जीवनशैली सहज बनाउने एक सोच हो । प्रकृतिको काखमा रमाउन भने प्रकृति चिन्नुपर्छ । प्रकृति चिन्नु र प्रकृतिको काखमा रमाउनु भनेको फेरि आदिम युग जस्तै गुफामा बस्न जानु होइन । विज्ञान र प्रविधिले दिएको सजिलोपना त्याग्नु होइन । केवल प्रकृतिको उपहारको अपव्यय नगर्नु हो, आफूलाई प्रकृतिको प्रतिद्वन्द्वी ठानेर जथाभावी वर्तमान सन्तुलन भत्काउन बन्द गर्नु हो । सबै चिज जस्तै मान्छे पनि प्रकृतिको अंग हो । अंग प्रतिद्वन्द्वी हुनै सक्दैन, यदि भयो भने त्यो नासिएर जान्छ । कतै पनि प्रकृतिमा असन्तुलन भयो भने उसले नयाँ तरिकाले सन्तुलन कायम गर्छ ।

यो नयाँ सन्तुलनमा कतिपय अंग समाप्त हुन्छन् र कतिपय नयाँ अंग पैदा हुन्छन् । वैज्ञानिकहरू भन्छन् अहिलेको हिमाल कुनै कालमा समुद्र थियो भने समुद्रको तल कुनै समयमा अग्ला हिमाल थिए । प्रकृति पाँच शक्तिको परिधिमा रहेको हुन्छ । त्यो पाँचलाई सनातनमा पञ्च महाभूत या पञ्चतत्व भनिन्छ र यो पाँचतत्वलगायत आपूm वरिपरिको कुरा अध्ययन गरेर प्रकृतिको आवश्यक र उपयोगी दोहन गर्ने जीवन पद्धतिको सोच नै पा“चको परिधि हो । यो टुक्राटुक्रमा विभिन्न तरिकाले र पात्रहरूले उठाउने गरेको जस्तो कुरा होइन । खेतीपातीको कुरा यसमा आउँछ तर यो प्रांगारिक खेती होइन, फोहोरको कुरा आउँछ तर यो फोहोरमैला व्यवस्थापन होइन ।

त्यसै नगरेर जमिनमुनिको, जमिनमाथिको पानीको कुरा आउँछ तर यो वर्षादको पानी सञ्चय होइन । यो यिनीहरू भन्दा धेरै भेग कुरा हो तर यिनीहरूभन्दा सरल कुरा हो । पञ्चमहाभूत १, आकाश अर्थात् अन्तरिक्ष, २, पृथ्वी अर्थात् जमिन, ३, अग्नि अर्थात् ऊर्जा, ४, वायु अर्थात् हावा र ५, जल अर्थात् पानी हुन् । यही पञ्चमहाभूतको परिधिभित्र प्रकृति भएकाले मान्छे पनि स्वतः त्यसैभित्र पर्दछ । प्रकृति र प्रविधि एक अर्काका विलोम होइनन् । प्रविधि पनि प्रकृतिको हिस्सा हो । प्रकृति र प्रविधिको उपभोगले जीवन सहज बनाउने अवधारणा हो ‘पाँचको परिधि’ वा फाउण्डेशन फाइभ ।

Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments

रिलेटेड न्युज

छुटाउनुभयो कि ?