रोजगारीको प्रलोभनमा ठगी बढेपछि सिजनल भिसामा श्रम स्वीकृति रोक

हिमालय टाइम्स
Read Time = 8 mins

रमेश भारती/हिटा
काठमाडौं । सरकारले मौसमी रोजगारीका लागि श्रम स्वीकृति जारी नगर्ने भएको छ । पछिल्लो समय दक्षिण कोरिया, बेलायत, जापान र युरोपका देशमा मौसमी रोजगारीमा कामदार लैजाने प्रलोभन देखाएर म्यानपावर कम्पनी, कन्सल्टेन्सी, म्यानपावरका एजेन्ट, ट्राभल एजेन्सी र व्यक्तिगत ठगी गर्ने प्रवृत्ति बढेपछि श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालयले तत्काल श्रम स्वीकृति जारी नगर्ने जनाएको हो । मौसमी रोजगारीमा कामदार पठाउने भनेर गाउँघरदेखि रोजगारदाता देशसम्म म्यानपावर कम्पनी, कन्सल्टेन्सी र म्यानपावरका एजेन्टले सामाजिक सञ्जालमा विज्ञापन गरी ठगी गर्न थालेपछि यो प्रक्रियाबाट वैदेशिक रोजगारीमा कामदार पठाउन रोक लगाएको वैदेशिक रोजगार विभागले जनाएको छ ।

गत वर्षदेखि दक्षिण कोरियाका विभिन्न सहरहरूसँग भगिनी सम्बन्ध कायम गर्दै केही स्थानीय तहले मौसमी कामदारको रूपमा नेपाली युवायुवतीलाई पठाउन तेस्रो पक्ष खडा गरेर रकम उठाउने गरेको उजुरी श्रम मन्त्रालयमा परेको थियो । केही स्थानीय तहले हाल पनि मौसमी कामदारका रूपमा पठाउने भन्दै मोटो रकम लिएर इजाजतबिनाका तालिम सञ्चालन गरिरहेको सार्वजनिक भएपछि यस्तो निर्णय गर्नुपरेको श्रम मन्त्रालयले जनाएको छ ।

विभागसँग इजाजत लिएका म्यानपावर कम्पनीहरूले मात्र वैदेशिक रोजगारीमा कामदार पठाउन पाउने कानुनी व्यवस्था छ । तर, पछिल्लो समयमा मौसमी रोजगारीमा एजुकेसन कन्सल्ट्यान्सी तथा ट्राभल एजेन्सीहरूले समेत गैरकानुनी रूपमा कामदार पठाउन थालेको उजुरी परेको वैदेशिक रोजगार विभागका महानिर्देशक मदन दाहालले जानकारी दिनुभयो । वैदेशिक रोजगारीको प्रलोभन देखाउने र ठगी गर्ने गरेकोे भन्दै समस्या लिएर धेरै पीडित विभागमा धाउन थालेको उहाँले जानकारी दिनुभयो । मौसमी रोजगारीका नाममा विभिन्न संस्थाहरूले ठगी गरिरहेका छन् । यो विषयमा उजुरी र ठगी बढेपछि रोक्नुपरेको उहाँको भनाइ छ ।

पछिल्लो समय विदेश अध्ययनका लागि विद्यार्थी पठाउन शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयबाट स्वीकृति लिएर खोलिएका शैक्षिक परामर्श संस्थाले वैदेशिक रोजगारीमा कामदार पठाउने भनेर चरम ठगी गरिरहेको उजुरी आउने गरेको विभागले जनाएको छ । शैक्षिक परामर्श संस्थाले रोजगारीका नाममा करोडौँ रकम असुल्ने गरेको पाइएपछि यसलाई रोक्न श्रम मन्त्रालयले मिसन नै चलाएको थियो । तर, कानुनी समस्याका कारण सफल हुन सकेन । विभागले गत आर्थिक वर्षमा इन्टरनेसनल एक्स्पो एण्ड ट्राभल सर्भिस प्रालि र जिनियस एजुकेसन एण्ड कन्सल्टेन्सी सर्भिस प्रालिले १४४ जनाबाट साढे चार करोड ठगी गरेको भन्दै वैदेशिक रोजगार न्यायाधिकरणमा मुद्दा दायर गरेको छ । शैक्षिक परामर्श संस्था, ट्राभल एजेन्सी र व्यक्तिगतसहित पछिल्लो महिनामा मात्र चार करोड ९३ लाखको दाबी र सोको हर्जनासहित सात करोड रुपैयाँ बराबरको मुद्दा दायर गरिएको विभागले जनाएको छ ।

गत आर्थिक वर्षमा मौसमी रोजगारीमा मात्र ठगीमा परेको तीन सयभन्दा धेरै उजुरी परेको विभागले जनाएको छ । मौसमी रोजगारीमा ५० करोडमाथि ठगीको उजुरी परेको विभागको भनाइ छ । कतिपय शैक्षिक परामर्श संस्थाले वैदेशिक रोजगारीमा पठाइदिने भन्दै लाखौँ रुपैयाँ ठगी गरेर सञ्चालक नै फरार हुने गरेको उजुरी लिएर दिनहुँ पीडित धाउने गरेको विभागले बताउँदै आएको छ । कन्सल्टेन्सी सञ्चालक अधिकारीले पूर्वका सयौँ युवालाई युके र युरोप रोजगारीमा पठाइदिने भन्दै ठूलो आर्थिक ठगी गरे पनि दोषीमाथि श्रम मन्त्रालयले कारबाही गर्न नसकेको बताउनुभयो । मौसमी रोजगारीका नाममा ठगिएको उजुरी बोकेर धरान, इटहरीदेखि काठमाडौंसम्म धाउँदा पनि न्याय पाउन नसकेको पीडितले सामाजिक सञ्जालमा गुनासो पोख्दै आएका छन् ।

ठगी गर्नेमाथि कारबाही
श्रम मन्त्रालयले मौसमी कामदारको रूपमा वैदेशिक रोजगारीमा श्रमिक पठाउन कसैलाई श्रम स्वीकृति जारी नगरिएको स्पष्ट गरेको छ । पछिल्लो समय विभिन्न सामाजिक सञ्जालको प्रयोग गरी मौसमी कामदारको रूपमा विभिन्न देशमा आकर्षक तलबसहितको रोजगारीमा पठाउने प्रलोभन दिई ठूलो परिमाणमा रकम ठगी भएको सार्वजनिक भइरहेका बेला मन्त्रालयले आइतबार विज्ञप्ति जारी गर्दै मौसमी कामदारको हैसियतमा कसैलाई श्रम स्वीकृति नदिइएको स्पष्ट पारेको हो । मन्त्रालयले श्रम स्वीकृति नदिइएको अवस्थामा मौसमी कामदारको रूपमा पठाउने भन्दै रकम मागेमा खबर गर्नसमेत आग्रह गरेको छ । मन्त्रालयले वैदेशिक रोजगार विभागबाट श्रम स्वीकृति प्रदान गरिएको बाहेक अन्य कुनै कागजातमा वैदेशिक रोजगारीमा नजान पनि आग्रह गरेको छ ।

मन्त्रालयले केही समययता नेपाली युवायुवतीलाई वैदेशिक रोजगारीका नाममा थाइल्याण्डबाट ट्राभल एडभाइजरी डकुमेन्टमार्फत म्यानमार पुर्‍याएर अलपत्र पार्ने र यातना दिने क्रमसमेत बढेको बताएको छ । वैदेशिक रोजगारीको नाममा झुटो प्रलोभन देखाएमा वैदेशिक रोजगार विभाग, जिल्ला प्रशासन कार्यालय तथा आफ्नो पालिकामा रहेको रोजगार सेवा केन्द्रमा खबर गर्नसमेत मन्त्रालयको आग्रह छ । यसरी ठगीमा संलग्न जो कोहीमाथि कारबाही हुनेसमेत श्रम मन्त्रालयले जनाएको छ । श्रम मन्त्रालयले सञ्चालनमा ल्याएको कल सेन्टरमा मौसमी रोजगारीको प्रलोभनमा ठगिएका पीडितले फोन गरी उजुरी टिपाउने गरेको मन्त्रालयले जनाएको छ ।

कल सेन्टरमा मौसमी रोजगारीका नाममा ठगिएको भन्दै ९० वटाभन्दा धेरै उजुरी दर्ता भएको मन्त्रालयले जनाएको छ । मन्त्रालयले मौसमी रोजगारीमा कामदार पठाउने भन्दै कानुनविपरीत ठगी गर्ने सबैलाई कारबाही हुने जानकारी दिएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
0 Like Like
0 Love Love
0 Happy Happy
0 Surprised Surprised
0 Sad Sad
0 Excited Excited
0 Angry Angry

Leave a Reply

Your email address will not be published. Required fields are marked *

रिलेटेड न्युज

छुटाउनुभयो कि ?