गलेश्वरमा छ लाख बढी भेटी संकलन

ध्रुवसागर शर्मा म्याग्दी, संवाददाता
Read Time = 4 mins

म्याग्दी । पश्चिम नेपालको पशुपतिनाथका नामले चर्चित म्याग्दीको प्रशिद्ध धार्मिकस्थल गलेश्वर शिवालयमा साउनको तेस्रो सोमबारसम्म भक्तजनहरुको चढाएको रु छ लाख बढी भेटी संकलन भएको छ ।

जिल्लाको बेनी नगरपालिका–९मा अवस्थित गलेश्वर शिवालय मन्दिरमा साउन महिनाको तेस्रो सोमबारसम्म रु छ लाख, तीन हजार, सातसय ४२ भेटी संकलन भएको हो ।

मंगलबार (आज) सरोकारावाला निकायको उपस्थितिको गलेश्वर मन्दिर परिसरमा भेटी गनेर सार्वजनिक गरिएको हो । साउन महिनाको तेस्रो सोमबार साँझसम्म मन्दिरमा दर्शन गर्न र पुजाआजाका लागि आएका भक्तजनले चढाएको रु छ लाख, तीन हजार सात सय ४२ संकलन भएको गलेश्वर शिवालय क्षेत्र विकास कोषका अध्यक्ष माधवप्रसाद रेग्मीले जानकारी दिनुभयो ।

उहाँका अनुसार साउन १ गते परेको पहिलो सोमवार रु तीन लाख,६५ हजार छ सय,४५, ८ गतेको दोस्रो सोमबार रु ९६ हजार एक सय ४१ र १५ गते तेस्रो सोमबार रु एक लाख, ४१ हजार नौ सय ५६ गरी रु छ लाख, तीन हजार,सात सय ४२ संकलन भएको हो ।

मन्दिरमा संकलन भएको भेटी मुचुल्का गरेर प्रहरीकै सुरक्षामा भेटी र कोषमा राखिएको चावी प्रहरी चौकीबाट मन्दिर परिसरमा ल्याएर कोषका पदाधिकारी, कर्मचारी गलेश्वर आमा समुह, प्रहरी र स्थानीयबासीको उपस्थितीमा फिजारिएर करिव साढे घण्टासम्म गनेर सार्वजनिक गरिएको कोषकी कोषाध्यक्ष कुमारी रोकाले बताउनुभयो ।

ठूला पर्वमा भोलीपल्टै र नियमित महिनाको २ पटक गन्ने गरिन्छ । दान संकलन गर्ने क्रममा छिटफुट भेटी भेटिएमा हरेक महिनाको १५ दिनमा सार्वजनिक गरिन्छ । साउन महिनामा ५ सोमबार परेको छ ।

भक्तजनको सहजताका लागि प्रवेशद्धारदेखि मन्दिरका विभिन्न स्थानमा स्वयमसेवक तथा सिसीक्यामेराले समेत निगरानी गरिएको छ । गलेश्वरधाममा भगवान् शिव महादेवको स्वयं उत्पत्ति ज्योर्तिलिङ्गको पुजाअर्चना गर्न म्याग्दीसहित पर्वत, बागलुङ, कास्की, तनहुँ, चितवनलगायत जिल्लाहरुबाट ठूलो संख्यामा श्रद्धालु भक्तजनहरु आएका थिए । मुक्तिनाथ मन्दिरको प्रवेशद्वारको रुपमा रहेको म्याग्दीको गलेश्वर शिवालयमा कालिगण्डकी नदीबाट जल स्नान गर्ने ब्यवस्था मिलाइएको छ ।

गलेश्वरको दर्शन गर्न आउने भक्तजनलाई लक्षित गरेर कालीगण्डकी नदीको गंगाजलले नुहाउने व्यवस्था मिलाइएको हुँदा भक्तजनको संख्यामा वृद्धि भएको अनुमान गरिएको छ ।

कृष्णागण्डकीवाट उठेर ९ रोपनी चट्टानमा फैलिएको एउटै प्रसिद्ध गोलाकार चक्रशिलाको उत्तरपूर्वी कोणमा अवस्थित मन्दिर भित्र स्वयम् उत्पत्ति ज्योतिर्लिङ्गेश्वर महादेव विराजमान भएको क्षेत्रमा प्रवेश गरेमात्रै पनि मनोकामना पुरा हुने जनविश्वासले मुक्तिनाथ मन्दिरमा जाने भक्तजनले समेत दर्शन गर्ने गरेका छन् ।

ज्योतिर्लिङ्ग, शालिग्राम, जलकूण्ड, शंखचक्रहरु, नागमणी आदि चक्राकार रूपी चिन्ह मानवनिर्मित नभई स्वंयम उत्पन्न भएको धार्मिक ग्रन्थहरुमा उल्लेख गरिएको छ ।

Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments

रिलेटेड न्युज

छुटाउनुभयो कि ?