सुन तस्करी प्रकरणमा सरकारकै संलग्नता रहेकाले उच्चस्तरीय छानबिन समितिको माग गरिएको हो : अध्यक्ष ओली

'देउवाजी तपाईँले क्विन्टल क्विन्टल सुन तस्करी भएको सुन्नु भएको छ कि छैन ?'

हिमालय टाइम्स
Read Time = 3 mins

काठमाडौँ । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले सरकार आफै दैनिक क्विन्टलका दरले सुन तस्करीमा लागेको आरोप लगाउनु भएको छ ।

तुल्सीलाल अमात्य स्मृति दिवसका अवसरमा बुधबार आयोजित कार्यक्रममा बोल्दै अध्यक्ष ओलीले सुन तस्करी प्रकरणमा गृहमन्त्रीको मात्रै कुरा सुनेर आफूहरू नबस्ने बताउनुभयो।

‘हामीले गृहमन्त्रीले बोलिदिनुस् सदन खोलिदिन्छौ भनेको होइन। सांसदहरुले बोल्न पाउनुपर्छ भनेका हौं। तर सरकारले सांसदले बोल्छन् भनेर सभामुखलाई दबाब दिएर सूचना टाँसेर संसद रोकेको हो।’ ओलीले भन्नुभयो , ‘सरकारले बालुवाटारको सहमति संसदमा पुग्दा केपी ओलीले छाड्यो भनेर कु–प्रचार गर्‍यो।’

सुन तस्करी प्रकरणमा सरकार आफैं संलग्न रहेकाले आफूहरूले उच्चस्तरीय छानबिन समिति बनाउन माग गरेको ओलीले बताउनुभयो।

उहाँले सुन तस्करीबारे संसद्मा गृहमन्त्रीको जवाफ सुनौँ भन्दा समेत नमानेको बताउनु भयो । उहाँले त्यत्रो सुन ल्याउँदा सबैले देख्ने तर सरकारले नदेख्ने गरेको बताउनु भयो । अध्यक्ष ओलीले यत्रो तस्करी हुँदा कांग्रेस पार्टी चुइँक्क बोल्न नसकेको बताउँदै कांग्रेस सभापति शेरबहादुर देउवालाई प्रश्न समेत गर्नुभयो । ‘म नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाजीलाई भन्न चाहन्छु । देउवाजी तपाईँले क्विन्टल क्विन्टल सुन तस्करी भएको सुन्नु भएको छ कि छैन ? के छ तपाईंको विचार ?’ उहाँले भन्नुभयो ।

अध्यक्ष ओलीले एमालेले बाहेक अरूले देश चलाउनै नसक्ने दाबी समेत गर्नुभयो । ‘सकेन नि । दश टाउके भएर पनि चलाएनन् । हामी हुँदा त्यत्रो कोभिड हुदा पनि देश तहसनहस हुन दिएका थिएनौ । हामी हुँदा ३,४ लाख विदेश गएका थिए अहिले ११ लाख गएका छन्’, ओलीले भने, ‘त्यति धेरै मान्छे विदेश गए पनि १० खर्व रेमिट्यान्स पनि आउँदैन ।’

अध्यक्ष ओलीले राष्ट्रिय हितका लागि काम गर्न एमालेले मिसन २०८४ अभियान चलाएको पनि बताउनुभयो । उहाँले भन्नुभयो, ‘देशलाई माया गर्ने र परिवर्तनकारी शक्तिहरु सानातिना कुरा छोडेर आउनुस् परिवर्तनका लागि एकजुट भएर अघि बढ्नुपर्छ । राष्ट्रिय शक्ति बन्नुपर्छ । एमाले राष्ट्रिय शक्तिको अगुवामा मात्र हुन सक्छ ।’

Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments

रिलेटेड न्युज

छुटाउनुभयो कि ?