जन्मदिनमा सन्दीपको सानदार प्रदर्शन

हिमालय टाइम्स
Read Time = 3 mins

काठमाडौं । जन्मदिनका दिन नेपाली क्रिकेट टोलीका लेग स्पिनर सन्दीप लामिछानेले सानदार प्रदर्शन गर्नुभएपछि उहाँको क्यानेडेली टोली सर्रे जागुअर्सले ग्लोबल टी-२० क्यानडामा मिसिसौगा प्यान्थर्सलाई आठ विकेटले हराउँदै क्वालिफायरमा पुगेको छ । बुधबार सन्दीपको २३औँ जन्मदिन थियो । उहाँको जन्मदिनका दिन परेको खेलमा सन्दीपले चार ओभरमा जम्मा ६ रनमात्रै दिएर तीन विकेट लिनुभयो । उहाँको सानदार प्रदर्शन मद्दतमा सर्रेले जितसहित शीर्षस्थानमा रहँदै क्वालिफायरमा स्थान पक्का गरेको हो ।

जितका लागि ५७ रनको झिनो विजयी लक्ष्य पछ्याएको सर्रेले नौ ओभरमा दुई विकेट गुमाउँदै पूरा गर्‍यो । सर्रेको जितमा मोहम्मद हरिसले २३ बलमा ६ चौका र एक छक्कासहित ३७ रन जोड्नुभयो । प्यान्थर्सका लागि सेसिल परवेज र उस्मान कादिरले समान एक–एक विकेट लिनुभयो ।

त्यसअघि टस हारेर पहिला ब्याटिङको निम्तो पाएको पान्थर्स १४.३ ओभरमा ५६ रनमा अल आउट भएको थियो । फोर्डका श्रेयस मोभाले १७ तथा निखिल दत्तले १० रन बनाउनुभयो ।

सन्दीपले आठौँ ओभरको पाँचौँ बलमा आजम खानलाई दुई र टम कुपरलाई शून्यमा आउट गर्नुभयो । सन्दीपसँगै म्याथ्यु फोर्डले दुई ओभरमा आठ रन खर्चेर दुई विकेट तथा आमर खालिद र आयन खानले एक-एक विकेट लिनुभयो ।

खेलको प्लेयर अफ द म्याचको अवार्ड सन्दीपले जित्नुभयो । जारी सिजनमा सन्दीपले चौथोपटक अवार्ड जित्नुभयो । सन्दीपले प्लेयर अफ द म्याच अवार्डबापत एक हजार डलर (एक लाख ३२ हजार नेपाली रुपैयाँ) पाउनेछन् ।

सन्दीपले यसअघि तीन खेलमा ५०० डलर (६६ हजार नेपाली रुपैयाँ) पुरस्कार राशि भएको मोमेन्ट अफ द म्याच अवार्ड जित्नुभएको छ । सन्दीपले मिसिसौगा प्यान्थर्स, मोन्टरिएल टाइगर्स र टोरोन्टो नेशनलविरुद्ध मोमेन्ट अफ द म्याच अवार्ड जित्नुभएको थियो ।

सर्रे सात खेलमा चारमा जित, एकमा हार र दुई खेलमा अंक बाँड्दै १० अंकका साथ शीर्षस्थानमा रहेको थियो । अब सर्रेले पहिलो क्वालिफायर शुक्रबार साँझ दोस्रो स्थानमा रहने टोलीसँग खेल्नेछ । दीपेन्द्रसिंह ऐरी सम्मिलित मोन्टरिएल टाइगर्स सात खेलमा चारमा जित र दुईमा हारसहित नौ अंकका साथ दोस्रो स्थानमा छ ।

Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments

रिलेटेड न्युज

छुटाउनुभयो कि ?