एएफसी कप छनोटका लागि मच्छिन्द्रको तयारी तीव्र

हिमालय टाइम्स
Read Time = 3 mins

काठमाडौं । मच्छिन्द्र फुटबल क्लबले एएफसी कपको प्रारम्भिक छनोटका लागि आन्तरिक तयारी तीव्र पारेको छ । बुधबार क्लबले प्रतियोगिताको मेडिकल पार्टनरका लागि एभरेस्ट हस्पिटलसँग सम्झौता गरेको छ । क्लब प्रतिनिधि शिरिष श्रेष्ठ र एभरेस्ट हस्पिटलका रिहृयाबिलिटेसन इन्चार्ज सुरज भुषालले सम्झौता गर्नुभयो ।

यसअघि नै क्लबले खेलको टिकटका लागि नै माउण्ट एभरेस्ट स्पोर्ट्स एण्ड इभेन्ट्स प्रालिसँग सम्झौता गरिसकेको छ । खेलका लागि टिकट मूल्य साधारणतर्फ २०० रुपैयाँ र भिआइपीतर्फ ५०० रुपैयाँ रहेको छ । खेलको टिकट इसेवामार्फत् खरिद गर्न सकिने बताइएको छ ।

मच्छिन्द्रले एएफसी कप छनोटको प्लेअफ चरणमा पहिलो खेलमा पारो एफसीको सामना गर्दैछ । ८ अगस्टमा हुने उक्त खेल जिते मच्छिन्द्रले १६ अगस्टमा मोहन बगान सुपर जायन्टको सामना गर्नेछ । उक्त खेल जिते २२ अगस्टमा हुने प्लेअफको फाइनलमा क्लब इगल्स र ढाका अबहानीको विजेतासँग मच्छिन्द्रले खेल्नेछ ।

एएफसी कपका लागि मच्छिन्द्रले यसअघि नै राष्ट्रिय टोलीका पाँच युवा खेलाडीसहित आठ खेलाडीलाई अनुबन्धन गरिसकेको छ । मच्छिन्द्रले लिग च्याम्पियन चर्च ब्वाइजका विंगर आशिष चौधरी र मिडफिल्डर एरिक विष्टलाई अनुबन्धन गरेको छ ।

यसबाहेक राष्ट्रिय टोलीका मिडफिल्डर लाकेन लिम्बू, विंगर आयुष घलान र डिफेन्डर सनिश श्रेष्ठ पनि मच्छिन्द्रमा आबद्ध हुनुहुन्छ । विदेशी खेलाडीहरू मेसुके ओलोमोउसँगै रेजिन सुब्बा र रोहित सुब्बाबाहेक आफ्नो टोलीका १५ खेलाडीलाई मच्छिन्द्रले निरन्तरता दिएको छ ।

जसमा कप्तान विशाल श्रेष्ठसँगै फरवार्ड विमल घर्ती मगर, अफिज ओलावाले, सौरभ लिम्बू, अभिषेक गुरुङ र विजय भुजेल, मिडफिल्डर आन्द्रेस निया, दिपेश घले र उत्सव राई, डिफेन्समा ओमोलाजा करीम, देवेन्द्र तामाङ, दिवाकर चौधरी, छिरिङ गुरुङ र सुरज विक रहनुभएको छ ।

Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments

रिलेटेड न्युज

छुटाउनुभयो कि ?