सरकारले भ्रष्टाचारका अरु प्रकरणहरुको पनि छानबिन गर्छ : मन्त्री मोदी

फाइल तस्बिर

हिमालय टाइम्स
Read Time = 5 mins

काठमाडौं । सङ्घीय मामिला तथा सामान्य प्रशासनमन्त्री अमनलाल मोदीले सरकारले भ्रष्टाचारका अरु प्रकरणहरुमा पनि छानबिन गर्ने बताउनुभएको छ ।

शुक्रवार राज्य व्यवस्था तथा सुशासन समितिको बैठकमा बोल्दै मन्त्री मोदीले सरकारले भ्रष्टाचारका अन्य प्रकरणहरुमा पनि छानबिन गर्ने बताउनुभएको हो । उहाँले देशमा सुशासन कायम गर्न सरकार प्रतिवद्ध रहेको बताउनु भयो । उहाँले नक्कली भूटानी शरणार्थी प्रकरण, ललिता निवास जग्गा प्रकरण र सुन तस्करी प्रकरणको निष्पक्ष तरिकाले छानबिन गरिरहेको बताउनु भयो । उहाँले सरकारले आफ्ना नजिककालाई बचाउने र अर्काका मान्छेलाई कारबाही गर्ने नीति नलिएको स्पष्ट पार्नुभयो । सरकारले निर्दोष नपर्ने र दोषि नउम्किने गरी काम गरिरहेको स्पष्ट पार्नुभयो ।

उहाँले भन्नुभयो – ‘सुशासन कायम गर्न सरकार लागिरहेको छ । सरकार प्रतिवद्ध छौँ । हामीले भ्रष्टाचारका अरु पनि धेरै विषयवस्तुमा सरकारले छानबिन गर्छ नै । यस कुरामा दुईमत छैन । सरकार लागिराखेको छ । हाम्रो लक्ष्य अरु पनि छन् । मजदुर किसानको बारेमा बोल्न लागिरहेको छौँ । देशको अर्थतन्त्र सुधार गरेर विकास र समृद्धिको कुरामा लागिरहेका छौँ । विभिन्न प्रकारका असमानतालाई अन्त्य गर्न लागिरहेका छौँ । ति कुराहरुमा हामी लागिराखेका छौँ । हामी कसैको पक्षमा छैनौँ । आफ्ना नजिकका मान्छेलाई बचाऔँ । या अर्काकालाई कारबाही गर्ने, हामी निष्पक्ष तरिकाले सरकारले सही ढंगले कोही दोषिपनि नउम्कियोस् । निर्दोष पनि नपरोस् । भन्ने सिद्धान्तले काम गरिराखेका छौँ । हामी सरकारका सहयात्री दलहरुसँग मात्र होइन, प्रतिपक्ष दलका साथीहरुसँग पनि सहयात्राका कुरा, छलफलका कुरा गरिरहेका छौँ ।’

मन्त्री मोदीले स्थानीय तहहरु निमित्तको भरमा चलाउने कुराको अन्त्य गर्न लागेको बताउनु भयो । उहाँले मधेस प्रदेशमा अब कतैपनि निमित्तको भरमा स्थानीय तह नचलेको बताउनुभयो । हाल देशभरमा करिव ९० स्थानमा निमित्तको भरमा चलिरहेको भन्दै त्यसको पनि क्रमशः अन्त्य गर्दै जाने बताउनु भयो । उहाँले कर्मचारीहरुको सरुवा मेरिटको आधारमा गर्ने पनि बताउनु भयो ।

उहाँले भन्नुभयो – ‘सबैभन्दा बढी मधेश प्रदेशमा निमित्त थियो । समस्या थियो । हिजोदेखि जिरोमा झारिदियौँ । अब मधेसमा निमित्त छैन । अब ८८/९० यस्तै निमित्त छ । हामी सरुवा प्रणालीपनि मेरिटको हिसावमा पठाउँछौ अब बढुवा भएका साथीहरुलाई मेरिटका हिसावमा । मेरिट दिन्छौँ क, ख, ग, घ । जहाँ छ एक नम्बर पाउने कुन रोज्छौँ ? दुई कुन ? अब आउने मेरिटको हिसाबमा गर्दैछौँ । हामी कसैको सोर्स कुरा सुन्दैनौँ । मेरिटको हिसावमा लागू गर्न खोज्दैछौँ । माननीय ज्यूहरु पनि आफूलाई अनुकुल पर्ने, तलका जनप्रतिनिधि साथीहरु राजनीतिक रुपमा बढी मात्रामा कर्मचारी व्यवस्थापनमा टर्चर, हामीले भनेकै मान्छे हुनुपर्दा सुशासन कायम गर्न सकिँदैन । यो कुरालाई मध्यनजर गरेर सबै माननीयज्युहरुले सहयोग गर्नुप¥यो । आज सिंहदरबार अखडा बनाएका कयौँ कर्मचारी साथीहरु जो बस्नुभयो उहाँहरुलाई हटाइरहेका छौँ । हामी अन्याय गर्न चाहदैनौँ । पछि फेरिपनि तान्छौँ ।’

मन्त्री मोदीले आफू अनुकुलका कर्मचारीहरुलाई सरुवा गर्नका लागि राजनीतिक तहबाट र स्थानीय जनप्रतिनिधिहरुबाट पनि दबाब आउने गरेको भन्दै त्यसो नगर्न आग्रह गर्नुभयो । आफू अनुकुलका कर्मचारीलाई सरुवा गर्दा देशमा सुशासन कायम हुन नसक्ने उहाँको भनाई छ ।

 

Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments

रिलेटेड न्युज

छुटाउनुभयो कि ?