माओवादी केन्द्रीय समिति बैठक : नेतृत्वप्रति आक्रोश, सरकारको प्रशंसा

अनिल क्षेत्री
Read Time = 15 mins

काठमाडौं । सत्तारूढ दल नेकपा माओवादी केन्द्रको जारी केन्द्रीय कमिटी बैठकमा नेतृत्वको आलोचना भइरहेको छ । बैठकमा पार्टी संगठनलाई प्रभावकारी ढंगले चलायमान बनाउन ‘जनतासँग पार्टी’ अभियान चलाउनेदेखि विधान सम्मेलन, विशेष महाधिवेशन लगायतका एजेण्डा प्रस्तुत भए पनि बैठक नेतृत्वको कार्यशैलीको आलोचनामा केन्द्रित देखिएको छ । बैठकको तेस्रो दिन शुक्रबार पनि नेतृत्वको कार्यशैली प्रश्न उठाउने क्रम जारी रह्यो । केन्द्रीय सदस्यहरूले पार्टीलाई विधि र विधानअनुसार नचलाएको भन्दै अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’को मात्रै नभएर सिंगो पार्टी पदाधिकारीकै कार्यशैलीप्रति प्रश्न उठाएका हुन् ।

शुक्रबारको बैठकमा बोल्ने केन्द्रीय सदस्यहरूले नेतृत्वकै कारण पार्टी विघटन हुने अवस्थामा पुगेको आरोप लगाएका हुन् । उनीहरूले पार्टी बिग्रनुमा नेतृत्वदेखि कार्यकर्तासम्म जिम्मेवार रहेको भन्दै रूपान्तरणका लागि सबैले आ-आफ्नो जिम्मेवारीअनुसार भूमिका खेल्न आवश्यक रहेकोमा जोड दिएका छन् । बैठकमा बोल्दै केन्द्रीय सदस्य सुबोधराज श्रीपालीले लठ्ठी टेकेर हिँड्नेलाई महत्वपूर्ण जिम्मेवारी दिँदा माओवादी यथास्थितिबाट माथि उठ्न नसक्ने धारणा राख्नुभयो । अध्यक्ष प्रचण्डको नाम लिँदै श्रीपालीले कतिपयले पार्टीमा गुट चलाउने प्रवृत्ति हाबी रहेको र यस्तो प्रवृत्ति पार्टीका लागि घातक हुने स्पष्ट पार्दै भन्नुभयो, ‘लठ्ठी टेकेर हिँड्नेलाई इञ्चार्ज दिनुहुँदैन । नेतृत्वको नाम लिएर गुट चलाउने काम अबदेखि बन्द होस् ।’ अर्का केन्द्रीय सदस्य वीरबहादुर कुँवरले पार्टीभित्र संगठनात्मक समस्या रहेको बताउँदै माओवादी माओवादीजस्तो हुन नसकेको गुनासो गर्नुभयो । अर्का केन्द्रीय सदस्य गोविन्द तिम्सिनाले पार्टीमा ‘कुमार’ र ‘गणेश’ प्रवृत्ति हाबी भएको टिप्पणी गर्दै भन्नुभयो, ‘पार्टीमा गणेश र कुमार प्रवृत्ति छ । हामीले सबै सुन्न जरुरी छ ।’ केन्द्रीय सदस्य कुमार पौडेलले पार्टीमा छलफल र भेला धेरै हुने गरे पनि ती छलफल र भेलाका निर्णय कार्यान्वयनमा जान नसकेको गुनासो गर्दै भन्नुभयो, ‘माथिबाटै रूपान्तरण हुन जरुरी छ । गुट उपगुट अन्त्य गर्नुपर्छ । हाम्रो वर्ग पहिचान छैन, सामाजिक सञ्जालमा पार्टी र नेतृत्वविरुद्ध लेख्नेलाई कारबाही गर्नुपर्छ ।’ अर्का नेता गणेशमान पुनले अध्यक्षको प्रतिवेदन सही भएको र यसले पार्टीमा अन्योलता हटेको दाबी गर्दै भन्नुभयो, ‘अध्यक्षको प्रतिवेदन सही छ । यो कार्यान्वयनमा गए पार्टीभित्रको अन्यौलता हट्दै उत्साह पैदा गर्छ । २०४६ पछि सत्तामा पुग्ने सबै पार्टी नेताहरूको सम्पत्ति छानबिन गर्नुपर्छ ।’ अर्का केन्द्रीय सदस्य खेलप्रसाद बुढा क्षत्रीले संगठनात्मक हिसाबमा पार्टी कमजोर रहेकोप्रति चिन्ता व्यक्त गर्दै भन्नुभयो, ‘हामी निजी स्वार्थमा केन्द्रित भयौँ, तर नेपाली जनता बिरामी छन् ।’ केन्द्रीय सदस्य आइपी खरेलले पार्टी अध्यक्ष प्रचण्डले बोलेको हर कुरा पूरा गर्नुपर्नेमा जोड दिँदै भन्नुभयो, ‘सधैँ रूपान्तरण मात्रै भन्ने ? नीतिगत मापदण्ड खै ? आफूले बोलेको कुरा अध्यक्ष प्रचण्डले पूरा गर्नैपर्छ ।’

शुक्रबारको बैठकमा नेतृत्वको आलोचना गरेको सदस्यहरूले पनि सरकारका काम कारबाहीको भने खुलेरै प्रशंसा गरेका छन् । बैठकमा बोल्ने अधिकांश सदस्यहरूले नक्कली भुटानी शरणार्थी प्रकरण, ललितानिवास प्रकरण, सुन तस्करी प्रकरणमा संलग्नलाई कारबाही गर्ने सरकारको कदमको प्रशंसा गरेका हुन् । केन्द्रीय सदस्य रामकुमार शर्माले अध्यक्ष प्रचण्ड नेतृत्वको सरकारले भ्रष्टाचारविरुद्ध र सुशासनका पक्षमा राम्रो काम गरेर धमाका मच्चाइरहेको जिकिर गर्नुभयो । पार्टी उपाध्यक्ष अग्निप्रसाद सापकोटाले अध्यक्ष प्रचण्डको प्रशंसा गर्नुभयो । विचार, दृष्टिकोण र योजना मुख्य हुनुपर्ने जिकिर गर्दै उपाध्यक्ष सापकोटाले भन्नुभयो, ‘पार्टीमा जायज प्रश्न उठाउन पाउनुपर्छ ।

कानुनभन्दा माथि कोही छैन । प्रचण्डमा असाधारण क्षमता रहेको छ । उहाँले जस्तोसुकै कठिन अवस्थामा पनि पार्टीलाई जोगाउने ल्याकत राख्नुहुन्छ । अहिलेको कठिन परिस्थितिमा पनि पार्टी जोगाउने प्रचण्ड मात्र हो ।’ पार्टी सचिव डिलाराज आचार्यले पार्टी समाजनुकूल चल्न सक्नुपर्ने धारणा राख्दै भन्नुभयो, ‘पार्टीमा रूपान्तरणको मुद्दा उठिरहन्छ । विगतमा ठूला परिवर्तन भए तर जनताको जीवन बदल्न सकिएन ।’ केन्द्रीय सदस्य लक्ष्मीप्रसाद चौलागाईंले नेतृत्वको ठिक्क मात्र आलोचना गर्नुपर्ने धारणा राख्दै भन्नुभयो, ‘सरकारले गरेका राम्रा कामको पार्टी नेता कार्यकर्ताले प्रचार गर्नुपर्छ, कमरेडहरू नेतृत्वको आलोचना पनि ठिक्क मात्र गर्नुपर्छ ।’ बैठकको दोस्रो दिन धारणा राख्नुभएका प्रचण्डका कट्टर आलोचक लेखनाथ न्यौपानेले पनि वर्तमान सरकारले गरेका कामले सामान्य आशा जनाएको दाबी गर्दै भन्नुभएको थियो, ‘सरकारले गरेको कामले सामान्य आशा जगाएको छ तर हाम्रै बल, पहल वा इच्छामा यो काम गरिरहेका छौँ ? अनुसन्धान कसले, कुन विचार, समूहले वा कसको लगानीमा उत्पादित जनशक्तिले गरिरहेका छन् ? डरलाग्दो चित्रको प्रतिकूल एक रौँ मात्र अगाडि बढ्यौँ भने तुरुन्त गिरफ्तारी वा कसले मार्‍यो भन्ने पत्तै नपाई मारिने ठाउँमा छौँ ।’ केन्द्रीय सदस्य सुरेश आलेमगर नेपालको राजनीति अझै पनि अध्यक्ष प्रचण्डकै वरिपरि घुमिरहेको भन्दै प्रशंसा गर्नुभयो ।

मातृका र गिरिराजको टसलले मधेश ध्वस्त भएको गुनासो
केन्द्रीय कमिटी बैठकमा केन्द्रीय सदस्य रामकुमार शर्माले नेताहरू मातृका यादव र गिरिराजमणि पोखरेल आपसमा भिड्दा मधेशमा माओवादी पार्टी ध्वस्त भएको टिप्पणी गर्नुभएको छ । यादव र पोखरेल दुवै माओवादी केन्द्रका उपमहासचिव हुन् । शर्माले मधेशमा पार्टी बिग्रनुको मुख्य जिम्मेवार यादव र पोखरेल नै रहेको ठोकुवा गर्दै भन्नुभयो, ‘मधेशमा दुई हस्ती छन् । गिरिराजमणि पोखरेल र मातृका यादव । उहाँहरू कहिल्यै मिल्नुभएन । यी दुई नेता भिड्दा पार्टी मधेशमा उठ्नै सकेन । मधेश बिगार्ने गिरिराज १० वर्ष मन्त्री बनेको तर पार्टी संगठन सुदृढ गर्न कुनै भूमिका निभाउनुभएन ।’

सुन प्रकरणमा महरामाथि छानविनको माग
केन्द्रीय कमिटी बैठकमा केन्द्रीय सदस्य लेखनाथ दाहालले सुन तस्करी प्रकरणमा मुछिएका नेताहरूले आफू दोषी छैन भनेर पन्छिन नमिल्ने बताउनुभएको छ । शुक्रबारको बैठकमा आफ्नो धारणा राख्ने क्रममा दाहालले सुन तस्करी प्रकरणमा पार्टी उपाध्यक्ष कृष्णबहादुर महरा जोडिएको प्रसंग निकाल्दै भन्नुभयो, ‘कृष्णबहादुर महरा मुछिनुभएको छ । तर, उहाँले दोषी छैन भनेर पन्छिन मिल्दैन । बरु छानविनका लागि आफैँले सिआइबीमा निवेदन दिनुपर्छ । भ्रष्टाचार र तस्करीको कलंकको भार पार्टीले बोक्न सक्दैन ।’ नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरो सिआइबीले केही समयअघि भेपमा ल्याइएको नौ किलो सुनको अनुसन्धान गर्दा माओवादी उपाध्यक्ष कृष्णबहादुर महराका बाबुछोराको संलग्नता देखिएको सार्वजनिक भइरहेको छ । तर, महराले आफ्नो संलग्नता नभएको पटक-पटक प्रष्टीकरण दिइसकेका छन् ।

थपिए २२ महिला केन्द्रीय सदस्य
नेकपा माओवादी केन्द्रले केन्द्रीय कमिटीमा २२ जना महिला थप गरेको छ । योसँगै माओवादी केन्द्रीय कमिटी ४०७ सदस्यीय बनेको छ । केन्द्रीय समितिमा ३३ प्रतिशत महिला प्रतिनिधित्व सुनिश्चित गर्न माओवादीले २२ जना महिला थपेको हो । थपिएका केन्द्रीय सदस्यहरू शुक्रबारदेखि केन्द्रीय कमिटी बैठकमा सहभागी भएका छन् । माओवादी केन्द्रीय कार्यालयका सचिव डोरप्रसाद उपाध्यायले केन्द्रीय कमिटीमा २२ जना महिला नेताहरूलाई केन्द्रीय सदस्य मनोनीत गरिएको जानकारी दिनुभयो ।

यसअघि अध्यक्ष प्रचण्डले बुधबारको केन्द्रीय समिति बैठकमा ३३ प्रतिशत महिला थप गर्ने प्रस्ताव गर्नुभएको थियो । अध्यक्षको प्रस्ताव पारित भएपछि मनोनीत भएका केन्द्रीय सदस्यहरू बैठकमा सहभागी भएका हुन् । माओवादी केन्द्रले आङदावा शेर्पा, इन्दिरा अधिकारी, उमा कपाली, उर्मिला विक, गंगा खड्का, गीताकुमारी कँडेल चौलागाईं, गीता शाही, छमकुमारी खनाललाई केन्द्रीय सदस्य थप गरेको हो । यस्तै, दिलमाया बूढामगर, नीरमाया श्रीस, नीशा न्यौपाने, पार्वती थापा, भगवती तिवारी, मोतीकला चलाउने, लालकुमारी पुन, लीला शर्मा, सपना परियार पनि केन्द्रीय कमिटीमा थपिएका छन् । सीता दाहाल, सुशीला घिमिरे, सुशीला पौडेल, सूर्यकुमारी विक, सरु चौधरी पनि थपिएका केन्द्रीय सदस्य हुन् । २०७८ पुसमा सम्पन्न नवौं महाधिवेशनले केन्द्रीय कमिटीमा महिलाको संख्या ३५ प्रतिशत पुर्‍याउने निर्णय गरे पनि हालसम्म कार्यान्वयन भएको थिएन । तर, शुक्रबार बोल्ने धेरैजसो नेताले केन्द्रीय कमिटीको संख्या दुई अंकको बनाउनुपर्ने सुझाव दिएका छन् ।

माओवादीमा ६७ वर्षे उमेरहदको प्रस्ताव
नेकपा माओवादी केन्द्रको बैठकमा पार्टीमा उमेरहद लागू गरिनुपर्ने माग उठेको छ । जारी केन्द्रीय समितिको बैठकमा केन्द्रीय सदस्य सचिन रोकाले सरकारले तोकेको ६८ वर्ष (ज्येष्ठ नागरिक भत्ता पाउने उमेर) लाई मापदण्ड बनाउन सकिने तर्क गर्दै भन्नुभयो, ‘यो कम भयो भन्ने हो भने ७० वा ७५ गर्न पनि सकिएला । तर, उमेर हदको व्यवस्था हुनैपर्छ । नत्र युवाहरूले पार्टीमा भविष्य देख्दैनन् । पुस्तान्तरणको माग नारामै सीमित हुन्छ ।’ हरेक तहको पार्टी कमिटीको मुख्य नेतृत्वमा लगातार दुई कार्यकाल मात्र रहन पाउने व्यवस्था गर्न नेता रोकाले माग छ ।

Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments

रिलेटेड न्युज

छुटाउनुभयो कि ?