बझाङको कालंगा नदी बेसिनका तीनवटै हाइड्रो पावर आयोजना ६४ मेगावाट विद्युत प्रणालीमा जोडिए

सुरेश धामी बझाङ, संवाददाता
Read Time = 4 mins

बझाङ । सुदूपश्चिमको बझाङमा रहेको कालंगा नदी बेसिनमा निर्माणाधीन ३ जलविद्युत आयोजनाको बिजुली पूर्णरूपमा प्रणालीमा आवद्ध भएको छ । बझाङको बुंगल नगरपालिकामा र केदारस्युँ गाउँपालिकामा संञ्चालित माथिल्लो कालंगा हाइड्रो पावर , कालंगा गाड हाइड्रो पावर र सानीगाड हाइड्रो पावर गरी ६४ मेगावाटभन्दा बढी विद्युत प्रणालीमा जोडिएको हो ।

यसअघि ३८.४६ मेगावाटको माथिल्लो कालंगा गाड हाइड्रो पावर र १५.३३ मेगावाटको कालंगा गाड हाइड्रो पावर प्रणालीमा आवद्ध भइसकेकोमा बिहीबार (साउन १८ गते) देखि १०.७० मेगावाटको सानी गाड हाइड्रो पावर पनि सञ्चालनमा आएको बुंगल हाइड्रो लिमिटेडका सञ्चालक राजेशकुमार श्रेष्ठले जानकारी दिनुभयाे । यो सँगै सानी गाड हाइड्रो प्रालि अन्तर्गतका ३ कम्पनीले उक्त बेसिनमा विकास गरेका ३ आयोजनाबाट ६४.४९ मेगावाट विद्युत दार्चुलाको बलाँच स्थित नेपाल विद्युत प्राधिकरणको १३२/३३ केभी सबस्टेसनमा आवद्ध भएको छ।

यी ३ जलविद्युत आयोजनाको बिजुली बलाँच पुर्याउन प्रवर्द्धकले ३९ किलोमिटर लामो प्रसारण लाइन निर्माण गरेको छ । जुन, अहिलेसम्म निजी क्षेत्रले निर्माण गरेको सबैभन्दा लामो लाइन मानिएको छ । उक्त परिमाणसँग बलाँच सबस्टेसनमा जोडिएको निजी क्षेत्रको विद्युत करिब १२१ मेगावाट पुगेको छ । प्राधिकरणद्वारा निर्मित ३० मेगवाटको चमेलिया समेत जोड्दा यस सबस्टेसनमा आवद्ध विद्युतको परिमाण करिब १५१ मेगावाट हुन पुग्छ । यसअघि, अपि पावरले निर्माण गरेको ४० मेगावाटको माथिल्लो चमेलियाबाट व्यापारिक उत्पादन भइसकेको छ भने सोही कम्पनीद्वारा निर्मित ८.५ मेगावाटको नौगड गाड र ८ मेगावाटको माथिल्लो नौगड गाड पनि सञ्चालनमा आइसकेका छन् ।

माथिल्लो कालंगा गाड सानी गाड हाइड्रो कम्पनीद्वारा निर्माण गरिएको ३८.४६ मेगावाटको माथिल्लो कालंगा गाड हाइड्रो पावर ले २०७९ माघ १३ गतेदेखि विद्युत उत्पादन सुरु गरेको थियो । ६ अर्ब ९४ करोड रुपैयाँ लागतमा निर्माण पूरा गरिएको यो आयोजनामा माचापुच्छ्रे बैंक लिमिटेडको अगुवाईमा ८ बैंकले लगानी गरेका छन् । त्यस्तै कालंगा हाइड्रो इनर्जी कम्पनीले निर्माण गरेको १५.३३ मेगावाटको कालंगा गाडबाट पनि २०७९ सालमै विद्युत उत्पादन भएको थियो ।

३ अर्ब २० करोड रुपैयाँ लागतमा निर्माण गरिएको यस आयोजनामा एनएमबी बैंक लिमिटेडको अगुवाईमा ६ बैंक तथा वित्तीय संस्थाले लगानी गरेका छन् । जसमा, ७५ प्रतिशत ऋण र २५ प्रतिशत स्वपुँजी लगानीको हिस्सा रहेको छ ,भने स सोही नदी बेसिनमा बुंगल हाइड्रो पावर कम्पनीले निर्माण गरेको १०.७० मेगावाटको सानी गाड साउन १८ गतेदेखि प्रणालीमा जोडिएको छ । निर्माण पूरा गर्दासम्म यसको लागत २ अर्ब २० करोड रुपैयाँ पुगेको कम्पनीले जानकारी दिएको छ ।

Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments

रिलेटेड न्युज

छुटाउनुभयो कि ?