वनलाई समृद्धिसँग जोड्नुपर्छ : वनमन्त्री महतो

फाइल तस्बिर

रासस
Read Time = 4 mins

काठमाडाैं । वन तथा वातावरणमन्त्री डा वीरेन्द्रप्रसाद महतोले वनलाई नेपालको समृद्धिमा योगदान पुर्‍याउने माध्यमका रुपमा अघि बढाइने बताउनुभएको छ ।

नेपालको कूल भूभागको ४५ प्रतिशत क्षेत्र ओगटेको वनले अब समृद्धिमा योगदान पुर्‍याउने गरी काम गर्नुपर्नेमा उहाँको जोड थियो । राउण्ड टेवल नेपालले आज यहाँ आयोजना गरेको कार्यक्रममा मन्त्री महतोले संस्थाले हरियाली देश बनाउन गरेको योगदानका लागि प्रशंसा गर्नुभयो । साथै उहाँले परा-पर्यावरणका लागि तीन वटै तहका सरकारले जिम्मेवारी बोधका साथ काम गर्नुपर्ने बताउनुभयो ।

मन्त्री महतोले सरकारका तीनै तहका निकाय र सरोकारवालाबीच समन्वय भइ वन जोगाउने र देशको समृद्धिमा यसको योगदान बढाउन भूमिका निर्वाह गरिने बताउनुभयो ।

उहाँले भन्नुभयो, ‘‘नेपालको ४५ प्रतिशत भूभाग वनले ओगटेको छ । वनलाई पनि नेपालको आर्थिक समृद्धिमा योगदान पुर्‍याउने भरपर्दो माध्यम बनाउनुपर्छ । हामी जिम्मेवार निकायका सबैबीच समन्वय भएर काम भइरहेको छ ।  हरियो वन नेपालको धन भन्ने नारालाई पूरा गर्नका नवीन ढङ्गले काम गर्नुपर्छ ।”

सो क्रममा मन्त्री महतोले हरेक व्यक्तिको जन्मदिनलाई सम्झनलायक बनाउनका लागि स्थानीय तहसँगको समन्वयमा ‘बर्थ-डे पार्क’ बनाउन सकिने अवधारणा सुनाउनुभयो । उहाँले भन्नुभयो, “वृक्षरोपणसँगै यसको संरक्षण पनि ठूलो कुरा हो । यतातर्फ हाम्रो ध्यान जान जरुरी छ ।”

अहिले नेपालमा विदेशबाट ठूलो मात्रामा काठ आयात भइरहेको तर स्वदेशमै भएका काठ कुहिएर जानु दुःखको विषय भएको बताउँदै उहाँले वनलाई समृद्धिसँग जोडेर जानुपर्नेमा जोड दिनुभयो । उहाँ वनलाई आम्दानीको माध्यम बनाउनुपर्ने र वनलाई अब मुलुकको समृद्धिसँग जोड्नुपर्ने भनाइ राख्नुभयो ।

काठमाडौं महानगर-१२ का अध्यक्ष बालकृष्ण महर्जनले महानगरले हराभरा काठमाडौँ बनाउने उद्देश्यले एक लाख बिरुवा रोप्ने घोषणा गरेको र सोहीअनुसार काम भरहेको बताउनुभयो ।

संस्थाका राष्ट्रिय अध्यक्ष राहुल अग्रवाल, अन्तर्राष्ट्रिय अध्यक्ष जयन्त अग्रवालले संस्थाले गरेका काम र आगामी योजनाबारे प्रकाश पार्दै संस्थाले प्रतिबद्धता जनाएको भन्दा झण्डै दोब्बर बिरुवा रोप्न सफल भएको जानकारी गराउनुभयो ।

राउण्ड टेबल नेपालले यसअघि एक लाख वृक्षरोपण गर्ने घोषणा गरेकोमा निर्धारित समयमा झण्डै दोब्बर (एक लाख ८८ हजार) बिरुवा रोपण गरेको हो । सो अवसरमा विद्यालय परिसरमैमन्त्री महतोले वृक्षरोपण पनि गर्नुभएको थियो ।

Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments

रिलेटेड न्युज

छुटाउनुभयो कि ?