सुन प्रकरणको अनुसन्धान जिम्मा प्रहरीलाई

तस्करीमा अन्तरदेशीय ‘कनेक्सन’ देखिएकाले प्रहरीलाई जिम्मा लगायौँ : महानिर्देशक ढुंगाना

डिबी शर्मा
Read Time = 6 mins

काठमाडौं । राजस्व अनुसन्धान विभागले करिब सय किलो सुन तस्करी प्रकरणको सम्पूर्ण अनुसन्धान नेपाल प्रहरीलाई जिम्मा लगाएको छ । विभागले आइतबार पत्रकार सम्मेलन गरेर एक क्विन्टल सुन तस्करी प्रकरणको सम्पूर्ण अनुसन्धान नेपाल प्रहरीलाई जिम्मा लगाइएको जानकारी दिएको हो । विभागका महानिर्देशक नवराज ढुंगानाले सुन तस्करी अन्तरदेशीय संगठित अपराध भएकाले विभागले थप छानविन र मुद्दा अभियोजनको सम्पूर्ण जिम्मेवारी प्रहरीलाई सुम्पिएको जानकारी दिनुभयो । पक्राउ परेका सबै आरोपितलाई पनि प्रहरीको जिम्मा लगाइएको महानिर्देशक ढुंगानाले बताउनुभयो ।

सुन तस्करीमा अन्तरदेशीय संगठित अपराध भएकाले विभागले थप छानविन र मुद्दा अभियोजनको सम्पूर्ण जिम्मेवारी प्रहरीलाई सुम्पिएको उहाँले बताउनुभयो । ‘अनुसन्धान गर्दै जाँदा योसँग अन्य कानुन पनि आकर्षित हुने देखियो । संगठित रूपमा सुनको तस्करी गर्ने तथा व्यापार गर्ने विषय नेपालमा प्रचलित कानुनअनुसार संगठित अपराधसम्बन्धी ऐन आकर्षित हुन्छ । त्यो आकर्षित हुने कानुन र थुप्रै अवयवहरूलाई अनुसन्धानको क्रममा फेला पारेका छौँ,’ उहाँले भन्नुभयो, ‘अहिलेसम्म पक्राउ परेकाहरू र फेला परेको तथ्य प्रमाण प्रहरीको जिम्मा लगाएका छौँ । यसमा अन्तरदेशीय संगठित अपराध देखिएकाले अब सीआईबीले अनुसन्धान अघि बढाउनेछ ।’

अब प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरो (सिआइबी)ले प्रकरणको अनुसन्धान गर्ने छ । विभागका मात्र अनुसन्धान फितलो हुनसक्ने भन्दै कुरा उठेपछि प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले प्रहरी र राजस्वका उच्च अधिकारीहरूसँग बैठक गरी थप अनुसन्धान प्रहरीबाट अघि बढाउन गत बिहीबार निर्देशन दिनुभएको थियो ।

२ साउनमा विमानस्थल भन्सार पास भएर आएको करिब एक सय किलो सुन बरामद गरेको थियो । हङकङबाट क्याथे प्यासिफिकको जहाजमा स्कुटरका ‘ब्रेक सु’भित्र लुकाएर ल्याइएका सामान त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट भन्सार जाँचपास गरी बाहिरिएको थियो । त्यसलगत्तै विभाग र सशस्त्र प्रहरी बल (एपिएफ)को विशेष टोलीले भन्सारबाहिर सिनामंगल सडकबाट ब्रेक सुभित्र लुकाइएको सय किलो सुनसहित दुई जनालाई पक्राउ गरेको थियो ।

सुनको यकिन तौल अहिलेसम्म थाहा हुन सकेको छैन । सुन राष्ट्र बैंकको टक्सार विभागमा राखिएको छ । सुनको गुणस्तर परीक्षण र तौल लिने कामसमेत सुरु गरिएको छैन । हङकङबाट नेपालमा भित्र्याइएको सुन प्रकरणमा हालसम्म दुईजना चिनियाँ र एक भारतीयसहित १८ जना पक्राउ परेका छन् । पक्राउ पर्नेमा तीनजना विमानस्थल भन्सारका कर्मचारी पनि छन् । विभागले अहिलेसम्म ट्याक्सी चालकसहित बेल्जियम नागरिक दावा छिरिङसमेत १८ जनालाई पक्राउ गरेको छ । क्यान्सरबाट पीडित रुक्मिना सुब्बालाई आवश्यक पर्दा हाजिर हुने गरी परिवारको जमानीमा छाडिए पनि १७ आरोपित हिरासतमा छन् ।

विभागको अनुसन्धानलाई आधार बनाएर सिआइबीले थप अनुसन्धान गर्ने
सिआइबीले विभागको अनुसन्धानलाई समेत आधार मानेर थप अनुसन्धान गर्ने भएको छ । विभागले अहिलेसम्म गरेको अनुसन्धानमा प्राप्त प्रमाणका आधारमा नयाँ तथ्य खोजी गर्न लागिएको प्रहरीले जनाएको छ । विभागले अनुसन्धान सुरु गरेर जहाँसम्म पुर्‍याएको छ त्यहीँबाटै अनुसन्धान उठान गरिने प्रहरीको भनाइ छ । विभागले संकलन गरेका प्रमाणहरू समेत प्रहरीलाई उपलब्ध गराउने र त्यहीँबाट थप प्रमाण जुटाउन प्रयास गर्ने नेपाल प्रहरीका प्रवक्ता डिआइजी कुवेर कडायतले बताउनुभयो । उहाँका अनुसार संलग्नता देखिएका र प्रमाण फेला परेका सबैलाई अनुसन्धानको दायरामा ल्याउने प्रहरीको तयारी छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

रिलेटेड न्युज

छुटाउनुभयो कि ?