एक्सन कटमात्र निर्देशन होइन : निर्देशक कमल एक्चै मगर

गीता अधिकारी
Read Time = 11 mins

रामेछाप जिल्ला स्थायी घर भई काठमाडौंलाई कर्मथलो बनाएर आफ्ना क्रियशन दर्शकमाझ पस्किरहनुभएको छ निर्देशक कमल एक्चै मगरले । २०४८ सालमा सुकाजोर-७, रामेछापमा जन्मिनुभएका उहाँ माध्यमिक तह शिक्षा पूरा गरेपछि उच्च शिक्षाका लागि काठमाडौं आउनुभएको थियो । गीतसंगीत हुँदै चलचित्र क्षेत्रमा होमिनुभएका याक्चा चलचित्र निर्देशनसँगै व्यवसाय, सामाजिक कार्यमा सक्रिय रहँदै आउनुभएको छ । सुरुमा असिस्टेन्टको रूपमा काम गर्दै पछि आफैं म्युजिक भिडियो, डकुमेन्ट्री, शर्ट फिल्म निर्देशन गर्दै फिचर फिल्मसम्म उहाँ आइपुग्नु भएको हो । नेपाल चलचित्र निर्देशक समाजको कार्यसमिति सदस्य, जागरुक युवा क्लबको संस्थापक अध्यक्ष, नेपाल संगीत उद्योग संघ, चलचित्र निर्माता संघ नेपाल, नेपाल सांस्कृतिक महासंघको केन्द्रीय सदस्य, संगीत तथा चलचित्र उत्पादक समाजलगायत संघसंस्थामा आबद्ध रहनुभएका कमल हाल नयाँ चलचित्रका लागि स्कृप्टको फानल ड्राफ्टमा रहको बताउनुहुन्छ । दुई सयजति म्युजिक भिडियो, यस्तै थुप्रै डकुमेन्ट्री, शर्ट फिल्म निर्देशन गर्नुभएका उहाँले ‘डेसान’, ‘शिरफूल’ जस्ता चलचित्रमा कुशल निर्देशन प्रस्तुत गर्नुभएको छ । एक्सन कटमात्र निर्देशन होइन भन्नुहुने निर्देशक कमल एक्चै मगरसँग हिमालय टाइम्सका लागि गीता अधिकारीले गर्नुभएको कुराकानीको संक्षिप्त अंशः-

पछिल्लो समय केमा व्यस्त हुनुहुन्छ ?
अहिले आफ्नै व्यानरको नयाँ चलचित्रको स्कृप्ट फाइनल ड्राफ्टमा छु, बाहिरी प्रोजेक्टको पनि कुरा भइरहेको छ । सामाजिक कार्यमा पनि समय दिइरहेको छु आफू अध्यक्ष रहेको जागरुक युवा क्लबमार्फत ।

यहाँको नयाँ के आउँदै छ ?
मेरो आफ्नै व्यानर पर्फोमिङ आर्ट क्रियशनबाट नयाँ प्रोजेक्ट अब छिट्टै फ्लोरमा जाने तयारीका साथ प्रि-प्रोडक्सनको काम भइरहेको छ । २०२४ भित्र प्रदर्शन गर्ने योजना छ ।

यहाँले निर्देशन गर्नुभएको चलचित्र ‘डेसान’ले दर्शकको माया पाउन सकेन होइन ?
चलचित्र ‘डेसान’ जति दर्शकले हेरिदिनुभयो एकदम राम्रो प्रतिक्रिया पाए । अब कुन हिसाबले दर्शकको माया पाएन भनौ रिलिजको समयमा वल्र्डकप अन्तिम चरणतिरको खेलहरू भइरहँदा अनि हलिउड फिल्म ‘अवतार’ जस्तो ठूलो बहुप्रतिक्षित चलचित्र चलिरहँदा पनि ‘डेसान’को १४/१५ दिनसम्म शो चल्यो म त खुशी छु । व्यावसायिक रूपमा हाम्रो चलचित्रले केही कम कलेक्सन गरेको चाहिँ पक्कै हो । तर, स्टार काष्ट नहुँदा र मिडियाबाजी नगर्दा चलचित्र ‘फ्लप’ भयो भन्नू गलत हो । त्यही वर्ष चलेको कति स्टार भ्यालु भएको चलचित्रले भन्दा राम्रो व्यापार गरेको छ ‘डेसान’ले ।

डेसानअघि तपाईंको चलचित्र ‘शिरफूल’ प्रदर्शनमा आउन सकेन नि ?
चलचित्र ‘शिरफूल २०१६मा नै छायांकन, पोष्ट प्रोडक्सन सम्पूर्ण काम सम्पन्नगरी २०१७ लाई मिति तयार गर्नेगरी चलचित्रको प्रोमोशन कन्टेण्ट मिडियामा दिन सुरु गरेका थियौ । वितरकले प्रदर्शन मिति तोक्न ढिलाइ गर्दा गर्दै बल्लतल्ल जुरेको मंसिर २१ (२०७५मा पनि विविध कारणबस रिलिज हुनसकेन अर्को मिति २०७६ जेठ १७ लाई तय गर्‍यौ, कोरोना भाइरस (कोभिड-१९)को महामारीका कारण चैत ११ गतेबाट देशभर यसलाई नियन्त्रण र रोकथाम गर्न ‘लकडाउन’ सुरु भएपछि हामी अन्यौलमा पर्‍यौ । अब चाहिँ नयाँ मिति तयगरी प्रदर्शन गर्ने कुराकानी भइरहेको छ सायद छिट्टै हुन्छ ।

निर्देशन गर्न कतिको गाह्रो काम हो, चुनौती के-कस्ता छन् ?
एकदमै गाह्रो काम हो निर्देशन । निर्देशकसँग सम्बन्धित ज्ञान र अनुभव हुनुपर्छ । एक्सन कटमात्र निर्देशन होइन । चलचित्रको सुरुवातदेखि सिनेमाघरमा लाग्दासम्म हेर्नुपर्ने हुन्छ । एउटा चलचित्रलाई कस्तो रूपमा दर्शकमाझ प्रस्तुत गर्ने, कलाकारमा भएका क्षमतालाई कसरी पूर्णरूपमा उजागर गर्ने भन्ने कुरा निर्देशकको क्षमतामा भरपर्छ । हुन त चलचित्र भनेको टिमले गर्ने हो एकजनाले राम्रो गर्दा राम्रो हुने होइन । सबैको आ-आफ्नो स्थानमा उत्तिकै महत्व रहन्छ । सबै पक्ष राम्रो गर्न सक्दामात्र एउटा राम्रो चलचित्र दर्शकमाझ आउँछ । अब सबै क्षेत्रमा चुनौती हुन्छन् । अरू क्षेत्रमा जस्तै हाम्रोमा पनि छ । मलाई लाग्छ चुनौतीलाई कसरी लिने भन्ने कुरा महत्वपूर्ण हुन्छ ।

कुनै पनि चलचित्र सफल हुनुमा निर्देशकको भूमिका कस्तो रहन्छ ?
कुनै पनि कथालाई बस्तुपरक ढंगले पात्रहरूद्वारा जीवन्तता दिनसक्नु निर्देशन हो । यसभित्र थुप्रै पाटा हुन्छन् । तथापि एउटा राम्रो निर्देशकभित्र नयाँ-नयाँ कुरा दिनसक्ने खुबी हुनुपर्छ अनिमात्र राम्रो सिनेमा दर्शक माझ आउँछ । एउटा राम्रो चलचित्र दिनसक्नु नै निर्देशक सफल हुनु हो ।

कसरी आउनुभयो यो क्षेत्रमा ?
म एसएलसी पश्चात् ‘प्लस टू’का लागि काठमाडौं आए । सानोमा गायक बन्छु जस्तो लाग्थ्यो, एक महिनाजति भोकल पनि सिके । आफ्नो स्वर आफैंलाई मनपर्न छोड्यो । सूर्य अंकलको म्युजिक कम्पनी थियो । त्यही बसेर काम सिक्न थाले । क्यामरा चलाउन सिकेपछि अझैं झुकाब भिडियो सम्पादनतिर भयो । मल्टिमिडिया कोर्ष गरे । भिडियो सम्पादन, डिजाइनको काम गर्न सुरु गरे विस्तारै आफूलाई निखार्दै गए । डान्स क्लास, चलचित्र निर्देशन कोर्ष अनि कहिले असिस्टेन्टको रूपमा काम गरेपछि आफैं म्युजिक भिडियो, डकुमेन्ट्री, शर्ट फिल्म निर्देशन गर्दै फिचर फिल्मसम्म आइपुगे ।

पछिल्लो समय सिनेमाको बजार कस्तो छ ?
राम्रो छ भन्नुपर्छ, पहिले भन्दा सुधारिँदै गएको छ । नेपाली चलचित्रमा पनि स्तरीय बन्नेक्रम बढेको छ । चलचित्रको बजार विस्तार भइरहेकै छ । देशमात्र होइन विदेशमा पनि नेपाली चलचित्र प्रतिको लगाव बढेर गएको छ ।

यो क्षेत्रमा नआएको भए कहाँ पाउथ्यौ यतिबेला तपाईंलाई हामीले ?
म सिनेमा क्षेत्रमा न आएको भए कुनै होटलको (सेफ) किचनमा या त आफैं हस्पिटालिटी बिजनेस गर्दै गरेको हुने थिए होला । म हस्पिटालिटी म्यानेजमेन्टको विद्यार्थी पनि हुँ, आफ्नो पढाइ अनुसार कै काम गर्थे कि ?

यहाँले यो क्षेत्रमा पुर्‍याएको योगदानस्वरूप धेरै मान-सम्मान, पुरस्कार र अवार्ड आफ्नो पोल्टामा पार्न सफल हुनुभएको छ नि ?
हो, यहाँले भनेजस्तै केही मान-सम्मान, पुरस्कार र अवार्ड प्राप्त भएका छन् । मलाई डेसान फिल्मबाट उत्कृष्ट निर्देशक (नेपाल ग्रामीण फिल्म फेष्टिबल-२०२३०), उत्कृष्ट निर्देशक जुरी (पिम नेपाल फिल्म फेष्टिबल-२०२२) नवनिर्देशक (स्पाइनी ब्याब्लर इन्टरनेशनल फिल्म फेष्टिबल-२०२२) लगायत केही म्युजिक भिडियो अवार्ड र एक दर्जन जति संघसंस्थाबाट सम्मानित हुन पाएको छु । १५औं साधारणसभाबाट नेपाल चलचित्र निर्देशक समाजको कार्यसमिति सदस्यमा आएको छु, यससँगै जागरुक युवा क्लबको संस्थापक अध्यक्ष, नेपाल संगीत उद्योग संघ, चलचित्र निर्माता संघ नेपाल, नेपाल सांस्कृतिक महासंघको केन्द्रीय सदस्य, संगीत तथा चलचित्र उत्पादक समाजलगायत संघसंस्थामा आबद्ध छु ।

अन्त्यमा ?
सिनेमा परिवर्तन भइरहने भएकाले प्रविधिको विकाससँगै अहिले काम गर्न सहज भएको छ, अहिले धेरैजना फिल्मतिर होमिएका छन् । सिनेमा समाजको ऐना हो जसले समाजमा भएका मानचित्रलाई दर्शकसामु प्रस्तुत गर्नुपर्दछ । समाजमा परिवर्तन ल्याउने बाटो पनि हो अनि मानिसको जीवनलाई परिवर्तन गर्ने माध्यमसमेत हो । चलचित्र यसलाई मनोरञ्जनको साधनमात्रै मान्न हुन्न । तसर्थ हामीले यथार्थपरक चलचित्र बनाउनसमेत लाग्नुपर्छ ।

Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments

छुटाउनुभयो कि ?