एएफसी कपको पहिलो चरणको खेल आजबाट हुँदै

हिमालय टाइम्स
Read Time = 3 mins

काठमाडौं । एएफसी कपको पहिलो चरणको खेल आज(मंगलबार)बाट हुँदैछ । पहिलो खेलमा नेपालको मच्छिन्द्र क्लब र भुटानको पारो एफसी भिड्दैछन् । काठमाडौंमा सोमबार आयोजित प्रि-म्याच कन्फरेन्समा दुवै टोलीका प्रशिक्षक र कप्तानले आफूहरू जितका लागि तयार रहेको बताएका छन् । मच्छिन्द्र र पारो मंगलबार साँझ साढे ५ बजे दशरथ रंगशालामा आमनेसामने हुन लागेका हुन् ।

मच्छिन्द्रका कप्तान विशाल श्रेष्ठले खेलको सम्पूर्ण तयारी सम्पन्न गरेको जानकारी गराउनुभयो । उहाँले टिममा रहेका खेलाडीहरूले राम्रो खेल खेल्ने र सोचेजस्तो नतिजा निस्कने बताउनुभयो । त्यस्तै, मच्छिन्द्रका प्रशिक्षक किशोर केसीले भुटानको पारो राम्रो टिम भएकाले खेल सुरु भएपछि रणनीति बुझेर त्यहीअनुसार प्रदर्शन गर्नुपर्ने बताउनुभयो ।

मच्छिन्द्रमा सातजना खेलाडी थप गरिएको भन्दै उहाँले आवश्यकताअनुसार मैदानमा उतार्ने तयारी गरिएको जानकारी दिनुभयो । मच्छिन्द्रले चर्च ब्वाइजका आशिष चौधरी, संकटाका आयुश घलान, चर्च ब्वाइजका एरिक विष्ट, थ्रीस्टारका लाकेन लिम्बू, एफसी खुमलटारका मेसुके ओलोमाउ, एपिएफका सनिश श्रेष्ठ, खुमलटारका रेजिन सुब्बा र रोहित सुब्बालाई भित्र्याएको हो ।

मच्छिन्द्रले मंगलबारको खेल जिते १६ अगस्टमा मोहन बगान सुपर जायन्टको सामना गर्नेछ । उक्त खेल जिते २२ अगस्टमा हुने प्लेअफको फाइनलमा क्लब इगल्स र ढाका अबहानीको विजेतासँग खेल्नेछ ।

मच्छिन्द्रले शहीद स्मारक ‘ए’ डिभिजन लिग २०७९/८० मा दोस्रो स्थान हासिल गरे पनि च्याम्पियन चर्च ब्वाइज युनाइटेडले एएफसी क्लब लाइसेन्स नपाएका कारण दोस्रोपटक खेल्ने अवसर पाएको हो ।

Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments

रिलेटेड न्युज

छुटाउनुभयो कि ?