‘लगानीको वातावरण बनाए चिनियाँ लगानी बढ्छ’

हिमालय टाइम्स
Read Time = 3 mins

काठमाडौं । नेपाल उद्योग वाणिज्य महासंघका अध्यक्ष चन्द्रप्रसाद ढकाल र नेपालस्थित चिनियाँ राजदूत छन सोङबीच मंगलबार भेटवार्ता भएको छ । सो अवसरमा महासंघ अध्यक्ष ढकालले नेपाल चिनियाँ लगानी र पर्यटनको मुख्य गन्तव्य बन्न सक्ने भन्दै नेपालको उत्पादनमूलक क्षेत्र, ऊर्जा, पर्यटन पूर्वाधारलगायतका क्षेत्रमा विदेशी लगानीको राम्रो सम्भावनातर्फ राजदूत सोङको ध्यानाकर्षण गराउनुभयो । पर्यटन प्रवद्र्धनका लागि चीनका मुख्य शहरबाट नेपालका सबै अन्तर्राष्ट्रिय विमानस्थलमा सिधा उडान आवश्यक रहेकोसमेत उहाँले बताउनुभयो । अध्यक्ष ढकालले चिनियाँ पर्यटकको मुख्य गन्तव्य सूचीमा नेपाललाई प्राथमिकतासाथ समावेशका लागि आग्रह पनि गर्नुुभएको छ ।

महासंघले साना उद्यमशीलता प्रवद्र्धनमा काम गरिरहेको र ती उद्यमीलाई चीनको अवलोकन भ्रमणका लागि राजदूतावासले सहयोगको आवश्यकता औंल्याउँदै अध्यक्ष ढकालले नेपालमा चिनियाँ बैंक आउन सक्ने सम्भावनातर्फ पनि ध्यानाकर्षण गराउनुभएको थियो । साथै लामो समयदेखि बन्द रहेको तातोपानी नाका प्रभावकारी सञ्चालनका लागि पनि आग्रह गर्नुभएको थियो ।

राजदूत सोङले नेपालमा लगानी गर्न चिनियाँ लगानीकर्ता उत्सुक रहेको र नेपालले आवश्यक लगानीको वातावरण बनाउनुपर्ने बताउनुभयो । उत्पादनमूलक उद्योग, कृषि, ऊर्जालगायतका क्षेत्रमा चिनियाँ लगानीकर्ता आकर्षित रहेको उहाँको भनाइ थियो । तर, विदेशी लगानी भित्र्याउन सहज वातावरण बनाउनुपर्ने र प्रतिफल सहजै लान सक्ने व्यवस्था गरिनुपर्नेमा उहाँले जोड दिनुभयो ।

चीनमा पनि सुरुमा विदेशी लगानीसँग नीति निर्माता सशंकित भए पनि पछि सुधार गर्दै गएको भन्दै उहाँले लगानीकर्तालाई नीतिगत स्थायित्व र सहज व्यवहार आवश्यक हुने बताउनुभयो । चीन विदेशी लगानीकै कारण अहिले संसारकै मुख्य उत्पादक बन्न सकेको उदाहरणससमेत राजदूत सोङले प्रस्तुत गर्नुभएको थियो । उहाँले तातोपानी नाका खोल्ने र नेपालमा चिनियाँ बैंक आउनेबारेमा छलफल भइरहेको जानकारी गराउनुभएको महासंघले जनाएको छ ।

Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments

रिलेटेड न्युज

छुटाउनुभयो कि ?