नवौँ राष्ट्रिय खेलकुदबाट ६ करोड ८२ लाख बचत

हिमालय टाइम्स
Read Time = 4 mins

काठमाडौं । राष्ट्रिय खेलकुद परिषद्(राखेप)ले नवौँ राष्ट्रिय खेलकुद प्रतियोगिताबाट ६ करोड ८२ लाख ४८ हजार ४६० रूपैयाँ बचत भएको हिसाब सार्वजनिक गरेको छ । गण्डकी प्रदेशको पोखरालगायत आठ जिल्लामा गत वर्ष असोज २८ गतेदेखि कात्तिक ३ गतेसम्म नवौँ राष्ट्रिय खेलकुद सञ्चालन भएको थियो । प्रतियोगिता समापन भएको आठ महिनापछि बुधबार आम्दानी खर्चको विवरण सार्वजनिक गर्दै राखेपले उक्त बचत देखाएको हो ।

राखेप सदस्य-सचिव टंकलाल घिसिङद्वारा सार्वजनिक आम्दानी खर्च विवरणमा आम्दानीतर्फ नेपाल सरकारबाट विनियोजन ६० करोड १० लाख, आन्तरिक आम्दानीतर्फ ५१ लाख ५२ हजार गरी कुल आम्दानी ६० करोड ६१ लाख देखाइएको छ । सम्पूर्ण विषयगत खर्चहरू जोड्दा ५३ करोड ७९ लाख चार हजार रुपैयाँ खर्च भएको देखाइएको छ ।

खेलाडी तथा अफिसियलको ड्रेस, यातायात तथा बसोबास, खेलमैदान, खेल सामग्री व्यवस्थापन, कार्यक्रम उद्घाटन तथा समापन, स्वयंसेवक परिचालन, निर्णायक तथा प्रशिक्षक परिचालनजस्ता विभिन्न क्षेत्रमा भएका खर्चहरूलाई एकीकृत गरी खर्चको सम्पूर्ण विवरण तयार गर्न सबै क्षेत्रको भुक्तानी भइसक्नुपर्ने भएकाले आम्दानी खर्चको विवरण सार्वजनिक गर्न ढिलो भएको स्पष्टीकरण राखेपको छ ।

‘ठूला चाडपर्वका समयमा प्रतियोगिता भएको र लगत्तै आमनिर्वाचन-२०७९ मा राष्ट्रिय खेलकुद परिषद्का कर्मचारीहरू खटिएकाले खर्चको हिसाब यकिन गर्न समय लागेको थियो । भुक्तानीका प्रक्रिया अघि बढाउँदै गर्दा नेपाल सरकारले देशको अर्थव्यवस्थामा आएको चापलाई ध्यान दिई खर्च कटौतीका लागि सबै क्षेत्रको बजेट रोक्का गर्दा नवौँ राष्ट्रिय खेलकुदको बजेट पनि रोकिन गएपछि भुक्तानी प्रक्रिया पूर्ण रूपमा प्रभावित भएको थियो,’ राखेप सदस्य-सचिव टंकलाल घिसिङले भन्नुभयो, ‘परिषद्को अनुरोधपछि रोकिएका बजेट शीर्षकहरू फुकुवा गरिदिएकाले भुक्तानी गर्ने कार्य गरिएको थियो । जसका कारण स्वर्णपदक प्राप्त खेलाडीहरूको पुरस्कार रकम समेत ढिला भुक्तानी गर्नुपर्ने अवस्था आएको थियो ।’

प्रतियोगिताका लागि शीर्षकगत रूपमा विनियोजन भएकोमध्ये कुनै शीर्षकमा अपुग र कुनै शीर्षकमा बाँकी हुन गएपछि अपुग शीर्षकमा रकमान्तरका लागि सम्बन्धित निकायहरूसमक्ष अनुरोध गरिएको र रकमान्तरको प्रक्रिया पूरा हुन यही असार पहिलो हप्तासम्म लागेकाले लगत्तै बाँकी भुक्तानीका कार्य पूरा गरी हिसाब सार्वजनिक गरिएको उहाँले बताउनुभयो ।

प्रतियोगितामा तीन हजार ४१४ जना पुरुष र दुई हजार ७१३ जना महिलासहित कुल ६ हजार १२७ जना खेलाडीले ३९७ स्वर्ण, ३९७ रजत र ५५३ कांस्यसहित कुल १ हजार ३४७ पदकका लागि प्रतिस्पर्धा गरेका थिए । एघार टिमको सहभागिता रहेको खेलमा नेपाल आर्मी च्याम्पियन बनेको थियो ।

Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments

रिलेटेड न्युज

छुटाउनुभयो कि ?