देशभरका निर्माण व्यवसायीद्वारा काठमाडौंमा प्रदर्शन

हिमालय टाइम्स
Read Time = 4 mins

काठमाडौं । नेपाल निर्माण व्यवसायी महासंघको दोस्रो चरणको आन्दोलनअन्तर्गत बुधबार राजधानीमा देशभरका निर्माण व्यवसायीले सेफ्टी हेलमेट र ज्याकेट लगाई हातमा कालोपट्टी बाँधेर सिठ्ठी जुलुस गरेका छन् । महासंघको निर्देशनबमोजिम सात प्रदेश तथा ७७ जिल्लाबाट आएका निर्माण व्यवसायी आन्दोलनमा सहभागी भएका हुन् ।

महासंघका अध्यक्ष रवि सिंहको नेतृत्वमा महासंघ सचिवालय अनामनगरबाट सुरु भएको जुलुस संसद् भवन नयाँ बानेश्वरअगाडि कोणसभामा परिणत भएको थियो । कोणसभालाई सम्बोधन गर्दै महासंघका अध्यक्ष सिंहले सरकारले व्यवसायीका जायज माग पूरा नगरेका कारण बाध्य भएर दोस्रो चरणको आन्दोलन सुरु गर्नुपरेको बताउनुभयो । महासंघका महासचिव रोशन दाहालले सामान्य रूपमा राज्यले व्यवसायीका समस्या नसुनेका कारण सिठ्ठी फुकेर ध्यानाकर्षण गराइएको बताउनुभयो ।

कोणसभामा निर्माणसँग सम्बन्धित विभिन्न संघसंस्थाका प्रतिनिधिले महासंघको आन्दोलनमा ऐक्यबद्धता जनाएका थिए । नेपाल क्रसर तथा खानी उद्योग महासंघका अध्यक्ष सिताराम न्यौपानेले निर्माण व्यवसायीको अर्बाैं रकम भुक्तान नहुँदा समग्र निर्माण क्षेत्र अस्तव्यस्त भएको बताउनुभयो । निर्माण व्यवसायीको आन्दोलनको प्रभाव ढुंगा, गिट्टी, बालुवालगायतका व्यवसायीलाई परिसकेको भन्दै उहाँले निर्माण व्यवसायीका जायज माग तत्काल पूरा गर्न सरकारको ध्यानाकर्षण गराउनुभयो । सोसाइटी अफ कन्सल्टिङ आर्किटेक्चरल एण्ड इञ्जिनियर्स फर्मस् (स्क्याफ) का महासचिव कमल कार्कीले निर्माण उद्योग चलायमान नभएका कारण अर्थतन्त्रमै समस्या आएको बताउनुभयो ।

सुदूरपूर्वको नेतृत्व गर्दै निर्माण व्यवसायी संघ झापाका अध्यक्ष मिलन बस्नेत तथा सुदूरपश्चिमको नेतृत्व गर्दै निर्माण व्यवसायी संघ कञ्चनपुरका अध्यक्ष निरञ्जन भट्टले राजधानी केन्द्रित महासंघको आन्दोलन सफल नभएसम्म घर नफर्कने प्रतिबद्धता जनाउनुभयो । व्यवसायीहरूको अर्बाैं रकम भुक्तान हुनुपर्ने, सबै आयोजनाको एकमुष्ट म्याद थप हुनुपर्ने, मूल्य समायोजन हुनुपर्ने, निर्माण व्यवसायीमैत्री ऐन नियम लागू हुनुपर्ने, निर्माण व्यवसायीको माग सम्बोधनका लागि उच्चस्तरीय वार्ताटोली गठन हुनुपर्नेलगायतका माग राखी व्यवसायी साउन १४ देखि आन्दोलनमा छन् । महासंघको निर्देशनअनुसार राजधानी केन्द्रित आन्दोलन सफल पार्न देशभरका हजारौँ व्यवसायी काठमाडौं आएको महासंघका प्रवक्ता शिवहरि घिमिरेले बताउनुभयो ।

Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments

रिलेटेड न्युज

छुटाउनुभयो कि ?