उत्पादन बढे पनि आलुले बजार नपाउँदा किसान चिन्तित

ध्रुवसागर शर्मा म्याग्दी, संवाददाता
Read Time = 7 mins

म्याग्दी । म्याग्दीमा उत्पादित आलुले बजार नपाउँदा किसान समस्यामा परेका छन् ।

पश्चिम म्याग्दीका मालिका,मंगला र धवलागिरि गाउँपालिकाका प्रत्येक व्यक्तिको घरमा यतिबेला खनेको आलु थुपारिएको छ भने बारीमा पनि आधाभन्दा बढी आलु खन्न बाँकी छ । अहिलेसम्म कतैबाट पनि आलुको माग नआएको किसानहरुले बताएका छन् ।

जिल्लाका लेकाली क्षेत्रहरुमा फलेका वर्षे स्वादिष्ट आलु बिक्री नहुँदा किसान मारमा परेका हुन् । यस ठाउँमा मकैपछिको दोस्रो प्रमुख बालीका रूपमा उत्पादन हुने आलुले बजार नपाउँदा आलु कुहिन्छ कि भन्ने पिरले आफूहरूलाई सताएको मालिका गाउँपालिका २ रुमकी टेकसरा बूढाले बताउनुभयो ।

म्याग्दीबाट निकासी हुने प्रमुख कृषिउपज आलुको उत्पादन यस वर्ष बढेको छ । गत वर्षको तुलनामा छ दशमलव ३६ प्रतिशतले आलुको उत्पादन बढेको कृषि ज्ञान केन्द्रले जनाएको छ । आलुको उत्पादन बढे पनि विक्री हुन नसक्दा समस्या उत्पन्न भएको किसानको गुनासो छ ।

विगतका वर्षहरुमामा जिल्लामा उत्पादित आलुमध्ये ७० प्रतिशत अथवा एक हजार मेट्रिकटनभन्दा बढी आलु निकासी हुने गरेको कृषि ज्ञान केन्द्र म्याग्दीको तथ्याङ्क छ । प्रतिकेजी ५० देखि एक सयसम्ममा कृषकले आलु बेच्ने गरेका थिए ।

व्यापारीले अग्रिम पेस्की दिएर बारीमा नखन्दै आलु खरिद गर्ने गर्दथे । तर यस बर्ष भने प्रतिकेजी रु ३५ मा आलु दिँदा पनि विक्री हुन नसकेको मंंगला गाउँपालिका ४ का तीर्थबहादुर पुनले बताउनुभयो ।

जिल्लामा हाल स्थानीय सेतो, रातो जातको आलु, निलो, कार्डिनल र एमएस ४२ नामक आलु उत्पादन हुने गरेको छ । कृषि तथा पशुपन्छी विकास मन्त्रालयले प्रधानमन्त्री कृषि आधुनिकीकरण परियोजनाअन्तर्गत रघुगङ्गा गाउँपालिकाको ६, ७ र ८ र अन्नपूर्ण गाउँपालिकाको ५, ६, ७ र ८ नम्बर वडामा गत आर्थिक वर्षदेखि व्यावसायिक कृषि उत्पादन तथा प्रशोधन केन्द्र (जोन) कार्यक्रम सञ्चालन गरेको छ ।

केन्द्रका बाली संरक्षण अधिकृत सञ्जिव बास्तोलाले यस वर्ष जिल्लाभर एक हजार छ सय ५० हेक्टर जमिनमा आलु खेती भएकामा २५ हजार चार सय १० मेट्रिकटन उत्पादन भएको जानकारी दिनुभयो । “अघिल्लो वर्ष एक हजार एक सय ४५ हेक्टर जमिनमा आलु खेती भएकामा २३ हजार सात सय ९३ मेट्रिकटन उत्पादन भएको थियो”, उहाँले भन्नुभयो “क्षेत्रफल विस्तारसँगै आलुको उत्पादन पनि बढेको हो ।”

यस वर्ष धेरै उत्पादन भए पनि बजारमा पठाउन नसक्दा आफूहरू समस्यामा परेको मालिका गाउँपालिका ४ देविस्थानकी कृष बूढाले बताउनुभयो । अहिले आलु बजारमा बिक्री नहुँदा र घरमा पनि राख्ने ठाउँ नहुँदा बारीमै प्लाष्टिकले छोपेर राख्नुपर्ने बाध्यता रहेको कृषक बूढाको भनाइ थियो ।

बर्खाको समय भएका कारण पानी पर्ने भएकाले बारीमै प्लाष्टिकले छोपेर आलु राख्दा पानी परेर कुहिन सक्ने र बारीमै खुलारूपमा राखेको आलुको स्वाद पनि बिग्रने उहाँले बताउनुभयो । “अहिले मालिका गाउँपालिकाको सबै ठाउँमा आलु खन्ने काम धमाधम चलिरहेको छ” बूढाले भन्नुभयो “आलु खनेर बारीमा थुपारेका छौँ, वर्षाका कारण सडक अवरुद्ध हुँदा हामीले यहाँ उत्पादन गरेको आलु जिल्ला सदरमुकाम रहेको बेनीबजारसम्म बजारसम्म पुर्‍याउन पनि सकेका छैनौँ ।”

स्थानीय तहहरुले आलु खेतीको पकेट क्षेत्र, कृषि ज्ञान केन्द्रले बल्क र प्रधानमन्त्री कृषि आधुनिकीकरण परियोजनाले आलु जोन कार्यक्रममार्फत आलु खेती विस्तार गरेका छन् । कृषि ज्ञान केन्द्रमार्फत पाँच सय रोपनी जमिनमा आलु खेतीको कार्यक्रम सञ्चालन गरिएको थियो ।

जिल्लाको अन्नपूर्ण गाउँपालिको शिख, घार, राम्चे, हिस्तान, रघुगङ्गाको पाखापानी, ठाडाखानी, चिमखोला, कुइनेमङ्गले, कुइने मङ्गलाको हिँदी, झाँक्रीपानी, किमचौर, टोड्के, मालिकाको बिम, दिच्याम, धौलागिरिको गुर्जा, मरेनी, बेनीको भकिम्ली, डडुवा, आलु उत्पादन हुने ठाउँ हुन् ।

नागी राम्चेबाट वार्षिक दुई करोड मूल्य बराबरको आलु निकासी हुने गरेको छ । उच्च पहाडी क्षेत्रको चिसो हावापानीमा उत्पादन भएको आलु पोखरा, काठमाडौँलगायत बजार क्षेत्रमा निकासी हुँदै आएको छ । जिल्लाबाट वार्षिक छ करोडभन्दा बढी मूल्यको आलु निकासी हुने केन्द्रको तथ्याङ्क छ ।

कृषि ज्ञान केन्द्रमार्फत यसअघि रघुगङ्गा गाउँपालिका-८ कुइनेमङ्गले र मङ्गलाको ३, ४ र ५ नम्बर वडामा आलुको व्यावसायिक उत्पादन केन्द्र सञ्चालन भएको थियो । मालिका गाउँपालिकाको ६ दिच्याम र ७ बिमलाई आलु बल्क कार्यक्रममा समावेश गरिएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
0 Like Like
0 Love Love
0 Happy Happy
0 Surprised Surprised
0 Sad Sad
0 Excited Excited
0 Angry Angry

Leave a Reply

Your email address will not be published. Required fields are marked *

रिलेटेड न्युज

छुटाउनुभयो कि ?