दाहाल यज्ञनिधिको स्मृति दिवसमा कार्यक्रम

हिमालय टाइम्स
Read Time = 2 mins

काठमाडौं । साहित्यकार तथा सञ्चारकर्मी स्वर्गीय दाहाल यज्ञनिधिको पाँचौं स्मृति दिवस एक समारोहबीच बिहीबार उहाँकै निवास मण्डिखाटारमा सम्पन्न भयो । दाहाल यज्ञनिधि-सुधा सदनको आयोजनामा सम्पन्न उक्त कार्यक्रमको सभापतित्व यज्ञनिधि दाहालकी धर्मपत्नी तथा उक्त सदनकी अध्यक्ष श्रीमती सुधा दाहालले गर्नुभएको थियो ।

कार्यक्रममा दाहाल यज्ञनिधिका कृतिहरूमाथि प्रा.डा.बद्री विशाल भट्टराई, रमेश शुभेच्छु, प्रमोद प्रधान तथा दिनेश लुइँटेलले कार्यपत्र प्रस्तुत गर्नुभएको थियो भने कार्यक्रममका प्रमुख अतिथिसमेत रहनुभएका प्रा.डा.माधव पोखरेलले ती कार्यपत्रमाथि टिप्पणी गर्नुका साथै यज्ञनिधिको साहित्यिक योगदानमाथि प्रकाश पार्नु भएको थियो ।

पोखरेलले नेपाली भाषाको हालको अवस्थाप्रति चिन्ता व्यक्त गर्नु हुँदै यज्ञनिधिले झर्रा नेपाली भाषामा पुर्‍याउनु भएको योगदानको स्मरण गर्नु भएको थियो । भौरवी भूगोलले सञ्चालन गर्नुभएको उक्त कार्यक्रममा दाहालको रेडियो सहकर्मी सिर्जना शर्माले पनि बोल्नुभएको थियो ।

उक्त कार्यक्रमको दोस्रो सत्रमा साहित्यकार निनु चापागाईंलाई दाहाल यज्ञनिधि पुरस्कार प्रदान गरिएको थियो । इतिहासकार ज्ञानमणि नेपाल प्रमुख अतिथि तथा पूर्वमन्त्री गिरिराजमणि पोखरेल अतिथि रहनुभएको उक्त कार्यक्रमको थालनीमा गायिका लोचन भट्टराईले स्वागत गीत गाउनुभएको थियो । प्रकाश सिलवालले सञ्चालन गर्नुभएको दोस्रो सत्रमा प्रतिभाशाली बालबालिका निखिलकुमार शाह र लुनिभा कार्की पनि पुरस्कृत हुनुभएको थियो ।

Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments

रिलेटेड न्युज

छुटाउनुभयो कि ?