दुई सय मेगावाट विद्युत् बेच्न टेन्डर आहृवान

Read Time = 4 mins

काठमाडौं । नेपाल विद्युत् प्राधिकरणले वर्षायाममा नेपालमा खपत गरी जगेडा रहने विद्युत् भारतमा प्रतिस्पर्धी दरमा बिक्री गर्न टेन्डर आहृवान गरेको छ । प्राधिकरणले शुक्रबार टेन्डर आहृवान गर्दै नेपालका जलविद्युत् आयोजनाबाट उत्पादित दुई सय मेगावाट विद्युत् बिक्रीका लागि भारतीय कम्पनीहरूसँग प्रस्ताव माग गरेको हो ।

प्राधिकरणले देशभित्र खपत गरी जगेडा रहने विद्युत् पाँच महिना अर्थात् १७ असारदेखि २९ कात्तिक २०७९ सम्म बिक्री गर्नेछ । भारतको केन्द्रीय विद्युत् नियमन आयोगमार्फत् विद्युत् व्यापारका लागि अनुमति प्राप्त ट्रेडिङ कम्पनी, विद्युत् वितरण कम्पनीलगायतले विद्युत् खरिदका लागि प्रतिस्पर्धामा सहभागी हुन पाउने प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङले बताउनुभयो । उहाँले भन्नुभयो, ‘भारतीय बजारमा तीन सय ६४ मेगावाटसम्म विद्युत् बिक्रीका लागि स्वीकृति पाएका छौँ, त्यसमध्ये दुई सय मेगावाट प्रतिस्पर्धामार्फत् जसले बढी दर कबोल गर्छ, उसैलाई बिक्री गर्ने गरी टेन्डर आहृवान गरेका हौँ, बाँकी विद्युत् भारतीय ऊर्जा एक्सचेन्ज (आइएक्स) मा बिक्री गर्ने छौं, टेन्डरको सम्पूर्ण प्रक्रिया पूरा गरी १ जुलाईबाट छनोट भएका योग्य कम्पनीलाई विद्युत् उपलब्ध गराइनेछ ।’

नेपालबाट विद्युत् खरिद गर्न इच्छुक कम्पनीले आगामी १३ जेठ मध्याहृन १२ बजेसम्ममा प्रस्ताव पेश गर्न सक्ने र सोही दिन दिउँसो १ बजे प्रस्ताव खोलिने प्राधिकरणले जनाएको छ । कम्पनीहरूले आफूले प्रस्ताव गरेको परिमाणको प्रतिमेगावाट ३० हजार भारतीय रुपैयाँ अर्थात् ४८ हजार रुपैयाँ प्रतिमहिना ‘अर्नेस्ट मनी डिपोजिट’ गर्नुपर्नेछ ।

भारतले नेपालका छवटा विद्युत्गृहबाट उत्पादित विद्युत्लाई स्रोत मानी भारतीय बजारमा बिक्रीका लागि प्राधिकरणलाई स्वीकृति दिएको छ । देशभित्र खपत गरेर जगेडा रहने विद्युत् ढल्केबर–मुजफ्फपुर ४०० केभी अन्तरदेशीय प्रसारण लाइनमार्फत् निर्यात हुनेछ । नेपालले प्राधिकरणको स्वामित्वका त्रिशुली, देवीघाट, कालीगण्डकी ‘ए’, मध्यमस्र्याङ्दी, मस्र्याङ्दी र निजी क्षेत्रको ग्रिन भेन्चर्सको लिखु–४ बाट उत्पादित तीन सय ६४ मेगावाट विद्युत् निर्यातका लागि स्वीकृति पाएको छ ।

Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments

रिलेटेड न्युज

छुटाउनुभयो कि ?