कोरिया जान दैनिक पाँच हजारको आवेदन

आवेदक भन्छन् : ‘देशभित्र अवसर छैन’

हिमालय टाइम्स
Read Time = 9 mins

रमेश भारती/हिटा
काठमाडौं । पाँचथरका ३० वर्षीय लोकन्द्र लिम्बू सात वर्षदेखि ड्राइभरको काम गर्दै आउनुभएको थियो । उहाँलाई वैदेशिक रोजगारीमा जान्न मन थिएन । तर, देशभित्र जति गरे पनि केही नभएपछि कोरियन भाषा पढ्न थालेको लिम्बू बताउनुहुन्छ । नेपालमा काम गरिखाने अवस्था सामान्य भएका कारण पनि कोरियाको तयारी गरेको लिम्बू बताउनहुन्छ । उहाँ भन्नुहुन्छ, ‘सात वर्षदेखि ड्राइभरको रोजगारी गरेँ । परिवार पाल्न धौ-धौ परेको छ । कोरियन भाषा पास गरियो भने त पछि स्वदेश फर्किएपछि आफू गाडी किनेर पेसा सुरु गरिन्छ । फेरि नेपालमा काम गर्ने अवस्था पनि छैन ।’ निर्माण क्षेत्रको रोजगारीका लागि आवेदन दिएर कोरियन भाषाको तयारी गरिरहेको उहाँको भनाइ छ ।

लिम्बू जस्तै, चितवनका विमल लामिछाने पनि कोरियन भाषा अध्ययनरत हुनुहुन्छ । नेपालको निजी विद्यालयमा पाँच वर्ष अध्यापन गराउनुभएका लामिछानेले पानी जहाजका लागि आवेदन दिएको बताउनुभयो । नेपालमा त रोजगारी गरेको थिएँ भन्ने मात्र हुने गरेको उहाँले बताउनुभयो । ‘नेपालमा यति पढेको छु भन्नु मात्र हो । त्योभन्दा अरू केही काम छैन । त्यही जति पढे पनि रोजगारीका लागि विदेश जानुपर्छ । त्यही भएर कोरियन भाषा पढ्न थालेको हुँ ।’ उहाँले भन्नुभयो, ‘देशभित्र रोजगारी पाउन कि नेता कि राजनीतिक दलको सदस्य हुनुपर्छ । नत्र सामान्य नागरिकको केही लाग्दैन । त्यही भएर निजी विद्यालय पढाउन छाडेर कोरियन भाषातिर लागेको हुँ ।’

नेपाली त वैदेशिक रोजगारीमा जानका लागि जन्मिएको जस्तो मात्र भइरहेको उहाँको गुनासो छ । लामिछाने र लिम्बू जस्तै ३५ वर्षीय रामेछापकी सुनिता सुनुवार पनि अहिले कोरियन भाषा पढ्दै हुनुहुन्छ । दुईजना बच्चाकी आमा सुनुवारले पनि निर्माण क्षेत्रको रोजगारीमा जान आवेदन दिएको बताउनुहुन्छ । नेपालमा जति पेसा–व्यवसाय गरे पनि अन्तिममा विदेश नगई नहुने अवस्था सिर्जना हुने गरेको सुनुवारले जानकारी दिनुभयो । ‘नेपालमा के गर्नु त ? विदेश नगई उपाय छैन । बच्चा पढाउन भए पनि कोरिया जानुपर्ने बाध्यता भयो । यहाँ जति गरे पनि खान नपुग्ने अवस्था भयो । त्यही भएर विदेशिनुपर्ने बाध्यता छ ।’ उहाँले भन्नुभयो ।

लिम्बू, सुनुवार र लामिछाने त प्रतिनिधि पात्र मात्र हुनुहुन्छ । उहाँहरू जस्तै वार्षिक एक लाखभन्दा धेरै युवा अहिले कोरियाको रोजगारीका लागि कोरियन भाषा पढिरहेका छन् । कोरियामा मात्र पछिल्लो समय रोजगारीको खोजीमा काठमाडौं भित्रिनेकोे संख्या पनि ठूलो रहेको वैदेशिक रोजगार विभागले जनाएको छ ।

३० हजार आवेदन
कोरियाको पानीजहाज निर्माण (सिप बिल्डिङ) क्षेत्रमा रोजगारीका लागि दुई हजार पाँच सयजना छनोट गर्ने गरी गतसाता आवेदन खुलेको थियो । इपिएसअन्तर्गत शनिबारबाट सुरु भएको कोरियन भाषा परीक्षाको आवेदन २४ साउनसम्म दिन सकिने वैदेशिक रोजगार इपिएस शाखाले जनाएको छ । कोरियन भाषा परीक्षाका लागि ६ दिनमा ३० हजारभन्दा बढीले आवेदन दिएको शाखाले जनाएको छ । दैनिक पाँच हजारमाथि युवाको आवेदन आउने गरेको शाखाका अधिकृत शोभाकर भण्डारीले जानकारी दिनुभयो । एक सातामा ३० हजारसम्मले आवेदन दिएका छन् । पानीजहाज निर्माण नेपालका लागि नयाँ भएकाले अन्य क्षेत्रजस्तो आवेदकको संख्या छुट्याउन अहिले नसकिएको उहाँले बताउनुभयो ।

कोरियाले एक वर्षमा एक क्षेत्रमा मात्र आवेदन दिन मिल्ने नियम बनाए पनि सिप बिल्डिङ क्षेत्रमा पाँच दिनमै ११ हजारले आवेदन दिएका छन् । निर्माण क्षेत्रमा करिब १४ हजारको आवदेन परेको शाखाले जनाएको छ । इपिएस शाखाले अहिले लिएको आवेदन मागको असोज १ गतेबाट क्रमशः युविटी भाषा परीक्षा गर्ने भएको छ । भाषा परीक्षामा आवेदन दिन १८ वर्ष पूरा भएर ४० वर्ष ननाघेको हुनु पर्नेछ । कोरियाले उत्पादनमूलक क्षेत्र र कृषि तथा पशुपालन क्षेत्रका लागि १३ वर्षदेखि नेपाली युवालाई रोजगारी दिँदै आएको छ । यो वर्षबाट निर्माण र पानीजहाजमा समेत नेपाली कामदार लिन थालेको हो ।

कोरियाले एक वर्षमा एकै क्षेत्रमा मात्र आवेदन दिन पाउने नियमले परीक्षा तथा अन्य व्यवस्थापनमा सहज हुने भएको छ । जसकारण सबै कामदारले समान अवसर पाउने इपिएसको बुझाइ छ । यसअघि एकै वर्षमा सबै क्षेत्रमा परीक्षाको आवेदन दिन सक्ने प्रावधान थियो । कोरियाको एचआरडीले सिप बिल्डिङ र निर्माण क्षेत्रमा आवेदन दिने युवाले सोही वर्ष कृषि तथा पशुपालन र उत्पादनमूलक क्षेत्रमा आवेदन दिन नपाउने नियम यही वर्षबाट लागू गरेको छ ।

८९२ जना छनोट
कोरियाले त्यहाँका विभिन्न सिप बिल्डिङ क्षेत्रमा यो वर्ष चरणबद्ध रूपमा तनि हजार नेपाली लैजाने आश्वासन दिएको छ । साथै, यसअघि हाल उत्पादनमूलक क्षेत्रका लागि छनोट भएर रोष्टरमा नाम भएका ८९२ युवालाई रोष्टर परिवर्तन गरी पानीजहाज क्षेत्रमा लगिएको थियो । यसरी क्षेत्र परिवर्तन गरेकामध्ये २३८ जना कोरियाका रोजगारदातासँग श्रम सम्झौता भई जाने तयारीमा रहेको इपिएसले जनाएको छ । कोरियाले सन् २०२३ का लागि १६ वटा इपिएस राष्ट्रमध्ये नेपालबाट करिब तीन हजार युवा लैजान चाहेको छ ।

पानीजहाज निर्माणमा भने यो वर्षबाट नेपाली लैजान लागेको हो । कोरियाका विभिन्न सिप निर्माण कम्पनीमा बढ्दै गइरहेको श्रमिक अभावलाई पूरा गर्न पहिलो चरणमा नेपालसहित अन्य देशबाट यो वर्ष पाँच हजारजना लैजाने कोरियाको योजना छ । कम्पनीअनुसार तलबसहित एकदेखि दुई महिनाको तालिमसमेत दिइनेछ । साथै कार्यस्थल परिवर्तन गर्न चाहेमा अर्को त्यस्तै कम्पनीमा मात्र परिवर्तन गर्न पाउनेछन् । पानीजहाज निर्माण क्षेत्रको रोष्टरको म्याद पनि उत्पादनमूलक क्षेत्रको जस्तै दुई वर्षको हुनेछ ।

आगामी असोजमा हुने कोरियन भाषा परीक्षामार्फत कोरियाको पानीजहाज निर्माण क्षेत्रतर्फ स्काफोल्ड, इन्सुलेसन, ग्रेण्डर, वेल्डिङ, पाइप मेसिनरी र इलेक्ट्रिक क्यावलिङ गरी पाँच क्षेत्रमा नेपाली कामदार रोजगारी लिन तयारी गरेको शाखाले जनाएको छ ।

Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments

रिलेटेड न्युज

छुटाउनुभयो कि ?