आफ्नै बारीको तरकारीे बेचेर आत्मनिर्भर बन्दै म्याग्दीका महिला

ध्रुवसागर शर्मा म्याग्दी, संवाददाता
Read Time = 6 mins

म्याग्दी । म्याग्दीको बेनी नगरपालिका २ खबराकी ५४ वर्षीया पवित्रा कार्कीको दैनिकी दुई किलोमिटरको दूरी पार गर्दै आफ्नै बारीमा फलेको तरकारी लिएर बेनीे बजारमा बेच्नमै व्यस्त छ ।

प्रत्येक साँझ बारीमा फलेको तरकारी टिपेर घरको छानामाथि शीतमा राख्ने र भोलिपल्ट बिहानै ती तरकारीलाई डोकोमा बोकेर बजारसम्म ल्याइ विक्री गरेर घर खाना खाने समयमा घर फर्कनुहुन्छ, पवित्रा ।

मौसमअनुसार बारीमा फलाइएका तरकारी बेच्ने पवित्रालाई आफूले कति किलो तरकारी लिएर बिक्री गर्ने गरेको भन्ने थाहा छैन तर बजारसम्म ल्याइएका तरकारी भने सबै बेचेर घर फर्कनुहुन्छ, उहाँ ।

“आफ्ने बारीमा आँफैले फलाएको तरकारीको के हिसाव राख्नु र ? बारीबाट टिप्यो,डोकोमा हाल्यो,भोलिपल्ट बिहादै बजार ल्यायो,बेच्यो सिद्धियो” कार्कीले भन्नुभयो, “अन्तबाट खरिद गरेर बेच्ने भए पो ! यति किलो खरिद गरेँ भन्ने हिसाब हुन्छ । यी त सबै आफ्नै बारीमा फलाइएका तरकारी हुन् ।”

पवित्राले विगत १० वर्षदेखि यसै गरी डोकोमा बाकेर तरकारी बेच्दै आउनु भएको छ । बेनी बजारमा उहाँलाई ‘तरकारी आमै’भनेर सबैले चिन्ने र माया गर्ने गर्दछन् ।

प्रत्येक बिहान बेनी बजारका घरघरमा तरकारी पुर्याउने देवीले दैनिक एक डोका तरकारी विक्री गरेर रु दुई हजारदेखि रु तीन हजारसम्म कमाउने गरेको बताउनुहुन्छ । उहाँले गत जेठदेखि साउनको तेस्रो सातासम्म बर्खे तरकारी बेचेर रु दुई लाख बढी कमाई गरेको बताउनुभयो ।
उहाँले मौसम अनुसारका तरकारी विक्री गर्ने गरेको भए पनि साग र धनियाँ भने कहिल्यै छुटाउनु हुन्न ।

“दैनिक आम्दानी थोरै भनेको रु दुई हजार हुन्छ, नत्र त प्रायः तीनदेखि तीन हजार पाँचसय सम्मको भइरहन्छ । घरमा अस्ति हिसाब गरेको बर्खे तरकारी बेचेर रु दुई लाख ६५ हजारको कमाई भएको रहेछ” कार्कीले भन्नुभयो ।

तरकारीबाट कमाएको पैसाले कार्कीले म्याग्दीको पर्यटकीय स्थल लभ्लीहिलमा चारतले पक्की घर समेत बनाउनुभएको छ । कार्कीका पति चन्द्रबहादुर कार्की र छोरा नारायण कार्कीले गाउँमा नै तरकारी खेती गर्नुहुन्छ । चन्द्रबहादुर कार्की जिल्लाकै अगुवा कृषक हुनुहुन्छ ।

कार्कीले झैँ आफ्नै बारीमा फलेको तरकारी बेचेर विगत पाँच वर्षदेखि घर चलाउँदै आउनुभएको छ मंगला गाउँपालिकाकी चन्द्रमाया सापकोटाले पनि । ३८ वर्षिया सापकोटाको आम्दानी दैनिक रु सात सयदेखि एक हजार सम्मको हुने गर्दछ । उहाँले बर्खे बालीभन्दा हिउँदो बालीबाट बढी आम्दानी गर्ने गरेको बताउनुभयो । “हिजोआजको समयमा फलेको तरकारीबाट भन्दा हिउँदे बालीबाट उत्पादन भएका चना, केराउ, साग, जाँतोमा पिसेको दाल र अन्य गेडागुडीबाट मैले दिनको रु एकहजार पाँच सयसम्मको आम्दानी गरेको छु”, उहाँले भन्नुभयो ।
कार्की र सापकोटा जस्तै जिल्लाका धेरै महिलाहरु पछिल्लो समय तरकारी खेतीबाट आत्मनिर्भर बन्दै गएका छन् । जिल्लामा टमाटर खेती गरेका कृषकहरुले अहिले एक किलो टमाटर रु एक सय ५० सम्ममा विक्रि गर्दै आएका छन् ।

यो समयमा यहाँका किसानहरु आलु, प्याज, बर्खे खुर्सानी, भान्टा, रायोको सागलगायतका हरियो तरकारी बेच्दै आएका छन् । साथीको देखेर आफूले पनि बारीमा फलेको तरकारीलाई नजिकको बजारसम्म ल्याएर बेच्न सुरु गरेको खबराकी अप्सरा घिमिरेले बताउनुभयो । सुरु–सुरुमा लाज लागेको बताउने उहाँले अहिले त उमेरले साथ दिएसम्म यही व्यापार गर्ने बताउनुहुन्छ ।

“बजारका घरघरमा डुलाएर बेच्न मलाई पहिला त लाज लागेको थियो । तर अहिले त आफ्नै व्यापार हो भन्ने बुझेको छु । अब त सकुञ्जेल यही नै गर्ने हो”, अप्सराले भन्नुभयो ।

बेनी बजारमा प्रत्येक बिहान अग्र्यानिक तरकारी किन्ने ग्राहकको भीड देख्न सकिन्छ । प्रायः मर्निङ वाक गर्नेले तरकारी किनेर लैजाने गर्दछन् । बिहान सडक सुनसान हुने र १०ः०० बजेपछि सरकारी कामसँगै चहलपहल पनि बढ्ने भएकाले पाँच–छ देखि १० : ०० बजेसम्म तरकारी विक्री हुने गरेको छ । विगत केही वर्षदेखि बेनी बजार लगायत ग्रामीण क्षेत्रमा अग्र्यानिक मौसमी तरकारी बढी विक्री हुन थालेको छ ।

Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments

रिलेटेड न्युज

छुटाउनुभयो कि ?