अष्ट्रेलिया महिला विश्वकपको सेमिफाइनलमा

हिमालय टाइम्स
Read Time = 3 mins

ब्रिसवन । फ्रान्सलाई सडन डेथमा पराजित गर्दै सह–आयोजक अष्ट्रेलिया फिफा महिला विश्वकपको सेमिफाइनलमा प्रवेश गरेको छ । सडन डेथमा फ्रान्सलाई ७–६ गोलअन्तरले पराजित गर्दै अष्ट्रेलिया पहिलोपल्ट सेमिफाइनलमा प्रवेश गरेको हो ।

यसअघि अष्ट्रेलिया क्वाटरफाइनलभन्दा अघि बढ्न सकेको थिएन । ब्रिसवन स्टेडियममा शनिबार भएको क्वाटरफाइनल खेलको निर्धारित समय र अतिरिक्त समयमा कुनै गोल नभएपछि टाइब्रेकरमा लम्बिएको थियो । टाइब्रेकरमा पनि नतिजा नआएपछि अष्ट्रेलियाले सडन डेथमा जित हात पारेको थियो ।

टाइब्रेकरमा घरेलु टोली अष्ट्रेलियाकी केइटलिन फुर्ड, सामान्थ खेर र मारी फोलेरले गोल गर्न सफल हुँदा स्टेफ क्याट्ले र म्याकेन्जी अर्नाल्डले गोल गर्न सक्नुभएन । सडन डेथमा कटरिना गोरी, तमेका यालोप, एली कार्पेन्टर र कोर्टनी भिनले गोल गर्दा क्लेर हन्टले गोल गर्न सक्नुभएन ।

यस्तै, त्यसअघि उपाधि दावेदार नेदरल्याण्ड्समाथि अतिरिक्त समयमा जित निकाल्दै स्पेनले सेमिफाइनलमा स्थान बनाइसकेको छ । साबिकको उपविजेता नेदरल्याण्ड्सलाई अतिरिक्त समयमा स्पेनले २–१ ले पराजित गरेको थियो ।

यता एसियाली देश जापानमाथि रोमाञ्चक जित निकाल्दै स्वीडेन पनि सेमिफाइनलमा प्रवेश गरेको छ । शुक्रबार भएको क्वाटरफाइनलमा जापानलाई २–१ ले पराजित गर्दै स्वीडेनले अन्तिम चारमा स्थान पक्का गरेको हो । स्वीडेनको जितमा एमान्डा र फिलिपा आंगेलदलले गोल गर्नुभयो । जापानकी होनोका हायासीले एक गोल फर्काउनुभयो ।

जापान क्वाटरफाइनलबाट बाहिरिएसँगै फिफा महिला विश्वकपले नयाँ च्याम्पियन पाउने पक्का भएको छ ।

यसअघि आठ संस्करण सकिँदा अमेरिकाले चार, जर्मनीले दुई तथा नर्वे र जापानले समान एकपल्ट विश्वकप जितेका थिए । चारपल्टको च्याम्पियन अमेरिका र नर्वे प्रि–क्वाटरफाइनलबाट बाहिरिँदा जर्मनी भने समूह चरणबाटै बाहिरिएको थियो ।

Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments

रिलेटेड न्युज

छुटाउनुभयो कि ?