गौरवका आयोजनाको प्रगति निराशाजनक

हिमालय टाइम्स
Read Time = 7 mins

काठमाडौं । राष्ट्रिय गौरवका आयोजनाको प्रगति निराशाजनक देखिएको छ । केही आयोजनाबाहेक अधिकांश आयोजनाको प्रगति निराशाजनक रहेको भन्दै भौतिक पूर्वाधार तथा यातायातमन्त्री प्रकाश ज्वालाले नै असन्तुष्टि प्रकट गर्नुभएको छ ।

सरकारले नागरिकलाई सहज रूपमा सेवा उपलब्ध गराउने उद्देश्यका साथ अघि बढाएका राष्ट्रिय गौरवका आयोजना समयमा पूरा नहुँदा लागत र समय दुवै बढेको छ । भौतिक पूर्वाधार तथा यातायात व्यवस्था मन्त्रालय मातहत विभिन्न छवटा राष्ट्रिय गौरवका आयोजना छन् ।

ती आयोजना समयमै सम्पन्न हुन नसक्दा राज्यको दायित्व हरेक वर्ष बढ्दै गएको हो । मन्त्रालय मातहतको कालीगण्डकी करिडोर(बेनी–जोमसोम योजना) आयोजना आर्थिक वर्ष २०७३/०७४ मा सुरु भएको हो । आयोजना  २०८१/०८२ मा सम्पन्न गर्ने लक्ष्य राखिएको छ ।

आयोजनाको कुल लागत १० अर्ब ५७ करोड रहेको छ तर हालसम्मको भौतिक प्रगति ७३ प्रतिशत रहेको छ । बाँकी रहेको एक सय दुई किलोमिटरमा कालोपत्र र दुईवटा पुलको ठेक्का व्यवस्थापन हुन बाँकी छ । आयोजनामा कुल पुल संख्या ३२ छन् । सडक खण्डमध्ये एक सय किलोमिटर कालोपत्र भएको छ ।

कर्णाली करिडोर हिल्सा सिमीकोट सडक २०६९/०७० देखि सुरु भएको र २०८३/०८४ मा सम्पन्न गर्नुपर्ने लक्ष्य छ । आयोजनाको कुल लागत छ अर्ब ६६ करोड बराबर छ तर भौतिक प्रगति २४ प्रतिशत र वित्तीय प्रगति २०.२१ प्रतिशतमात्रै छ ।

उत्तर दक्षिण राजमार्ग कालीगण्डकी करिडोर गैंडाकोट राम्दी मालढुंगा खण्ड २०६६/०६७ मा सुरु भएकोमा २०८३/०८४ मा सम्पन्न गर्ने लक्ष्य राखिएको छ । आयोजनाको कुल लागत २५ अर्ब २२ करोड रहेको छ तर हालसम्मको भौतिक प्रगति ४५ र वित्तीय प्रगति ४३ प्रतिशतमात्रै रहेको छ । आयोजनामा कुल ५७ पुल निर्माण गर्नुपर्नेमा हालसम्म ३० वटामात्रै भएका छन् । सडक खण्ड कुल दुई सय ४५ किलोमिटर रहेकोमा एक सय ७७ किलोमिटरमात्रै कालोपत्र भएको छ ।

त्यस्तै, उत्तर दक्षिण कोशी सडक योजना खाँदबारी किमाथांका २०६५/०६६ मा सुरु भई २०८३/०८४ मा सम्पन्न गर्ने लक्ष्य राखिएको छ । आयोजनाको कुल लागत ११ अर्ब ९३ करोड छ । तर, हालसम्मको भौतिक र वित्तीय प्रगति ४२ प्रतिशतमात्रै रहेको छ । आयोजनामा कुल २१ पुल निर्माण गर्नुपर्नेमा हालसम्म ११ वटामात्रै निर्माण भएका छन् भने कुल एक सय ६२ किलोमिटर रहेकामा आर्थिक वर्ष २०७९/०८० मा ७४ किलोमिटरमात्रै ग्राभेल भएको छ ।

२०६६/६७ देखि सुरु भएको हुलाकी राजमार्ग पनि चालु आर्थिक वर्ष सम्पन्न गर्ने लक्ष्य राखिएकोमा कार्य प्रगति सन्तोषजनक नभएपछि २०८३/०८४ मा सम्पन्न गर्ने लक्ष्य राखिएको छ । उक्त आयोजनाको लागत ६५ अर्ब २० करोड, भौतिक प्रगति ९१ र वित्तीय प्रगति ९१ प्रतिशतमात्रै रहेको छ भने हालसम्म ५९ अर्ब ६५ करोड बराबर खर्च भएको छ । आयोजनामा कुल दुई सय ५० पुल निर्माण गर्नुपर्नेमा एक सय ३२ वटा सम्पन्न भएका छन् भने एक हजार ३९ किलोमिटर सडक निर्माण भएको छ । कुल एक हजार आठ सय ५७ किलोमिटर निर्माण गर्नुपर्नेछ ।

पुष्पलाल मध्य पहाडी राजमार्ग २०६४/०६५ मा सुरु भई २०७९/०८० सम्पन्न गर्नुपर्नेमा निर्माण पूरा नभएपछि २०८४÷०८५ सम्म लम्ब्याइएको छ । आयोजनाको कुल लागत ८४ अर्ब ३३ करोड रहेकोमा हालसम्म भौतिक प्रगति ७२.७० र वित्तीय प्रगति ७६.८० प्रतिशतमात्रै रहेको छ । हालसम्म आयोजनामा ६४ अर्ब ७६ करोड बराबर रकम ‘मोबिलाइजेसन’ पेस्कीसमेत गरेर खर्च भएको छ । आयोजनामा कुल एक सय ३७ पुल निर्माण गर्नुपर्नेमा एक सय दुईवटामात्रै निर्माण भएका छन् । मन्त्रालयका अनुसार २०७९/०८० को अन्त्यसम्म एक हजार चार सय दुई किलोमिटर बराबर सडक निर्माण पूरा भएको छ । सो आयोजनाको कुल लम्बाइ एक हजार आठ सय ७९ किलोमिटर छ । एक सय १६ किलोमिटर सडक र १५ वटा पुलको ठेक्का व्यवस्थापन हुन बाँकी छ ।

राष्ट्रिय गौरवका आयोजनाको भौतिक प्रगति गत आर्थिक वर्षभन्दा बढी भए पनि पूर्ण रूपमा सन्तोषजनक नभएको भौतिक पूर्वाधार तथा यातायात मन्त्रालयले जनाएको छ । मन्त्रालयअन्तर्गतका आयोजनाको समीक्षा बैठकमा मन्त्री प्रकाश ज्वालाले राष्ट्रिय गौरवका आयोजना, रूपान्तरणकारी योजना र अन्य महत्वपूर्ण योजनालाई युद्धस्तरमा अघि बढाउन निर्देशन दिनुभएको छ ।

वर्षौं पहिले निर्माण सुरु भएका आयोजना पटक–पटक म्याद थप्दा पनि नसकिँदा नागरिकमा गलत सन्देश गएको भन्दै उहाँले यो वा त्यो बहानामा निर्माण कार्य ढिला नगर्न निर्देशन दिनुभएको हो । राष्ट्रिय योजना आयोगका उपाध्यक्ष डा. मिनबहादुर श्रेष्ठले राष्ट्रिय गौरवका आयोजनामा अपेक्षित प्रगति नहुँदा राज्यले गरेको लगानी र त्यसबाट प्राप्त हुने प्रतिफल नागरिकस्तरमा पुग्न नसक्दा असन्तुष्टि बढेको बताउनुभएको थियो ।

Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments

रिलेटेड न्युज

छुटाउनुभयो कि ?