सरकारमाथि खनियो एमाले :

कार्यशैलीमाथि गम्भीर प्रश्न, मुलुकमा संकट निम्त्याएको आरोप

डिबी शर्मा
Read Time = 14 mins

काठमाडौं । प्रमुख प्रतिपक्षी नेकपा (एमाले)ले सरकारको कार्यशैलीमाथि गम्भीर प्रश्न उठाएको छ । पार्टी केन्द्रीय कार्यालय च्यासलमा आइतबार पत्रकार सम्मेलन गर्दै एमालेले सरकारको कार्यशैलीमाथि गम्भीर प्रश्न उठाएको हो । वर्तमान सरकार बनेसँगै मुलुकमा राजनीतिक विकृति, आर्थिक संकट, मुलुकको आन्तरिक मामिलामा बाह्य हस्तक्षेप र समाजमा अराजकता बढेको एमालेको ठहर छ । सरकारले संवैधानिक प्रावधानहरूमाथि पनि हस्तक्षेप गरेको एमालेले आरोप लगाएको छ । ‘वर्तमान गठबन्धनको सरकार बनेसँगै मुलुकमा राजनीतिक विकृति, संवैधानिक प्रावधानहरू माथिको हस्तक्षेप, आर्थिक संकट, मुलुकको आन्तरिक मामिलामा बाह्य हस्तक्षेप र समाजमा अराजकता झनै सघन बन्दै गएको छ,’ पत्रकार सम्मेलनपछि एमालेले जारी गरेको विज्ञप्तिमा भनिएको छ । सरकारले निश्चित व्यवसायीहरूको स्वार्थ र उनीहरूकै व्यक्तिको अवैध उपस्थितिमा करका दरहरू हेरफेर गरेको एमालेले दोहोर्‍याएको छ । ठूला ठेक्कापट्टालगायत राज्यका साधनस्रोतहरू निश्चित व्यवसायीहरूको स्वार्थमा दोहन गर्न छुट दिएको एमालेको आरोप छ । आर्थिक संकटले व्यवसायीहरू हतास भएको र सिंगो समाजमा नैराश्यता बढिरहेको एमालेको ठहर छ । यी विषयलाई गम्भीरतापूर्वक लिँदै समाधानका लागि आवश्यक कदम चाल्नुको साटो सरकार विपक्षीहरूप्रति प्रतिशोध साँध्ने, कुप्रचार गर्ने र अपराधहरूलाई ढाकछोप गर्ने बाटोमा उद्यत् रहेको एमालेको आरोप छ ।

 सुन तस्करीमा सरकारको उच्च नेतृत्व नै संलग्न, उच्चस्तरीय समितिको नाम सुन्दा तर्सिन्छ

एमालेले सुन तस्करीमा सरकारको उच्च नेतृत्व नै संलग्न रहेको आरोप लगाएको छ । भ्रष्टाचार र तस्करीमा सरकारकै नेतृत्व मुछिएको एमालेले आरोप लगाएको हो । सरकारको सर्वाधिक कडा सुरक्षा प्रबन्ध रहेको भनिने अन्तर्राष्ट्रिय विमानस्थलबाट राजनीतिक र प्रशासनिक संरक्षण, मिलेमतो र संलग्नताबिना यति ठूलो परिमाणमा बारम्बार सुन तस्करी हुने सम्भावना नै नरहेको एमालेको निष्कर्ष छ । सुन प्रकरणमा सरकारले देखाएको लाचारी, बदमासीको उच्चस्तरीय समितिमार्फत् न्यायिक छानविन हुनुपर्ने अडान एमालेले दोहोर्याएको छ । करिब सय किलो सुन प्रकरणको छानविन गर्न उच्चस्तरीय समिति बनाउनुपर्ने माग गर्दै एमालेले दुई सातादेखि संसद् अवरुद्ध गर्दै आएको छ ।

 एमालेले सय किलो सुन तस्करीबारे उच्चस्तरीय छानविन समिति बनाउने भन्दा सरकार तर्सिने गरेको आरोप लगाएको छ । एमाले अध्यक्ष ओलीले उच्चस्तरीय स्वतन्त्र र निष्पक्ष छानविन समितिको नाम सुन्दा सरकार तर्सिने गरेको आरोप लगाउनुभयो । ‘चोरको खुट्टा काट् भन्दा उचालेजस्तै सरकार उच्चस्तरीय समितिको नाम सुन्दा तर्सन र नबनाउने भन्दै छ । हामी सदन खुलाउन तयार छौँ तर, सरकार हाम्रा कुरा सुन्न तयार छैन,’ उहाँले भन्नुभयो, ‘सुन तस्करीमा सत्ताधारी नेतृत्वको संलग्नताको पुष्टि हुन्छ । यो माग पूरा नभएसम्म हामी निरन्तर दबाब बढाउने पक्षमा छौँ ।’

 एमाले अध्यक्ष ओलीले तत्कालीन ३३ किलो सुन प्रकरणको छानविन गरेर आफूले निष्कर्षमा पु र्याएको दाबी गर्नुभयो । ३३ किलो सुन काण्डका सबै अभियुक्तहरू जेलमा रहेको ओलीको भनाइ थियो । ‘हाम्रो सरकार बन्नुभन्दा अगाडि अनेक सुनहरू उताबाट आउने उता जाने भएको रहेछ, हामीले छानबिन समिति बनायौं, सुन त भेटिएन, अरू कुराहरू भेटिएन,’ उहाँले भन्नुभयो, ‘त्यस कुरामा संलग्नहरू कारबाही गरियो । तिनीहरू अहिले पनि जेलमा छन् । सुन त बाहिर पठाइसक्यो, सुन त गायव गरिसक्या थियो ।’

 संसद् अवरुद्ध नगरेको दाबी

एमालेले संसद् अवरुद्ध नगरेको अध्यक्ष ओलीले दाबी गर्नुभयो । संसद् अवरुद्ध हुनु हुँदैन र अवरोधको स्थिति निम्त्याउनु हुँदैन भन्ने एमालेको मान्यता रहेको उहाँले बताउनुभयो । ‘संसद् अवरोध गर्नु हुँदैन, गर्ने परिस्थिति ल्याउनु हुँदैन । संसद् देश, जनताका लागि काम गर्ने थलो हो,’ उहाँले भन्नुभयो, ‘संसद् निदाएर बस्ने, सुतेर बस्ने ठाउँ होइन । संसद् चल्नुपर्छ । देश जनताको पक्षमा बोल्नुपर्छ ।’

सुन प्रकरणमा प्रतिपक्षीको आवाज दबाउन खोजिएको उहाँले आरोप लगाउनुभयो । ‘अहिले हामी संसद् चलाउन खोजिरहेका छौँ । तर, प्रतिपक्ष बोल्न उठ्नेबित्तिकै सत्तापक्ष सबै उठेर होहल्ला गर्ने, संसद्मा व्यवधान खडा गर्ने, बोल्न पनि नदिने, सिलसिलेवार चलिरहेको छ,’ उहाँले भन्नुभयो, ‘देशमाथि गम्भीर ढंगले प्रहार भइरहेको छ ।’

प्रधानमन्त्रीको राजीनामा माग

एमालेले घुमाउरो तरिकाले प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’को राजीनामासमेत माग गरेको छ । पत्रकार सम्मेलनमा एमाले अध्यक्ष केपी शर्मा ओलीले सांकेतिक रूपमा प्रधानमन्त्रीको राजीनामा माग गर्नुभयो । गृहमन्त्री नारायणकाजी श्रेष्ठ र अर्थमन्त्री डा. प्रकाशशरण महतले राजीनामा नगरेर पदमा बसिरहेको देख्दा आफू आश्चर्यमा परेको पनि दोहोर्याउनुभयो । ‘भ्रष्टताको चाङमाथि उभिएर प्रधानमन्त्रीलाई पनि यति अयोग्य, नालायक, भ्रष्ट सरकारको म नेतृत्व गर्छु भन्न अप्ठ्यारो हुनुपर्ने हो । उहाँले आफैँ राजीनामा गर्नुपर्ने हो,’ ओलीले भन्नुभयो, ‘गृहमन्त्री, अर्थमन्त्रीले त राजीनामा नगरेर कसरी बस्न सकेको ? जिम्मेवारी बिल्कुलै बहन नगरेर फेरि पनि मन्त्री भएर, राष्ट्रिय झण्डा हल्लाएर हिँड्न अप्ठ्यारो लाग्नुपर्ने होइन ?’

कांग्रेस सांसदको बचाउ

एमालेले नक्कली सर्टिफिकेट प्रकरणमा पक्राउ परेर छुट्नुभएका सत्तारूढ नेपाली कांग्रेसका सांसद सुनिल शर्माको बचाउ गरेको छ । एमाले अध्यक्ष ओलीले पटक–पटक शर्माको प्रसंग निकालेर बचाउ गर्नुभयो । शर्माले मन्त्रीको राजीनामाको कुरा उठाएकाले नै पक्राउ गरिएको ओलीले दोहोर्याउनुभयो । उहाँले यसअघि शनिबार पनि सांसद शर्माको बचाउ गर्नुभएको थियो । शर्मालाई समाउनै नहुने ओलीको तर्क थियो । ‘के सुनिल शर्मा जत्तिको, हस्पिटल चलाएको, मेडिकल कलेज चलाएको, अरू विभिन्न गतिविधिहरू गरिरहेको, एउटा जननिर्वाचित सांसद यस्ता कुरामा के देश छाडेर भाग्ला ? अनि हतारहतार उसलाई गिरफ्तार गरेर कारबाही गर्नुपर्ला’ उहाँले भन्नुभएको थियो । सोही कुरा उहाँले आइतबारको पत्रकार सम्मेलनमा समेत दोहोर्याउनुभयो । सुनकाण्ड छानविन गर् भन्दा सरकार जाली मुद्दा लगाउन थालेको ओलीको आरोप छ । उहाँले ३३ अर्बको सुन आयात भएको दाबी गर्दै एक अर्बको समातिएको दाबी गर्नुभयो । सुन प्रकरणमा गृहमन्त्री र अर्थमन्त्रीले राजीनामा दिनुपर्छ भन्दा शर्मालाई जाली मुद्दा लगाएर पक्राउ गरिएको ओलीको आरोप थियो । ‘जसरी सरकारले गठबन्धनकै सांसद बोलेमा समाइदिन्छु, थुन्दिन्छु भन्ने मात्र होइन, व्यवहारमा समाउने र थुन्ने, जाली मुद्दा लगाउने ?,’ उहाँले भन्नुभयो, ‘अहिले प्रमाणित नभएसम्म त्यो मुद्दा जाली नै हो । प्रमाणित भएछ भने भोलि अर्को रहेछ भनुँला । यस ढंगले अडान लिनुको पछाडि कारण के छ ? यो मासको दाल, त्यही पनि फलामको कराहीमा पकाएको कालो हुँदैन ? कालै छ ।’

 पूर्वराष्ट्रपति भण्डारी एमाले फर्किने भनेर समस्या ल्याउन खोजियो

निवर्तमान राष्ट्रपति विद्यादेवी भण्डारी राजनीतिमा आउने भनेर पार्टीभित्र समस्या ल्याउन खोजेको ओलीले बताउनुभयो । भण्डारी एमालेमा फर्कन लागेको हो ? भन्ने पत्रकारको जिज्ञासामा ओलीले पार्टीभित्र समस्या ल्याउन सकिन्छ कि भनेर कोसिस भएको टिप्पणी गर्नुभयो । ‘पार्टीभित्र समस्या ल्याउन सकिन्छ कि भनेर फेरि कोसिस भएको छ,’ ओलीले भन्नुभयो,’ ‘त्योभन्दा अगाडि नै हाम्रो नजिकको मित्र नै हुनुहुन्छ, उहाँ हाम्रो पार्टीको उपाध्यक्ष नै हो । हाम्रो पार्टीको आदरणीय व्यक्ति नै हो । त्यसमध्ये हामी कसैले भेट्नु ठूलो कुरा नै होइन । विष्णु पौडेल मात्र होइन, मैले पनि कुरा गरेको छु, अरूले पनि कुरा गर्नुभएको छ ।’

सरकारमा जाने रुचि छैन

एमाले अध्यक्ष ओलीले अहिले आफूहरूलाई सत्तामा जाने कुनै रुचि नभएको बताउनुभएको छ । आफूहरूले उठाएका प्रश्नको जवाफ सरकारले दिनुपर्छ मात्रै भनेको उहाँले बताउनुभयो । एमालेलाई अहिले सत्तामोह, सत्तालोलुपता नरहेको उहाँले स्पष्ट पार्नुभयो । ‘अहिले हामीले उठाएको प्रश्नको जवाफ सरकारले दिनुपर्छ भनेका हौँ । एमालेलाई सरकारमा रुचि छैन,’ उहाँले भन्नुभयो, ‘सरकारमा होइन जनताको र आर्थिक अवस्थाको हामीलाई चिन्ता छ । निर्माण व्यवसायी सडकमा उत्रनुपरेको छ । जनताका अनेक समस्या छन् । हामी तीबारे बोलिरहेका छौँ ।’

उहाँले देशको अर्थतन्त्र गम्भीर बन्दै गएकोमा चिन्ता व्यक्त गर्नुभयो । घरबेटीले बहाल उठाउन नसक्ने र डेरामा बस्नेले भाडा तिर्न नसक्ने अवस्था आउन सक्ने उहाँले बताउनुभयो । ‘अर्थतन्त्र डरलाग्दो गरी ओरालो लाग्दै छ । नेपालीहरूको आम्दानीले केही गर्न नसकिने अवस्था आउँदै छ,’ उहाँले भन्नुभयो, ‘भोलि यस्तो समय आउँदै छ, नेपालीको कमाइले डेरा भाडा तिर्न नसक्ने अवस्था आउँदै छ । भोलि भयावह स्थिति आउँदै छ । हामी सबै गम्भीर हुन जरुरी छ ।’ अर्थतन्त्रको समस्या समाधान गर्नेतर्फ सरकार उदासीन बनेको ओलीले आरोप लगाउनुभयो ।

Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments

रिलेटेड न्युज

छुटाउनुभयो कि ?