स्याङ्जामा ४ केन्द्रबाट ११४२ विद्यार्थीले दिए ग्रेडवृद्धि परीक्षा, सबैभन्दा बढी गणितमा

युवराज पौडेल स्याङ्जा, संवाददाता
Read Time = 3 mins

स्याङ्जा । शुक्रबार र शनिबार सञ्चालन भएको माध्यमिक शिक्षा परीक्षा पुरक (ग्रेडवृद्धि) मा स्याङ्जाका ११४२ विद्यार्थी सहभागी भएका छन् । ११८२ विद्यार्थीमध्ये सबैभन्दा बढी विद्यार्थी ८०३ ले गणित विषयको परीक्षा दिएका छन् भने गणितपछि अतिरिक्त गणित विषयमा २७६ जनाले ग्रेडवृद्धि परीक्षा दिएका छन् ।

अर्थशास्त्र विषयमा २६६ विद्यार्थी सहभागी भएको शिक्षा विकास तथा समन्वय इकाइ स्याङ्जाका प्रमुख विश्वराज आचार्यले बताउनुभयो । दुवै दिनमा गरेर १८९३ विद्यार्थीले परीक्षा दिएको र जम्मा ४० जना अनुपस्थित भएको आचार्यले बताउनुभयो । शुक्रबार र शनिबार दुवै दिन गरी सञ्चालन भएका परीक्षाका लागि सदरमुकामस्थित पुतलीबजार र वालिङ नगरपालिकामा ४ वटा परीक्षा केन्द्र तोकिएको थियो ।

‘यस वर्ष आँखा पाक्ने रोगको संक्रमण दिनप्रतिदिन बढ्ने क्रम जारी छ भने, अर्कोतर्फ, टाढा टाढाबाट परीक्षा दिन आउने परीक्षार्थीलाई सदरमुकामसम्म आउन कठिनाइ देखिएकाले दुई पालिकामा केन्द्र तोकेका हौ’, अधिकारी आचार्यले भन्नुभयो ।

यसअघिका परीक्षा भने पुतलीबजारमा मात्र हुने गर्थ्याे । यसपटक माथिल्ला भेगका पालिकाहरू फेदिखोला, आँधीखोला, पुतलीबजार, भीरकोट, अर्जुनचौपारी, बिरुवा, हरिनासका विद्यार्थीहरुले पुतलीबजारका २ परीक्षाकेन्द्रबाट परीक्षा दिए भने तल्ला भेगका वालिङ, गल्याङ, चापाकोट र कालीगण्डकीका विद्यार्थीले वालिङका २ परीक्षा केन्द्रबाट परीक्षामा सहभागी भएका थिए ।

वालिङमा पूर्णामृत भवानी माध्यमिक विद्यालय र पाइनिआज आवासीय माध्यमिक विद्यालयबाट तथा पुतलीबजारका त्रिभुवन आदर्श माध्यमिक विद्यालय र स्याङ्जा उच्च माध्यमिक विद्यालयबाट विद्यार्थीहरुले उक्त ग्रेडवृद्धि परीक्षा दिएको शिक्षा विकास तथा समन्वय ईकाइ स्याङ्जाका प्रमुख विश्वराज आचार्यले बताउनुभयो ।

Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments

रिलेटेड न्युज

छुटाउनुभयो कि ?