बालुवाटार जग्गा प्रकरणमा मेरो संलग्नता छैन : अध्यक्ष नेपाल

फाइल तस्बिर

हिमालय टाइम्स
Read Time = 6 mins

काठमाडाैं । नेकपा (एकीकृत समाजवादी) का अध्यक्ष एवं पूर्वप्रधानमन्त्री माधवकुमार नेपालले बालुवाटार जग्गा प्रकरणमा आफ्नो कुनै संलग्नता नरहेको स्पष्ट पार्नुभएको छ ।

सोमवार युरेपेली देशहरुको भ्रमण छोट्याएर स्वदेश फर्किनुभएका उहाँले त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा सञ्चारकर्मीहरुसँग कुरा गर्दै यस्तो बताउनुभएको हो । उहाँले आफूले सरकारको जग्गा सरकारकै नाममा हुनुपर्छ भनेर सफा मनशायले ७ रोपनी जग्गा सरकारको नाममा फिर्ता गरेको, र कसैलाई मुआब्जा नदिकन कानूनसम्मत ढंगले छुट्याएर काम गरेको बताउनु भयो ।

अध्यक्ष नेपालले आफू पूर्वनिर्धारित कार्यक्रममा सहभागी हुन जाने अघिल्लो दिन सर्वोच्च अदालतले आफूमाथि अनुसन्धान गर्न आदेश दिएको तर पूर्वनिर्धारित कार्यक्रममा गएपछि सञ्चारमाध्यमहरुले आफू भागेको भ्रम फैलाएको आरोप लगाउनु भयो । उहाँले आफू गोली हान्न लाग्दासमेत नभागेको भन्दै अनुसन्धान गर्नेकुराले नभाग्ने बताउनु भयो । उहाँले आफूले कुनै गलत काम नगरेको भन्दै चुनौतिको सामना गरेर अघि बढ्ने बताउनु भयो । उहाँले जग्गा प्रकरणको छानबिनमा आफ्नो सहयोग रहने बताउनु भयो ।

उहाँले भन्नुभयो, ‘कागताली कस्तो पर्‍यो भने म जानुभन्दा एकदिन पहिला सर्वोच्च अदालतबाट एउटा निर्णय भएको रहेछ । त्यो निर्णय भित्र ललितानिवासको जग्गाको सन्दर्भमा छानबिनको प्रक्रिया अघि बढाउनु भनेर लेखिएको थियो । त्यसमा कता कता म प्रधानमन्त्री भएको बेलामा पनि जग्गा सम्बन्धी निर्णय भएका थिए । त्यसैसँग जोडेर पत्रपत्रिकामा मेरो बारेमा समाचार आयो । कसैकसैले त माधव नेपाल भाग्यो भनेर पनि लेखे । माधव नेपाल माग्ने खालको मान्छे होइन भन्नेकुरा बुझ्नुपर्दथ्यो । गोली चल्ने बेलामा खाने बेलामा त नभाग्ने मान्छे बद्मासी र कुनै अपराध नगर्दा तर्सेर भाग्ने मान्छे माधव नेपाल हुँदै होइन । राजाले गिरफ्तार गर्न खोज्दा त नभाग्ने मान्ने म । तपाईहरु सबैलाई थाहा होला । सबै चुनौतिको सामना गर्ने मान्छे म, कुनै गल्ती, अपराध, भ्रष्टाचार नगरेको मान्छे म, कुनै सन्दर्भ छैन भन्न सकिन्छ, किनभने कानूनको प्रसेसअन्तर्गत सबै प्रक्रिया अघि बढ्छन् । प्रसेस अघि बढेको पनि छैन । मेरो पहिलादेखिकै निश्चित निर्धारित कार्यक्रममा जाने अवस्था बन्यो र म गएँ । स्वीजरल्याण्ड, स्पेन, क्रोशिया र युनाइटेड किङडम (युके) मा कार्यक्रम थियो । म यहाँबाट जाने बित्तिकै केहीले त माधव नेपाल भागे भनेर लेखे, लुकेर बसे, अब फर्किंदैनन् भने । तर मेरो बानी पनि चुनौति दिइसकेपछि तह लगाएरै छोड्ने भइसकेपछि म फर्किएँ । कुनै बदमासी गरेको छैन, अपराध, भ्रष्टाचार, लेनदेन गरेको छैन, त्यसैले म आत्तिएको छैन, तर चित्त दुखेको छ, केही गरौँ भन्यो के हुन्छ, केही गरेर देखाएको पनि हो । त्यसमा गर्व छ । बालुवाटारको प्रकरणमा पनि भन्ने हो भने निवासमा कोही जाने हो भने हेर्न र भन्नसक्छ । त्यो काम कुन प्रधानमन्त्रीको पालामा शुरु भयो भन्दा सम्भवतः मेरो नाम अग्रपंतिमा आउनेछ । केही बद्मासी भएको छ भने छानबिन होस् । मेरो सहयोगी भुमिका रहनेछ । तर मैले नितान्त असल मनशायले काम गरेको हुँ । सरकारी जग्गा र अन्य प्रकारको जग्गा कानूनसम्मत लाग्ने छुट्याएर गर्ने भनिएको हो । मेरो कुनै पनि गलत कार्यमा संलग्नता रहेको छैन । त्यो मनशायले कागजपत्र नभएपनि श्रेष्था कायम गरेर राम्रो गरेको हुँ । त्यो काम गर्दा सरकारी र अन्य प्रकारको जग्गा कानूनसम्मत ढंगले छुट्याएर गरिएको हो । बाटोमा पनि मुआब्जा कसैलाई नदिकन गरिएको हो । ७ रोपनी जग्गा फिर्ता लिएको हो । यसमा संलग्नहरुको पनि छानबिन होस् । मेरो संलग्नता यस्तोमा कुनै छैन ।’

अध्यक्ष नेपाल साउन २२ गते स्वीजरल्याण्ड, स्पेन, क्रोशिया र युनाइटेड किङडम (युके) लगायतका युरोपेली मुलुकको भ्रमणमा निस्किनुभएको थियो । तर साउन २१ गते सर्वोच्च अदालतले बालुवाटार जग्गा प्रकरणमा पूर्वप्रधानमन्त्री द्वय डा.बाबुराम भट्टराई र माधवकुमार नेपालमाथि पनि अनुसन्धान गर्न आदेश दिएको थियो । सोही प्रसंगपछि आफू विदेश जानु र अदालतको आदेश आउनु संयोग भएको र आफू पूर्वनिर्धारित कार्यक्रमअनुसार विदेश भ्रमणमा भएको बताउनु भएको हो ।

Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments

रिलेटेड न्युज

छुटाउनुभयो कि ?