अख्तियारले दायर गरेका मुद्दामा दोलखाका तत्कालीन प्रजिअ रिजाल दोषी ठहर

हिमालय टाइम्स
Read Time = 4 mins

काठमाडौं । दोलखाका तत्कालीन प्रमुख खगेन्द्रप्रसाद रिजाल भ्रष्टाचारका पाँचवटा मुद्दामा दोषी ठहर भएका छन् । विशेष अदालतले उनलाई मंगलबार कसुर ठहर गर्दै सजाय सुनाएको हो । विशेष अदालतका न्यायाधीशत्रय यमुना भट्टराई, शालिग्राम कोइराला र खुसीप्रसाद थारूको इजलासले रिजाललाई अख्तियार दुरुपयोग अनुसन्धान आयोगले एकसाथ दायर गरेका पाँच मुद्दामा कसुर ठहर गर्दै सजाय सुनाएको थियो ।

रिजालविरुद्ध माघ २०७६ माघ २० गते अख्तियार दुरुपयोग अनुसन्धान आयोगले पाँचवटा मुद्दा चलाएको थियो । ती सबै मुद्दामा उनी दोषी ठहर भएको फैसला विशेष अदालतले सुनाएको हो । रिजाललाई एउटा मुद्दामा एक वर्ष कैद र चार लाख रुपैयाँ जरिवाना तोकिएको छ । त्यही मुद्दामा उनलाई त्यति नै रकम बिगो असुलउपर गर्न पनि फैसला भएको छ ।
अदालतले तोकेको बिगोमा दुई लाख रुपैयाँ उनको बैंक खाताबाट जफत गरिनेछ । अन्य बाँकी दुई लाख उनले जम्मा गर्नुपर्ने भएको छ । रिजालले दोलखामा प्रजिअ हुँदा घुस लिएर भ्रष्टाचार गरेको प्रमाण भेटिएपछि अख्तियारले मुद्दा चलाएको थियो । जिल्ला प्रशासन कार्यालयले हेर्ने मुद्दाका प्रतिवादीलाई धरौटीमा रिहा गर्नका लागि रिजालले चार लाख रुपैयाँ घुस लिएका थिए ।

अभियुक्तलाई महिलासम्बन्धी मुद्दा लाग्ने र जागिर जानसमेतको डर देखाउँदै धरौटी रकमका रुपमा रिजालले चार लाख रुपैयाँ लिएको अख्तियारले ठहर गरेको थियो । अख्तियारको अनुसन्धानबाट रिजालले अर्को मुद्दामा पनि ३५ हजार रुपैयाँ घुस प्रमाण खुलेको थियो । उक्त घुस पनि उनले सजायको त्रास देखाएर लिएका थिए ।

यो मुद्दामा अदालतले दोषी ठहर गर्दै ३५/३५ हजार रुपैयाँ जरिवाना र बिगो भराउने फैसला सुनाएको छ । यसमा पनि उनलाई तीन महिना कैद सजाय हुने भएको छ । दोलखामै हुँदाको तेस्रो मुद्दामा उनले ९०/९० हजार रुपैयाँ बिगो र जरिवाना तिर्नुपर्ने भएको छ । यो मुद्दामा उनले पाँच महिना कैद भोग्नुपर्ने भएको छ । चौथो मुद्दामा पनि रिजाललाई ४०/४० हजार रुपैयाँ बिगो र जरिवाना तिराउने फैसला भएको छ । यसमा रिजालले एक महिना कैद भोग्नुपर्ने भएको छ । भ्रष्टाचारको पाँचौँ मुद्दामा दोषी ठहर भएका रिजालले पाँच महिना कैद र ७७ हजार ६०० जरिवाना तिर्नुपर्ने भएको छ । अदालतले ७७ हजार ६०० नै बिगो भराउने पनि फैसला गरेको छ । यी सबै मुद्दा अख्तियारले एकैदिन दर्ता गरेको थियो ।

Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments

रिलेटेड न्युज

छुटाउनुभयो कि ?