संसद् विघटन विल्कुल ठिक थियो, नत्र पार्टी ध्वस्त हुन्थ्यो : ओली

‘दक्षिणपन्थी, प्रतिक्रियावादीको सरकार बनाउन माधव नेपाल निकै गिरे’

नारायण भण्डारी
Read Time = 9 mins

काठमाडौं । नेकपा (एमाले)का अध्यक्ष केपी शर्मा ओलीले २०७७ पुस ५ गते संसद् विघटन नगरेको भए पार्टी ध्वस्त हुने बताउनुभएको छ । मंगलबार काठमाडौंको जोरपाटीमा बागमती प्रदेशस्तरीय कार्यकर्ता प्रशिक्षणमा बोल्दै उहाँले संसद् विघटन गरेर सही गरेको निष्कर्ष सुनाउनुभएको हो । ‘हामीले पुस ५ गते संसद् विघटनको सिफारिस गर्‍यौँ । हामीले ठिक ठानेर गर्‍यौँ । ठिक भनेर गर्‍यौँ । ठिक थियो र गर्‍यौँ । नगरी नहुने थियो र गर्‍यौँ । विल्कुलै समसामयिक कदम चाल्यौँ,’ उहाँले भन्नुभयोे, ‘यो नगरेको भए हाम्रो आन्दोलन ध्वस्त हुन्थ्यो । ध्वस्त पार्ने षड्यन्त्र भएको थियो । हामीलाई झुण्ड्याउन जुन डोरी उनीहरूले तयार गरेका थिए । त्यसलाई हामीले छिनालिदियौँ । पुस ५ गतेको कदम भनेको त्यही हो । हामीलाई मार्न जुन डोरी बनाएका थिए, त्यो डोरी हामीहरूले काटिदियौँ ।’

षड्यन्त्र छिनेपछि तत्कालीन पार्टी अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’लगायत नेताहरू आत्तिएको बताउनुभयो । उनीहरूलाई पहिल्यैदेखि प्रतिनिधिसभा भंग हुने डर रहेको पनि अध्यक्ष ओलीले बताउनुभयो । प्रतिनिधिसभा पुनःस्थापना हुँदा पनि केही नबिग्रिएको र संगठन, वामपन्थी आन्दोलन ध्वस्त बनाउने प्रयास विफल बनाइएको ओलीको दाबी थियो । ‘संगठन, वामपन्थी आन्दोलन ध्वस्त बनाउन कुसुलेहरूले पुतली नचाइरहेका थिए । ती कुसुलेहरूलाई पनि बडा धक्का पर्‍यो,’ उहाँले भन्नुभयो । नेकपा विग्रह उत्कर्षमा पुगेपछि २०७७ पुस ५ गते तत्कालीन प्रधानमन्त्री केपी शर्मा ओलीले पहिलोपटक संसद् विघटन सिफारिस गर्नुभएको थियो । तर, अदालतले असंवैधानिक ठहर गर्दै फागुन ११ गते पुनःस्थापना गरेको थियो । ओलीले २०७८ जेठमा पनि संसद् विघटनको सिफारिस गर्नुभएको थियो । त्यसलाई पनि अदालतलाई उल्ट्याउँदै कांग्रेस सभापति शेरबहादुर देउवालाई प्रधानमन्त्री बनाउने गरी परमादेश दिएको थियो । संसद् विघटन, राजनीतिक, संसदीय र संवैधानिक कदम भएको ओलीको जिकिर थियोे ।

ओलीले दक्षिणपन्थी सरकार बनाउन एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपाल निकै तलसम्म गिरेको बताउनुभयो । ‘विचरा माधव नेपाल नाम त नलिए हुने हो । यो आन्दोलन समाप्त पार्नका निम्ति यति तल गिरे । अदालत गए । कहाँ गएनन् ? के गरेनन् ? प्रतिक्रियावादी, दक्षिणपन्थी सरकार बनाए । दुईतिहाइ कम्युनिष्ट पार्टीको सरकार ढालेर,’ उहाँले भन्नुभयोे, ‘यो पार्टीमा बस्दाबस्दै, यसको वरिष्ठ नेता हुँदाहुँदै, पछाडिको सिटमा बसेर, पछाडिको ढोकाबाट घोसेमुन्टो लगाएर लुसुक्क गएर हाम्रो सरकार गिराउन पुगे । दक्षिणपन्थी सरकार बनाउन कहाँसम्म गिरेका ?’

उहाँले प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’, एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपालको नाम नलिई दक्षिणपन्थीको झोले भएको आरोप लगाउनुभयो । ‘एउटा शब्द छ झोले । उनीहरूले हामीलाई झोले भन्छन् । वामपन्थीको झोला बोकेर दक्षिणपन्थीको झोला बोकेर कुदेको छ तिनलाई भन्छ झोले, देख्दाका वामपन्थी, नामका वामपन्थी, साइनबोर्डका वामपन्थी, स्वार्थको झोला बोकेका छन् दक्षिणपन्थीको, शब्द अलि नराम्रो लाग्छ, नाम नलिई मिलाएर बुझ्नुहोला,’ उहाँले प्रशिक्षणमा भन्नुभयो ।

भीम रावल र ओलीबीच लामो समयपछि भेटवार्ता
लामो समयदेखि पार्टीका गतिविधिमा निष्क्रिय रहेका नेता भीम रावलले नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीसँग भेटवार्ता गर्नुभएको छ । मंगलबार ललितपुरको पार्टी कार्यालय च्यासलमा उहाँहरूबीच भेटवार्ता भएको हो । भेटपछि भीम रावलले पत्रकारहरूसँग छोटो कुराकानी गर्दै देशको स्थितिबारे छलफल भएको बताउनुभएको हो । उहाँले आ-आफ्ना विचारहरू राख्ने र सामान्य कुराकानी भएको जानकारी दिनुभयो । ‘हाम्रोबीच भेट नभएको धेरै भएको थियो । र, आज भलाकुसारी गर्‍यौँ । के छ, कस्तो छ, र अहिले देशको स्थिति, पार्टीको अवस्था के छ, कस्तो छ । यसमा हाम्रा सोच दृष्टिकोणहरू के छ । त्यसमा सामान्य कुराकानी भयो । अब फेरि कुराकानी गर्ने भन्ने भयो,’ उहाँले भन्नुभयो । रावललाई जिम्मेवारी दिनेबारे के छलफल भयो ? भन्ने पत्रकारले प्रश्न गरेका थिए । त्यसबारे उहाँले भन्नुभयोे, ‘होइन । हामीले अघि नै भनेका थियौँ । धेरै लामो समयपछि भेटघाट भएको हो । अब उहाँ पार्टीको अध्यक्ष, अध्यक्षसँग धेरै देश-विदेशको बारेमा जानकारी हुन्छ । सूचना हुन्छ । अब म पनि अध्ययन गरिरहेको मान्छे । आफ्ना विचारहरू अहिलेको स्थिति के छ, कस्तो छ भन्ने कुराकानी भयो । अब फेरि कुराकानी गरौँला भन्ने भयो । यति मात्रै भयो ।’

एमालेले मणि थापासँग सोधपुछ गर्ने
नेकपा (एमाले)ले स्थायी कमिटी सदस्य मणि थापासँग सोधपुछ गर्ने भएको छ । सोमबार बसेको पार्टी सचिवालयको बैठकले पछिल्लो समय पार्टी गतिविधिबाट निष्क्रिय बसेका थापासँग सोधपुछ गर्ने निर्णय गरेको हो । ‘उहाँ महाधिवेशनयता नै पार्टी काममा सक्रिय हुनुहुन्न,’ एक पदाधिकारीले भन्नुभयोे, ‘उहाँलाई पार्टी महासचिव शंकर पोखरेलले सोधपुछ गर्नुहुने छ ।’ मणि थापा पार्टी नेतृत्वसँगै असन्तुष्ट रहेपछि पार्टीको जिम्मेवारीमा बिदा जनाएर बस्नुभएको छ । उहाँले फागुनमा सुरु भएको ‘मिसन ग्रासरुट’ अभियान अगाडि नै आफू बिदामा बस्न चाहेको बताउनुभएको थियो ।

नयाँ कामका लागि एमालेबाट बिदा लिएँ : स्थापित
गत स्थानीय निर्वाचनमा काठमाडौं महानगरपालिकाको मेयरका प्रत्यासी केशव स्थापितले नेकपा (एमाले) को केन्द्रीय कमिटीबाट बिदा लिनुभएको छ । एमालेको सोमबार बसेको सचिवालय बैठकले उहाँसहित सिराहका प्रमोद यादवलाई बिदा दिने निर्णय गरेको छ । ‘म केही समय अनुसन्धानमा सक्रिय हुन्छु, राजनीतिमा सक्रिय हुनुपर्दा त्यो पाटो छुटेको छ,’ स्थापितले भन्नुभयो । तर, उहाँले जीवन नै एमालेमा व्यतित भएकाले पार्टीबाटै अलग भएको भन्ने कुरा स्वीकार गर्नुभएन । ‘मैले भनेँ नि, अध्ययन, अनुसन्धानमा सक्रिय हुन्छु । केन्द्रीय कमिटीबाट पो बिदा लिने भनेको त, पार्टीबाट होइन नि’ उहाँले भन्नुभयो । उहाँले जीवनमा नयाँ-नयाँ काम गर्नुपर्ने भन्दै अहिले यसैका लागि केन्द्रीय सदस्यको भूमिकाबाट अलग भएको धारणा राख्नुभयो ।

Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments

रिलेटेड न्युज

छुटाउनुभयो कि ?