१६ करोड खर्चेर बनाएको विमानस्थलमा उडेनन् जहाज

‘राज्यको लगानीको सदुपयोग भएको छैन भने नागरिकले सेवासमेत पाउन सकेका छैनन्’

डम्बर बोहरा बैतडी, संवाददाता
Read Time = 5 mins

बैतडी । बैतडीको पाटन विमानस्थलमा डेढ वर्षदेखि हवाई उडान बन्द रहेको छ । डेढ वर्षयता पाटन विमानस्थलमा व्यावसायिक उडान नहुँदा झण्डै १६ करोडका संरचनाहरू प्रयोगविहीन बनेका छन् । प्रत्येक बिहीबार पाटन-धनगढी उडान गर्दै आएको समिट एयरले २०७८ चैत १० गते अन्तिम उडान भरेको थियो । त्यसयता पाटन-धनगढी कुनै उडान हुन सकेको छैन । यात्रु अभावको कारण देखाउँदै उडान भर्न नसकिने यसअघि नै बताइसकेको छ ।

तीन वर्षअघि परीक्षण उडान सफल भएपछि खुसी भएका स्थानीयहरू डेढ वर्षयता पाटन विमानस्थलमा जहाज नआउँदा करोडौंका संचरनाहरू प्रयोगविहीन बनेका पाटन नगरपालिका-६ का स्थानीय उत्तम सिंह भण्डारीले बताउनुभयो । यहाँको आन्तरिक धार्मिक पर्यटन प्रवद्र्धन र व्यापार व्यवसाय फस्टाउने अपेक्षा भए पनि सञ्चालनमा आएको एक वर्षमै विमानस्थल बन्द हुँदा हवाई सेवाबाट वञ्चित हुनुपरेको उहाँले जानकारी दिनुभयो । ‘आर्थिक विकासको अपेक्षा थियो तर डेढ वर्षदेखि विमानस्थलमा जहाज आएको छैन । सरकारले नियमित हवाई सेवा सञ्चालनका लागि भूमिका खेल्नु जरुरी छ,’ उहाँले भन्नुभयो ।

तीन वर्षअघि ११ करोड रुपैयाँ खर्च गरेर २० मिटर चौडाइ र ५८० मिटर लम्बाइ रहेको विमानस्थलको धावनमार्ग कालोपत्रे गरिएको थियो । त्यसपछि पाँच करोड खर्च गरेर टर्मिनल भवन निर्माणको कामसमेत सम्पन्न भइसकेको छ । विमानस्थल सञ्चालनमा आएमा बैतडीसँगै दार्चुलाका नागरिकहरूले सेवा पाउने भए पनि बन्द हवाई सेवा सञ्चालनका लागि कसैले चासो नदिएको पाटन नगरपालिका-९ का अर्का स्थानीय कृष्ण सिंह भाटले बताउनुभयो । ‘पाटन नगरपालिकाभित्र पनि थुपै्र पर्यटनको सम्भावना छ । जसले गर्दा यहाँको आर्थिक समृद्धि हुन्छ,’ भाटले भन्नुभयो, ‘जति सकिन्छ छिटो हवाई सेवा सञ्चालनमा ल्याउनुपर्‍यो ।’

नियमित उडान नहुने र भाडा पनि महँगो भएको हुनाले यात्रु पाउन मुस्किल हुने गरेको सेवाग्राहीको भनाइ छ । भाडा समायोजन गरी यात्रुहरूको सहजताका लागि नियमित उडान भर्नुपर्ने अर्का स्थानीय भागरथी भट्ट बताउनुहुन्छ । ‘१७ मिनेटको हवाई दूरीमा चारदेखि पाँच हजार भाडा धेरै हो, समायोजन गरेर नियमित सञ्चालन गर्न सके सहज हुन्थ्यो, यात्रु पनि भेटिन्छन्,’ उहाँले भन्नुभयो ।

विमानस्थल सञ्चालनमा नआउँदा राज्यको लगानीको सदुपयोग भएको छैन भने नागरिकले सेवासमेत पाउन सकेका छैनन् । जहाज नआउँदा विमानस्थलको धावनमार्गमा स्थानीयहरूले टिकटकसमेत बनाउने गरेका छन् । नगर उपप्रमुख कमलसिंह बोहराले हवाई उडान सेवा सञ्चालन गर्न नागरिक उड्डयन मन्त्रालयसँग समन्वय गरिरहेको बताउनुभयो । हवाई उडान बन्द हुँदा बैतडीबाट आकस्मिक रूपमा प्रदेश राजधानी धनगढी जाने यात्रु र बिरामी समस्यामा परेको बताउँदै उपप्रमुख बोहराले नेपाल एयरलाइन्सले नियमित उडान भर्ने गरी समन्वय भइरहेको जानकारी दिनुभयो ।

द्वन्द्वकालका बेला विमानस्थलका संरचनामा आगजनी गरी ध्वस्त भएपछि २०५२ सालयता पूर्ण रूपमा विमानस्थल बन्द रहेको थियो । २६ वर्षपछि २०७७ असोज १७ गते समिट एयरले नै परीक्षण उडान गरेको थियो । २०३६ सालदेखि २०५२ सालसम्म नियमित उडान हुने पाटन विमानस्थल द्वन्द्वका बेला बन्द भएको थियो । तर, २६ वर्षपछि २०७७ सालबाट सञ्चालनमा आए पनि यात्रु अभावको कारण देखाउँदै त्यसको एक वर्षपछि २०७८ चैत १० गतेयता व्यावसायिक उडान हुन सकेको छैन ।

Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments

रिलेटेड न्युज

छुटाउनुभयो कि ?