व्यावसायिक अदुुवा खेती गर्दै पाल्पाका महिला, राम्रो आम्दानी हुन थालेपछि उत्साहित

रामचन्द्र रायमाझी पाल्पा, संवाददाता
Read Time = 9 mins

पाल्पा । जिल्लाका ग्रामिण महिलाहरु यतिबेला व्यावसायिक अदुवा खेतीमा रमाई रहेका छन् । घरभित्रको चुलो चौको, पानी, पधेरी, मेलापर्ममा मात्रै सीमित बन्दै आएका महिलाहरू अदुवा व्यवसायमा लागेका हुन । सीमित महिला पनि पुरुष जस्तै पेसा व्यवसाय गरेर मनग्ये आम्दानी गर्न थालेपछि गाउँमा महिला हिंसा भएका घटनासमेत त्यति सुनिन्दैनन् । गाउँमा गठन भएका महिला समूहमा उनीहरूले आफ्नो क्षमता र रुचि अनुसारको व्यवसाय छनोट गरी तालिमसमेत लिएर एक्लै तथा सामूहिक रूपमा व्यावसायिक अदुवा खेती गर्दै आएका छन् । उनीहरूलाई समूह गठनदेखि सचेतीकरण, तालिम र खेती प्रविधि व्यवसाय सञ्चालन तथा उत्पादित बस्तुको बजार व्यवस्थापन गर्न जिल्लामा क्रियाशिल गैरसरकारी संस्थाहरूले सहजीकरण गर्ने गरेका छन् ।

बगनासकाली गाउँपालिका–७ खानीगाउँस्थित अलैची टोलकी मिना कनौजेले झण्डै डेढ रोपनी जग्गामा व्यावसायिक अदुवा खेती गरिरहनुभएको छ । गत वर्ष मूल्य नपाउँदा पनि ३ क्विन्टल भन्दा बढी नयाँ अदुवा बिक्री गरी ८ हजार आम्दानी गर्नुभएको उहाँले यस वर्ष करिब ७० किलो बूढी अदुवाबाट मात्रै ११ हजार २ सय कमाई गर्नुभयो । अघिल्लो वर्ष ८ हजारको अदुवा विक्री गर्नुभएकी अर्की कृषक विनिश्वर कनौजेले पनि यस वर्ष १० हजार भन्दा बढीको विक्री गर्नुभयो । यहाँका महिला अलैची अदुवा कृषक समूह गठन गरी व्यवसायिक रुपमै लागेका छन् । समूहका १२ जना कृषक आवद्ध रहेका छन् ।

यस्तै खानीगाउँकै दोबाटोकी कृषक विमला गैरेले यस वर्ष बुढी अदुवा मात्र १२ हजारको विक्री गर्नुभयो । अर्की कृषक सीता विकले पनि बूढी अदुवा यस वर्ष १० हजारको विक्री गर्नुभयो । यहाँ पनि चडिस्थान अदुवा कृषक समूहमा आवद्ध १९ जना कृषहरुले व्यवसायी रुपमा अदुवा खेती गर्दै आएका छन् । उनीहरुले ४ हजारदेखि १२ हजारसम्म एक पटकमा अदुवा विक्री गर्ने गरेको समूहकी अध्यक्ष मिठु सुनारले बताउनुभयो । चापखोला अदुवा कृषक समूहका अध्यक्ष समेत रहनुभएका अर्का कृषक लेखनाथ न्यौपानेले साढे २ रोपनी क्षेत्रफलमा ५ क्विन्टल अदुवा लगाउनुभएको छ ।

उहाँले पनि यस वर्ष ४३ हजारको बूढी अदुवा विक्री गरिसक्नुभएको छ । चापखोला अदुवा कृषक समूहमा १७ जना कृषक आवद्ध छन् । उनीहरुले एकै पटकमा ५ हजारदेखि ४५ हजारसम्मको अदुवा विक्री गर्दै आएका छन् । झाक्रीस्थान अदुवा कृषक समूहमा पनि २४ जना कृषकहरु व्यवसायिक अदुवा खेतीमा लागेका छन् । यस वडामा रहेका चार वटा कृषक समूहलाई कारितास नेपालको आर्थिक सहयोग र गाउँपालिकाको प्राविधिक सहयोग रहेको छ । उनीहरुले २०७८ देखि सहयोग गर्दै आएका छन् । यहाँ एउटै वडाबाट ७ लाख ७३ हजार ३ सय ७० बराबरको अदुवा विक्री भएको छ । यहाँका चार वटा कृषक समूहले वार्षिक ३ लाख देखि ४ लाख बढीको अदुवा विक्री गर्दै आएका छन् । उनीहरुले आर्थिक वर्ष २०७८÷०७९ मा ४ लाख ४० हजार ५ सय ९० को नयाँ अदुवा विक्री गरेका छन् भने आर्थिक वर्ष २०७९/०८० मा ३ लाख ३२ हजार ७ सय ८० को बूढी अदुवा विक्री गरे । उनीहरुले ३ लाख ९६ हजार २ सय बराबरको अदुवा भने विउको रुपमा राखेका छन् ।

सुरुको वर्ष मूल्य नपाएर २५ रुपैयाँ प्रति केजीमा विक्री गरेका कृषकले यस वर्ष भने उचित मूल्य पाउँदा उत्साहित छन् । उनीहरुले बूढी अदुवा १ सय ६० प्रति केजीमा विक्री गरे । यस वर्ष मूल्य राम्रो भएकाले बूढी अदुवा विक्रीबाट ९२ हजार आम्दानी गरिएको अलैची अदुवा कृषक समूहकी अध्यक्ष विनिश्वर कनौजेले बताउनुभयो । उहाँका अनुसार अघिल्लो वर्ष ६७ हजारको मात्र नयाँ अदुवा विक्री भएको थियो । ‘पहिलो वर्ष मूल्य नहुँदा निरास बनेका थियौं, अहिले राम्रै मूल्य पाएकाले सबै बारीमा अदुवा लगाउनुपर्छ कि भन्ने सोच बनाएका छौं’ समूहकी अध्यक्ष कनौजेले भन्नुभयो । उहाँले स्थानीय सरकारले अदुवा भण्डार निर्माणमा सहयोग गरिदिए आफुहरुले उत्पादन गरेको अदुवा विग्रीन नपाउने र मूल्य समेत राम्रो पाउने बताउनुभयो । अध्यक्ष कनौंजेले कालितास नेपालले आर्थिक सहयोग गरिदिनुको साथै तालिम समेत दिएकाले आफुहरु व्यवसायिक रुपमा लाग्न प्रेरणा मिलेको बताउनुभयो ।

उहाँले भन्नुभयो ‘पहिले–पहिले गाउँका दिदी बहिनीहरु समूहमा बसेर अदुवा खेती गर्न मान्नुहुन्थेन, अहिले यसबाट राम्रो आम्दानी हुन थालेपछि भने सबै जना समूहमा बसेर काम गर्न उत्साहित हुनुभएको छ ।’ चापखोलाका कृषक लेखनाथ न्यौपानेले कालितासको सहयोगले नै आफुहरुले मनग्य आम्दानी गर्न सफल भएको बताउनुभयो । उहाँले अदुवामा किरा लाग्ने समस्या हुने र उत्पादनमा समेत बेला–बेलामा समस्या देखिने भएकाले स्थानीय सरकारले विषादी र माटो परीक्षणमा सहयोग गरिदिए राम्रो हुने बताउनुभयो । बनासकाली गाउँपालिकाकी अध्यक्ष सरस्वती चिदीले सबै वडामा छिट्टै माटो परीक्षण गरिने बताउनुभयो । उहाँले व्यवसायिक रुपमा कृषि गर्ने कृषकहरुका लागि स्थानीय सरकारले आवश्यक सहयोग गर्ने प्रतिवद्धता व्यक्त गर्नुभयो । यहाँ सुरुका वर्ष कारितास नेपालको ९० प्रतिशत र कृषकहरुको १० प्रतिशत लगानीमा अदुवा खेती सुरु गरिएको थियो । पछिल्लो वर्ष भने कारितासको ८० प्रतिशत र कृषकको २० प्रतिशत लगानी रहेको कालितास नेपालका कार्यक्रम संयोजक हरिश सिहं कुवरले बताउनुभयो । कारितासले कृषकहरुका लागि विउविज र प्राविधिक सहयोग समेत गर्दै आएको छ ।

बगनासकालीका ७, ८ र ९ वडामा अदुवाको व्यवसायिक खेती हुँदै आएको कार्यक्रम संयोजक कुवरले बताउनुभयो । यहाँका ३ वटा वडामा ८ कृषक समूहमार्फत १ सय ६१ कृषहरु आवद्ध रहेका छन् । कारितासले स्थानीय सरकारहरुको समन्वयमा बगनासकाली सहित जिल्लाको रिब्दीकोट गाउँपालिका र तानसेन नगरपालिकामा समेत अदुवाको कार्यक्रम गर्दै आएको छ । पछिल्लो समय कालितासले अदुवामा आर्थिक सहयोग गर्न थालेपछि कृषकहरु व्यवसायिक खेतीतर्फ आकर्षिकत हुँदै गएका छन् ।

Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments

रिलेटेड न्युज

छुटाउनुभयो कि ?