कारागारमा कैदी मृत्यु घटनाः इन्सेकद्वारा स्थलगत अध्ययन प्रतिवेदन सार्वजनिक

हिमालय टाइम्स
Read Time = 5 mins

विराटनगर । जिल्ला कारागार संखुवासभाका दुई जना कैदीको मृत्यु घटनाको इन्सेकले स्थलगत अध्ययन प्रतिवेदन सार्वजनिक गरेको छ । इन्सेक कोशी प्रदेश कार्यालयले साउन ३२ गते विराटनगरमा एक कार्यक्रम गरी घटनाको स्थलगत अध्ययन प्रतिवेदन सार्वजनिक गरेको हो । खाँदवारी नगरपालिका-१ स्थित हस्पिटल गेटमा रहेको जिल्ला कारागारका दुई जना कैदीको ०८० साउन २४ गते मृत्यु भएको घटनामा इन्सेक कोशी प्रदेश कार्यालयले साउन २६ गतेदेखि २८ गतेसम्म स्थलगत अध्ययन र अनुगमन गरेको थियो ।

स्थलगत अध्ययन र अनुगमनका आधारमा इन्सेकले साउन ३२ गते यातनाबाट कैदीको मृत्यु भएको निश्कर्षसहितको प्रतिवेदन सार्वजनिक गरेको हो । कारागारमा कैद भुक्तान गरिरहेका संखुवासभाकै मादी नगरपालिका-५ का १९ वर्षीय विनोद तोलांगी र नुवाकोट जिल्ला, ककनी गाउँपालिका-७ का २८ वर्षीय विकास श्रेष्ठ भनिने आकाश बलामीको साउन २४ गते मृत्यु भएको घटनाको इन्सेक कोशी प्रदेश कार्यालयले स्थलगत अनुगमन गरेको थियो ।

स्थलगत अनुगमन टोलीले पीडित परिवार, सरकार प्रतिनिधि, प्रत्यक्षदर्शीका भनाइ, छानविन समितिका पदाधिकारी, नागरिक समाज, राजनीतिक दलका प्रतिनिधि, पत्रकारलगायतसँग भेट गरी घटनाको स्थलगत अध्ययन र अनुगमन गरी विराट फर्किएर प्रतिवेदन सार्वजनिक गरेको इन्सेक कोशी प्रदेश प्रमुख सोमराज थापाले बताउनुभयो ।

स्थलगत अध्ययन प्रतिवेदनका आधारमा दुई जना कैदीको भाग्न खोजेको आरोपमा कारागार सुरक्षामा खटिएका सुरक्षाकर्मीले नियन्त्रणमा लिएपछि यातना दिएको र कारागारभित्र बुझाएपछि थप कुटपिटबाट कैदीको मृत्यु भएको आधारहरू भेटिएको प्रमुख थापाले बताउनुभयो ।
मादी नगरपालिका-५ का १९ वर्षीय विनोद तोलांगी र नुवाकोट जिल्ला, ककनी गाउँपालिका-७ का २८ वर्षीय विकास श्रेष्ठ भनिने आकाश बलामीको साउन २४ गते बिहान उपचारका क्रममा मृत्यु भएको घटना सार्वजनिक भएको थियो । भाग्न खोजेको आरोपमा प्रहरीले नियन्त्रणमा लिएका कैदीको अस्पतालमा मृत्यु भएको विषय शंकास्पद देखिएकाले इन्सेकले घटनाको स्थलगत अनुगमन गरेको इन्सेक कोशी प्रदेश प्रमुख थापाले बताउनुभयो ।

इन्सेक अनुगमन टोलीले मृतक विनोदका ३० वर्षीय दाजु प्रकाश तोलांगी, ५९ वर्षीया आमा खुलमाया तोलांगी, २८ वर्षीया दिदी भीमा रम्तेल, मृतक प्रकाश बलामीका ३५ वर्षीय दाजु रमेश बलामी, छिमेकी सञ्जीव कार्की, प्रत्यक्षदर्शी खादबारी नगरपालिका-१ की ३८ वर्षीया शारदा न्यौपाने बजगाई, गृहमन्त्रालयद्वारा गठित छानविन समिति संयोजक कमलप्रसाद पाण्डे, प्रमुख जिल्ला अधिकारी शिवकुमार कार्की, सहायक प्रमुख जिल्ला अधिकारी मोहनमणि घिमिरे, जिल्ला प्रहरी कार्यालयका डिएसपी वीरेन्द्र गोदार, कारागार प्रशासक राजेन्द्र घिमिरेलगायत सँग घटनाको विषयमा जानकारी लिएर अध्ययन प्रतिवेदन सार्वजनिक गरेको हो ।

घटनाको स्थलगत अनुगमन प्रतिवेदन सार्वजनिक गर्दै इन्सेकले सुझावसमेत दिएको छ । इन्सेकले घटनामा संलग्न रहेका सुरक्षाकर्मीलाई तत्कालै अनुसन्धानको प्रक्रिया ल्याउन, पीडित परिवारलाई उचित क्षतिपूर्ति प्रदान गर्न, घटनाको निष्पक्ष र वस्तुनिष्ठ छानविन गर्न, कारागारको आन्तरिक प्रशासनका नियम कानुन मानव अधिकारमैत्री बनाउन, देशभरका कारागारमा क्षमताभन्दा बढी कैदीबन्दी भएको विषयमा ध्यान पुर्‍याउन, कारागारमा स्रोत साधनको उचित व्यवस्था गर्नु र कागजमा सीमित खुला कारागारको अवधारणा कार्यान्वयन गर्न सरकारलाई सुझाव दिएको छ ।

Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments

रिलेटेड न्युज

छुटाउनुभयो कि ?