सुदूरपश्चिममा आज ‘ओल्के’ पर्व मनाइँदै, प्रदेशभर सार्वजनिक बिदा

भाेजराज रोस्यारा कैलाली, संवाददाता
Read Time = 2 mins

धनगढी। सुदूरपश्चिम प्रदेशमा आज ओल्के पर्व मनाइँदैछ । ओल्के पर्व सुदूरपश्चिमको मौलिक पर्व हो ।

साउने झरी सकिएलगत्तै प्राकृतिक प्रकोपबाट बाँचिएको खुशियालीमा सुदूरका पहाडी जिल्लामा ओल्के पर्व मनाउने चलन छ ।

ओल्को भन्नाले सम्मानित व्यक्तिलाई दिइने केही ‘उपहार’ वा ‘कोसेली’लाई जनाउँछ । आफूभन्दा ठूलाबडा, मान्यजन वा ज्येष्ठ नागरिकलाई सम्मानस्वरुप कर्कलाको भित्री पात, फलफूल आदि दिनु, मीठो–मसिनो खानु, हातमा मेहेन्दी लगाउनु यस पर्वको विशेषता रहिआएको छ ।

विगतमा वर्षा याममा दादुरा, झाडापखाला, लुतो, हैजा जस्ता रोग लाग्ने भएकाले त्यस्ता रोगबाट बाँचिएको खुशी साट्न ओल्के पर्व मनाउँदै आएको बताइएको छ ।

साउन महिनाको समाप्ति भइ भाद्र महिना प्रारम्भ भएसँगै ओल्के पर्वको दिनदेखि सुदूरपश्चिमवासीको जनजीवनमा गौरा र तीज जस्ता पर्वको रमझम पनि सुरु हुने गरेको छ ।

पौराणिक किंबदन्ती अनुसार यस पर्वमा बूढी अर्थात राक्षसी पुतनालाई भगवान श्रीकृष्णले मारेपछि उहाँका साथीहरु (ग्वालाहरु) ले पुतनाको शव दहन गरेको मान्यता अनुसार बूढी पोल्ने गरिन्छ ।

ओल्के पर्वलाई विभिन्न किसिमले मनाइने गरिए पनि यसको मूल सन्देश आपसी मित्रता र भाइचाराको गाँठो बलियो पार्नु रहेको छ ।

ओल्के पर्वको अवसरमा आज सुदूरपश्चिम प्रदेश सरकारले प्रदेश भर सार्वजनिक बिदा समेत दिएको छ ।

Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments

रिलेटेड न्युज

छुटाउनुभयो कि ?