सभामुखलाई प्रधानमन्त्रीको जवाफ- ‘म सदन खुलाउन भूमिका खेल्छु’

हिमालय टाइम्स
Read Time = 2 mins

काठमाडौं । संघीय संसदमा देखिएको अवरोध हटाउने विषयमा सभामुख देवराज घिमिरेले प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डसँग छलफल गर्नुभएकाे छ ।

शुक्रबार बिहान बालुवाटारस्थित प्रधानमन्त्रीको सरकारी निवासमा पुग्नुभएका सभामुख घिमिरेले प्रधानमन्त्री प्रचण्डसँग सदनको अवरोध हटाउने विषयमा छलफल गर्नुभएकाे हाे ।

आफ्नो पहलले सार्थक परिणाम नदिएको र शीर्ष दलहरुबीच पनि सहमति नभएको भन्दै सभामुख घिमिरेले सदनको अवरोध हटाउन भूमिका खेल्न प्रधानमन्त्रीलाई आग्रह गर्नुभयाे ।

‘सदन नचल्नु राम्रो भएन । माननीयहरुले बोल्न समय माग्नुभएको छ । प्राकृतिक विपत्ति लगायतका धेरै विषयमा माननीयहरुले बोल्न पाइनँ भन्नुहुन्छ । दलीय सहमतिबिना सदन अगाडि बढ्न सक्ने स्थिति छैन,’ सभामुख घिमिरेले भन्नुभयाे, ‘आम जनताले पनि सदन अवरोधलाई राम्रो मानेका छैनन् । कम्तिमा सदन खुलाउन सत्तापक्ष र प्रतिपक्षले गम्भीरतापूर्वक छलफल गरिदिनुहोस् । समितिको नेतृत्व चयन हुन सकेको छैन । संसदमा कानुन निर्माण भएनन् भन्ने गुनासो छ ।  सभामुखको रुपमा मैले सहमतिका लागि जिम्मेवारीपूर्वक पहल गरेको छु । तर, परिणाममा निस्किन सकेन । शीर्ष नेताहरु नै घण्टौं बस्दा पनि सहमति भएन ।’

जवाफमा प्रधानमन्त्री प्रचण्डले सदनको अवरोध अन्त्य गराउन आफूले भूमिका खेल्ने बताउनुभयाे । ‘म पनि सदन खुलाउन भूमिका खेल्छु । तपाईं पनि लाग्नुहोस् । छिट्टै सहमति गर्नैपर्छ । म प्रमुख विपक्षी दलको नेतासँग थप पहल गर्छु,’ प्रधानमन्त्री प्रचण्डले भन्नुभयाे ।

Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments

रिलेटेड न्युज

छुटाउनुभयो कि ?