ज्येष्ठ नागरिकका लागि दिवा खाजा र मनोरञ्जन

हिमालय टाइम्स
Read Time = 3 mins

-सरोज निरौला

उदयपुर । मादल, बाँसुरी, तबला र हार्माेनीजस्ता वाद्यवादनका सामग्री पनि छन् । हरेक दिन दिउँसो १ः०० बजेदेखि पाका उमेरका मानिस आउन थाल्छन् । ३ः०० बजेसम्ममा छत भरिभराउ भइसक्छन् ।

भेला भएका ज्येष्ठ नागरिक उनीहरूकै छनोटअनुसार चियासँग बिस्कुट र फलफूल खान्छन् अनि सुरु हुन्छ भजनकीर्तन र नाचगान ।

यो दृश्य हो त्रियुगा नगरपालिका १० नं वडा कार्यालयको । वडाध्यक्ष किरण पाण्डेले हरेक दिन दिउँसो एकल पुरुष-महिला र ज्येष्ठ नागरिकलाई खाजा खुवाउने, र मनोरञ्जन दिलाउन भजनकीर्तन गर्ने कार्यक्रम मिलाउनुभएकाे हाे ।

त्रियुगा नगरपालिका १० नं वडा कार्यालयले वार्षिक कार्यक्रम स्वीकृत गरेरै ज्येष्ठ नागरिक भेटघाट तथा दिवा खाजा कार्यक्रम सञ्चालनमा ल्याएको वडाध्यक्ष पाण्डेले बताउनुभयाे ।

वडाध्यक्ष पाण्डेले चालु आर्थिक वर्षको बजेट तथा नीति कार्यक्रममै यो कार्यक्रम स्वीकृत गराउनु भएकाे छ । वडाभित्रका सबै ज्येष्ठ नागरिक ज्येष्ठ नागरिकलाई खाजा खुवाउन दैनिक १५ सयका दरले हुन आउने मासिक ४५ हजार लाग्ने अनुमानसहित ‘ज्येष्ठ नागरिक दिवा खाजा कार्यक्रम’ शीर्षकमा ५ लाख ४० हजार रकम वडासभाबाट स्वीकृत गराएको वडाध्यक्ष पाण्डेले बताउनुभयाे ।

आगामी वर्ष संख्या यकिन गरेर बजेट थपघट गर्ने योजना सुनाउँदै पाण्डेले यो कार्यक्रम आफ्नो कार्यकाल (५ वर्ष) सम्म निरन्तर चलाउने बताउनुभयाे ।

अहिलेको व्यस्त समय, त्यसमाथि सहर बजारको ठाउँ छोराछोरी, परिवारका अन्य सदस्य काममा खट्नुपर्दा ज्येष्ठ नागरिक एक्लै टोलाएर बस्नुपर्ने, भेटघाट र कुराकानी गर्न नपाउँदा उकुसमुकुस हुने बाध्यता हटाउन यो कार्यक्रम सञ्चालन गरेको वडा सचिव कुमार अधिकारीले बताउनुभयाे ।

सचिव अधिकारीका अनुसार ज्येष्ठ नागरिकको दिवा खाजा कार्यक्रमका लागि बजेट, जनशक्ति र सामग्री वडाले व्यवस्था गरेको छ।

साउन १ देखि सुरु भएको यो कार्यक्रममा हरेक दिन पुरुष ३०-३५ र महिला ५०-६० गरी ८०-९० जनाको जमघट हुने गरेको छन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

रिलेटेड न्युज

छुटाउनुभयो कि ?