मिनरल वाटरमा बढी मूल्य असुली

हिमालय टाइम्स
Read Time = 3 mins

काठमाडौं । नेपाल बोटल वाटर उद्योग संघले खानेपानीको जार र बोतलमा सरकारले तोकेभन्दा बढी मूल्य नलिन आग्रह गरेको छ । पानीमा सरकारले तोकेभन्दा बढी मूल्य लिएको गुनासो आएको जनाउँदै बढी मूल्य नलिन सम्बद्ध व्यवसायीको ध्यानाकर्षण गराएको हो । संघद्वारा आयोजित पत्रकार सम्मेलनमा संघका अध्यक्ष धुव्र गौतमले बिचौलियाका कारण आमउपभोक्तालाई पानीको मूल्य सरकारले तोकेभन्दा बढी परेकोे बजार अनुगमनका क्रममा देखिएको बताउनुभयो ।

अध्यक्ष गौतमका अनुसार उपत्यकाभित्र जारको पानीमा बढीमा ४५ देखि ४७ रुपैयाँसम्म र बोतलको पानीमा प्रतिबोतल १६ रुपैयाँसम्म र उपत्यकाबाहिर जारको पानीमा ६० रुपैयाँसम्म र बोतल पानीमा प्रतिबोतल २० रुपैयाँसम्म पर्छ, त्यसभन्दा बढी मूल्यमा बेच्ने व्यापारीलाई कारबाही हुन्छ । संघले पानीको बजार अनुगमन गर्न संघका वरिष्ठ उपाध्यक्ष विक्रम लिम्बू चेम्जोङको संयोजकत्वमा बजार अनुगमन समिति बनाएर बजार अनुगमनको कार्य सुरु गरेको जनाएको छ ।

अनुगमन समितिले बजारमा रहेका थोत्रा जार, अधिकतम मूल्य, बिक्रेताको गुणस्तर परीक्षणको प्रमाणपत्र राखे, नराखेको, ट्रेडमार्क मिसयुज, उत्पादन मिति र उपभोग्य मितिलगायतका विषयमा अनुगमन गर्नेछ । यसअघि समितिले ५० भन्दा बढी उद्योगी तथा बिक्रेतालाई कारबाही गरिसकेको जनाएको छ । संघका सल्लाहकार गोकर्ण सिलवालले संघीय संसद्को उद्योग तथा वाणिज्य र श्रम तथा उपभोक्ता हित समितिले गरेको निर्णयका आधारमा पानीको मूल्य समायोजन भएको भन्दै समायोजन गरेकै मूल्यमा पानी खरिद गर्न आमउपभोक्तालाई आग्रह गर्नुभएको छ ।

हाल काठमाडौ उपत्यकाभित्र दैनिक दुर्ई लाख ५० हजार जार खपत हुँदै आएको छ । नेपालबाट आर्थिक वर्ष २०७९/०८० मा ६० करोड मूल्य बराबरको पानी विदेश निर्यात भएको संघले जनाएको छ । काठमाडौ उपत्यकाभित्र करिब दुई सय र देशभर पाँच सयभन्दा बढी पानी उद्योग रहेका छन् ।

Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments

रिलेटेड न्युज

छुटाउनुभयो कि ?