विपदमा छिमेकीको साथ : ठिनीमा ‘कागबेनी विपद् आर्थिक सहयोग’ अभियान

ध्रुवसागर शर्मा म्याग्दी, संवाददाता
Read Time = 6 mins

म्याग्दी । गत साउन २८ गते आएको बाढीबाट पीडित मुस्ताङको कागबेनीका वासिन्दाहरुको सहयोगका लागि छिमेकी घरपझोङ गाउँपालिका–५ को ठिनी गाउँका बासिन्दाले ‘कागबेनी विपद् आर्थिक सहयोग’ अभियान संचालन गरेका छन् ।

बारागुङ मुक्तिक्षेत्र गाउँपालिका–४ कागबेनीमा एक साता अघि गत साउन २८ गते आइतबार साँझ ठूलो बाढी आएको थियो ।
बाढीले २९ वटा घरमा पूर्णक्षति गरेको थियो भने १३ वटा घरमा आंशिक गरी ४२ वटा घरमा क्षति पु¥याएको थियो ।

बाढीबाट पीडित भएकाहरुलाई सहयोगका लागि गत विहीबार ठिनी गाउँका वासिन्दाले ‘कागबेनी विपद् आर्थिक सहयोग’ अभियान संचालन गरेका थिए । सोही अभियान अन्तर्गत आइतबारसम्म संकलन भएको रु पाँच लाख २२ हजार, एक सय १५ कागबेनी पुर्नस्थापना तथा संरक्षण समितिलाई हस्तान्तरण गरिएको घरपझोङ गाउँपालिका ५ ठिनीका वडाअध्यक्ष प्रदीप थकालीले जानकारी दिनुभयो ।

बाढीपीडितहरूको दुःखमा साथ दिन छिमेकी ठिनी गाउँका वासिन्दाहरुले तीन दिनसम्म श्रमदान गरेका वडाअध्यक्ष थकालीले बताउनुभयो । अहिले मुस्ताङका विभिन्न गाउँहरुबाट मानिसहरु कागबेनी आएर जनश्रमदान गर्दै बाढी पसेका घरहरूको मर्मत गरेर बस्न योग्य बनाउने प्रयास गरिरहेका छन् भने कतिपयले आर्थिक सहयोगको अभियान चलाइरहेका वारागुङ मुक्ति क्षेत्र गाउँपालिकाका अध्यक्ष रिङजीन नामगेल गुरुङले जानकारी दिनुभयो ।
कागबेनीका बाढी पिडीतहरुका लागि मुस्ताङका विभिन्न गाउँका आमा समूह,युवा क्लव,गुम्बा लगाएतका संघसंस्थाहरुबाट श्रमदान र आर्थिक सहयोग अध्यक्ष गुरुङले बताउनुभयो ।

उहाँका अनुसार आइतबार ठिनी गाउँ समाज कोषबाट एक लाख रुपैयाँ, ठिनी आमा समूहबाट ५० हजार रुपैयाँ, जनमुक्ति युवा क्लब ठिनीबाट ५० हजार, कुछपतेरङ्गा गुम्बा ठिनीबाट ५० हजार रुपैयाँ, ठिनीवासीको व्यक्तिगत सहयोगमा दुई लाख ५७ हजार १ सय १५ रुपैयाँ प्राप्त भएको छ ।
कागबेनी गाउँमाथिको मुक्तिनाथ शिर हुँदै झर्ने काग खोलामा पहिरो झरेर थुनिएपछि एकाएक आएको बाढीले आसपासमा ठूलो क्षति पु¥याएको छ। बाढीले स्थानीयको घर, पसल, होटेल, प्रहरी चौकी भवन, वडा कार्यालय लगायतका घर बगाएको थियो ।

गण्डकी प्रदेस सरकार तथा स्थानीय सरकार र निकायहरु पनि कागबेनीको पुनर्निर्माणका लागि काम गरीरहेका अध्यक्ष गुरुङले जानकारी दिनुभयो । उहाँका अनुसार पुनःस्थापनाका लागि मुस्ताङका विभिन्न गाउँ, बस्ती, क्लब, स्थानीय समूह, स्थानीय तह, जिल्ला समन्वय समिति लगायतले पनि सघाइरहेका छन् ।

कागबेनी गाउँको बीचबाट बग्ने काग खोलामा आएको बाढीले कागबेनीका २९ वटा घर पूरै क्षतिग्रस्त भएका छन् भने १३ वटा घर र जनशान्ति माविको भवनमा आंशिक क्षति भएको जिल्ला प्रशासन कार्यालय मुस्ताङले जनाएको छ । दुई पाङ्ग्रे १६ वटा र चार पाङ्ग्रे दुईवटा गरी १८ वटा सवारीसाधन, एउटा एस्काभेटर, कागबेनी–माथिल्लो मुस्ताङ जोड्ने एउटा मोटरेवल पक्की पुल, कागबेनी–तिरी जोड्ने एउटा झोलुङ्गे पुल, तीनवटा काठे पुल, एउटा सानो पक्की पुल, नौवटा गोठसहित करिब ३२ वटा चौपाया बाढीमा बगेका तथ्याङ्क प्राप्त भएको छ ।
त्यस्तै ४ नं वडा कार्यालय, इलाका प्रहरी चौकी, कागबेनी श्राद्धस्थलको मन्दिर तथा धर्मशाला समेत बगाएको छ । क्षतिको पूर्ण विवरण संकलन भैरहेको अध्यक्ष गुरुङले बताउनुभएको छ ।

स्थानीय नागरिकहरूसँगै सुरक्षाकर्मीहरू पनि कागबेनीवासीको पुर्नस्थापनाको लागि दैनिक रूपमा खटिरहेका छन् । स्थानीय जनप्रतिनिधिसहित सांसदहरू बसेर बाढी पीडितका लागि गर्न सकिने विकल्पको बारेमा योजना बनाउने र सोही अनुरुप अघि बढ्ने काम भइरहेका उहाँले जानकारी दिनुभयो ।

राहत तथा उद्धार कार्यमा आ–आफ्नो तह र तप्काबाट सक्दो आर्थिक तथा भौतिक सहयोगका लागी सङ्घ, प्रदेश र स्थानीय सरकार, मातहतका निकाय लगायत सबै सरकारी तथा गैरसरकारी संघसंस्था, देश विदेशमा रहेका नेपालीहरूमा अनुरोध गरिएको छ ।

आर्थिक सहयोगका लागि वारागुङ मुक्ति क्षेत्र गाउँपालिकाको प्रभु बैैकमा रहेको ‘स्थानीय तह प्रकोप व्यवस्थापन कोष खाता’ को खाता नं. २०८०१५१४१२७००२२१ मा रकम जम्मा गर्न सकिने गाउँपालिकाले बताएको छ ।

 

Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments

रिलेटेड न्युज

छुटाउनुभयो कि ?