विद्यालयमा अभिभावकद्धारा तालाबन्दी

प्राध्यानाध्यापक भने विद्यालय छाडेर माओवादी केन्द्रको बैठकमा

प्रकाश न्यौपाने नवलपरासी, संवाददाता
Read Time = 7 mins

नवलपरासी । नवलपरासी । पश्चिम नवलपरासीको बर्दघाट–९ मा रहेको राजा महात्मा पुर्णभद्र माविमा अभिभावकहरूले तालाबन्दी गरेका छन् ।

विद्यालय व्यवस्थापन समितिका अध्यक्ष र प्रधानाध्यापकको राजीनामा माग गर्दै विद्यालयको प्रशासन शाखामा तालाबन्दी गरेको अभिभावकहरूको भनाइ छ ।

विद्यालयमा लामो समयदेखि शैक्षिक, प्रशासनिक र आर्थिक शुसासनको विषयमा प्रश्न खडा हुँदै आएपनि विद्यालय व्यवस्थापन समिति गैर जिम्मेवार रुपमा प्रस्तुत भएको र विद्यालयको शैक्षिक अवस्था ध्वस्त हुदै गएकाले तालाबन्दी गर्नुपरेको अभिभावक बाबु सुनारले बताउनुभयो । विद्यालयको शैक्षिक स्थिति खस्कदै गएको छ, विद्यार्थि संख्या पनि ह्वात्तै घट्यो सुनारले भन्नुभयो । विद्यालयमा शिक्षकको अभावमा पढनपाठन प्रभावित भएपनि प्रधानअध्यापक गम्भिर नहुदा बालबालिकाको भविष्यनै संकटमा परेको उहाँले बताउनुभयो । बोर्डिङ स्कुलबाट विद्यार्थी ल्याएर विद्यालय राम्रो छ भन्दै सामुदायिकमा भर्ना गरियो अहिले शैक्षिक अवस्था ध्वस्त छ ताला लगाउन पुग्नुभएका सुनारले सुनाउनुभयो ।

तालाबन्दीपछि अभिभावकद्धारा जारी विज्ञप्तीमा विद्यालयमा विद्यार्थि संख्या १४ सय बाट घटेर सात सय भएको, कक्षा ११ र १२ मा विद्यार्थी संख्या अत्यन्तै न्युन हुदा बन्द हुने अवस्थामा पुगेको, विद्यालयको नतिजा लाजमर्दो भएको, विद्यालय लाखौँ ऋणमा डुबेको लगाएतका कारण देखाउँदै अनिश्चितकालिन तालाबन्दी गरिएको उल्लेख छ । वडा अध्यक्षनै विद्यालय व्यवस्थापन समितिको अध्यक्ष पदमा बसेर विद्यालयको यो अवस्था बनाएको भन्दै तत्कालै वर्तमान समिति विगठन गरि नयाँ व्यवस्थापन समिति पुर्नगठन गर्न अभिभावकहरूको माग छ । अभिभावकको भेलाबाट शिक्षक अभिभावक संघ गठनका लागि उम्मेदवारी दर्ता गराईएको भएता पनी हालसम्म उक्त समिति गठन नभएको भन्दै सत्यतथ्य सार्वजनिक गर्न माग गरिएको छ । यसैगरी विद्यालयमा भएको आर्थिक अनियमितता बारे पनि तत्काल छानविन गरी सत्यतथ्य सार्वजनिक गर्न अभिभावकहरूले माग गरेका छन् । उक्त विद्यालयमा लामो समय देखि आर्थिक अनियमितताको भएको भन्दै अख्तियार दुरुपयोग अनुसन्धान आयोगमा समेत उजुरी परेको छ ।

विद्यालयको तत्कालीन अवस्थामा निर्माण समितिका संयोजक रहनुभएका कृष्ण गिरीले विद्यालयमा लाखौंको अनियमितता भएको भएपनि यथेष्ठ छानविन हुन नसकेको बताउनुभयो । आफ्नो सहि समेत दुरुपयोग गरेर एक करोड बढि रकम दुरुपयोग भएको उहाँको दाबी छ । विद्यालयका प्रध्यानअध्यापकले आफूलाई अख्तियारमा बयान दिने क्रममा विद्यालयको बचाउ गरेर दिन दबाब समेत दिएको र हिसाब किताबको विवरण हेर्न नदिएको गिरीको भनाई छ ।
सो विद्यालय व्यवस्थापन समितिको अध्यक्ष बर्दघाट–९ का वडा अध्यक्ष चन्द्रकान्त चापागाई हुनुहुन्छ । अभिभावहरूले प्रधानअध्यापक र व्यवस्थापन समिति अध्यक्षको मिलिमतोमा आर्थिक अनियमितता गरी विद्यालयको शैक्षिक गुणस्तर ध्वस्त बनाएको आरोप लगाएका छन् ।

यसैबिच आज विद्यालयमा तालाबन्दी भइरहँदा विद्यालयका प्रधानअध्यापक पुष्पराज अधिकारी भने परासीमा नेकपा माओवादी केन्द्रको कार्यक्रममा सहभागि हुनुहन्थ्यो । माओवादी केन्दको जनतासंग माओवादी विशेष रुपान्तरण अभियानअन्तर्गत नवलपरासी पश्चिमको जिल्ला समन्वय समितिको बैठकमा विद्यालयनै छाडेर प्रधानअध्यापक अधिकारीले सहभागिता जनाउनुभएको हो । यस विषयमा जिज्ञासा राख्दा उहाँले आफु शिक्षक संगठनको अध्यक्ष भएकाले शिक्षकहरुका समस्याका विषयमा जानकारी गराउन मात्र उपस्थित भएको तर्क गर्नुभयो । कार्यक्रममा सहभागि भएको स्वीकार गर्दे प्रधानअध्यापक अधिकारीले पार्टी अभियानमा नभई शिक्षकहरुका कुरा राख्न गएको दाबी गर्नुभयो । तपाईको समस्या कुनै पार्टीको रुपान्तरण अभियानको बैठकमा राखेर समाधान हुन्छ त ? भन्ने जिज्ञासामा अधिकारीले पार्टीको पनि भुमिका हुने भएकाले आफुले कुरा राख्न बैठकमा गएको तर कुनै पार्टीमा आवद्ध नरहेको जिकिर गर्नुभयो । अहिले विद्यालयमा लागेको ताला खुलाउने विषयमा सहमति जुटाउन छलफल भईरहेको छ ।

विद्यालयमा आर्थिक पारदर्शिता कायम हुन नसकेको भन्दै बर्दघाट नगरपालिकाले ताकेता गरेपनि विद्यालय प्रशासनले सुनुवाई गरेको छैन् । विद्यालयले सामाजिक परिक्षण मापदण्ड २०७८ बमोजिम समाजिक परिक्षण गरि पहिलो चौमासिक भित्र स्थानिय तहमा उपलब्ध गराउनुपर्ने र शिक्षा नियमावलीको नियम १७१ बमोजिम विद्यालयले अधिकार प्राप्त लेखापरिक्षक बाट लेखापरिक्षण गराई सो को प्रतिवेदन स्थानिय तहमा उपलब्ध गराउनुपर्नेमा हाल सम्म पनि विद्यालयले आर्थिक वर्ष २०७८/०७९ को समाजिक परिक्षण र लेखा परिक्षण प्रतिवेदन नगरपालिकामा बुझाएको छैन् । नगरपालिकाले साउन २९ गते नियमानुसार शिक्षक अभिभावक संघ गठन गरी विद्यालयको समाजिक परिक्षण तथा लेखा परिक्षण गराई १५ दिन भित्र प्रतिवेदन पेश नगरे प्रचलित कानुन बमोजिम कारवाही हुने व्यहोरा सहितको पत्र विद्यालयलाई काटेको छ ।

Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments

रिलेटेड न्युज

छुटाउनुभयो कि ?