संगीतकार दीपक शर्माका करोड भ्युजका ११ गीतको संग्रह सार्वजनिक

हिमालय टाइम्स
Read Time = 4 mins

काठमाडौं । ‘दीपक शर्माका संगीतबद्ध करोड क्लबका लोक आधुनिक गीतहरू’ सार्वजनिक गरिएको छ । शुक्रबार काठमाडौंमा एक कार्यक्रमबीच संगीतकार दीपक शर्माको युट्युबमा एक करोडभन्दा बढी भ्युज पाएको आफूद्वारा संगीतबद्ध ११ वटा आधुनिक, लोकपप गीतहरूको संग्रह सार्वजनिक गरिएको हो । संगीतकार शर्माका बुबा हरिलाल जैसी, गायक रामकृष्ण ढकाल, गीतकार डब्बु क्षेत्री, गीतकार राधिका अधिकारी र संगीतकार दीपक शर्मा आफैंले उक्त गीतिसंग्रह सार्वजनिक गर्नुभएको थियो ।

पछिल्लो समयसम्मको सर्वाधिक १० करोड भ्युज पाएको नेपाली आधुनिक गीत ‘पिरेम नलाउने’ सहित ११ वटा गीत दीपकको यो संग्रहमा समेटिएको छ । जसमा दीपकको रचना र सञ्जीव पराजुलीको स्वरको ‘छैन मलाई पिर...,’ दीपकको रचना र प्रमोद खरेलको स्वर रहेको ‘छुट्टिएर तिमीसँग...’, दीपककै शब्द र मेलिना राई एवं पदम राईको स्वरको ‘पछिपछि लागेर...,’ दीपकको शब्द र रूपेश चन्द्रको स्वर रहेको ‘बालखैमा दिल बस्यो...,’ सरोज ओलीको शब्द तथा सरोज र मेलिना राईको स्वर रहेको ‘ए है माया..’.गीत संग्रहित छन् ।

यस्तै, यो संग्रहमा दिनेश थपलियाको शब्द र सरोज ओली एवं मेलिना राईको स्वरको ‘अर्को जुनी खै कुन्नी...’, सरोज ओलीको शब्द र मेलिना राई एवं राजेश पायल राईको स्वरको ‘फूल फुलेको वन...,’ दीपककै शब्द र सहिमा श्रेष्ठसँगै सन्दिप न्यौपानेको स्वरको ‘ओकल दोकल...’, अमर बान्तुको शब्द र धु्रव विश्वको एवं सहिमा श्रेष्ठको स्वरको ‘सिल्की कपाल...’ र घनश्याम ओलीको शब्द र मेलिना, रचना, अस्मिता, एलिनाको स्वर रहेको ‘आयौ चेली..’ जस्ता एक करोडभन्दा बढी भ्युज पाएका गीत यो एल्बममा संग्रहित छन् ।

यीबाहेक चलचित्रका ६ वटा र अन्य चारवटा गरेर अरू १० वटा गीतहरूले पनि युट्युबमा एक करोडभन्दा बढी भ्युज पाएको संगीतकार शर्माले कार्यक्रममा जानकारी गराउनुभयो ।

विमोचन समारोहमा भावुक हुँदै संगीतकार शर्माका बुबा हरिलाल जैशीले जीवनमा पहिलोपटक छोराको गीतिसंग्रह विमोचन गर्न पाउँदा साह्रै खुसी लागेको सुनाउनुभयो । गायक रामकृष्ण ढकालले अहिलेको पुस्ताका संगीतकारमा सबै गीतहरू हिट बनाउने नायकका रूपमा संगीतकार दीपक शर्मा परिचित रहेको जिकिर गर्नुभयो । लोकलयमा आधारित रहेर गीत-संगीत सिर्जना गर्ने भएकाले पनि दीपकद्वारा संगीतबद्ध सबै गीतहरू लोकप्रिय हुनुका साथै करोड क्लबमा पुग्ने गरेको उहाँको भनाइ थियो ।

यस्तै, गीतकार डब्बु क्षेत्रीले बजारमा दीपक शर्माको गीत आउनासाथ दर्शकले औधी मन पराउने गरेको आफूले पाएको सुनाउनुभयो । नेपालमा सबैभन्दा बढी युट्युबमा करोड भ्युज कमाउने संगीतकारमा दीपक शर्मा नै पहिलो स्थानमा रहेको पनि गीतकार क्षेत्रीको जिकिर थियो ।

Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments

रिलेटेड न्युज

छुटाउनुभयो कि ?