एमालेबाट बिद्रोह गर्नु औचित्यपूर्ण भएको एकीकृत समाजवादीको ठहर

हिमालय टाइम्स
Read Time = 5 mins

काठमाडौं । नेकपा(एकीकृत समाजवादी)का अध्यक्ष माधवकुमार नेपालले तत्कालिन नेकपा(एमाले)बाट बिद्रोह गरेर नयाँ पार्टी बनाउनु औचित्यपूर्ण भएको बताउनुभएको छ ।

दुई दिनसम्म चलेको नेकपा(एकीकृत समाजवादी)को पोलिटब्युरो बैठकको सोमवार समापन मन्तव्य राख्दै अध्यक्ष नेपालले तत्कालिन एमालेबाट बिद्रोह गरी नयाँ पार्टी बनाउनु औचित्यपूर्ण भएको ब्रिफिङ गर्नुभएको हो ।

उहाँले आफूहरुले बिद्रोह नगरेको भए एमाले अध्यक्ष केपी ओलीले देशको संविधान, संघीयता र संसद समाप्त पारिसकेको हुने विश्लेषण सुनाउनु भयो ।

पार्टीका प्रवक्ता जगन्नाथ खतिवडाका अनुसार अध्यक्ष नेपालले बिद्रोह नगरेको भए आफ्नो विचार समूहका कार्यकर्ताहरु माथि दमन र अत्याचार हुने पनि बताउनु भयो । त्यस्तै उहाँले आगामी दिनमा पार्टी कामको अनुगमन गर्ने कुरालाई उच्च प्राथमिकता दिएर जानुपर्नेमा जोड दिनुभएको प्रवक्ता खतिवडाले जानकारी दिनुभयो । नेपालले एकढिक्का भएर पार्टी निर्माणमा लाग्न पनि नेताहरुलाई आग्रह गर्नुभएको थियो ।

अध्यक्ष नेपालको सम्बोधनबारे जानकारी दिँदै प्रवक्ता खतिवडाले भन्नुभयो – ‘पार्टीले अबको दिनमा पार्टी कामको अनुगमन गर्ने कुरालाई उच्च प्राथमिकता दिएर अगाडी बढ्नुपर्ने भन्ने कुरालाई उहाँले जोड दिनुभएको छ । र सँगसँगै हामीले बिद्रोह नगरेको भए यो देशको संविधान, संघीयता र संसद सबै तत्कालिन सर्वसत्तावादको नेतृत्व गरिरहेका केपी ओलीले समाप्त गरिसक्नु हुन्थ्यो र त्यति मात्रै होइन हाम्रा विचार समूहमा रहेका सम्पूर्ण पार्टीहरु माथि, पार्टीका कार्यकर्ता माथि चरम दमन र अत्याचार गर्नुहुन्थ्यो भन्ने कुरालाई पनि उहाँले बैठकमा जानकारी गराउनु भयो । यसैगरी आजसम्मको घटनाक्रम र प्रवृत्तिलाई हेर्दा हाम्रो पार्टीले जे बिद्रोह ग¥यो यो बिद्रोह बडो औचित्यपूर्ण भएको छ । आजपनि देशको संसद र संविधानमाथि धावा बोल्ने कुरा भइरहेको छ । आजपनि अग्रगमनलाई जोगाउनको निम्ति हाम्रो महत्वपूर्ण भुमिका स्थापित भइरहेको छ भन्ने कुरा बताउनुभएको छ । हामीले सबभन्दा पहिले आफ्नो कर्तव्य, आफ्नो जिम्मेवारी आफैँ पूरा गरौँ । यसको सफलता र असफलतामा हामी अरुलाई शेयर गर्न सक्छौँ । तर आफूले जिम्मेवारी पूरा नगरी अरुको मात्रै आलोचना गर्नुको अर्थ हुँदैन । एकढिक्का भएर पार्टी निर्माण गर्न लागौँ । पार्टी अध्यक्षको सन्देश यही नै थियो । आगामी दिनमा पार्टी कसो गर्दा प्रभावकारी बन्नसक्छ भन्ने विषय नै सम्पूर्ण कार्यकर्ताहरुको ध्यान थियो । माघ महिनामा महाधिवेशनमा जाँदै छौँ । महाधिवेशनमा जाँदा कस्ता विचारलाई लिएर अगाडी बढ्नुपर्छ भन्ने कुरामा नै कार्यकर्ताहरुको धारणा सबभन्दा बढी व्यक्त भयो । हाम्रो पार्टी अझ बढी सबल, समृद्ध र अझ बढी क्रान्तिकारी रुपान्तरणको पक्षमा देखिनुपर्छ भन्नेकुरा नै कार्यकर्ताहरुको मुख्य जोड रहेको छ ।’

बैठकमा पोलिटब्युरो सदस्यहरुले वर्तमान राजनीतिक परिस्थिति र पार्टीको आगामी कार्यभारका विषयमा आ–आफ्नो धारणा राखेका थिए । भोलिदेखि चल्ने पार्टीको केन्द्रिय कमिटीको बैठकको पूर्वतयारीका रुपमा पोलिटब्युरो बैठकमा छलफल भएको प्रवक्ता खतिवडाले बताउनु भयो ।

 

Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments

रिलेटेड न्युज

छुटाउनुभयो कि ?