एकीकृत समाजवादीको छायाँले गर्दा सर्वदलिय बैठकमा एमाले आएन : अध्यक्ष नेपाल

हिमालय टाइम्स
Read Time = 7 mins

काठमाडाैं । नेकपा(एकीकृत समाजवादी)का अध्यक्ष माधवकुमार नेपालले एकीकृत समाजवादीको छायाँका कारण राष्ट्रपतिले बोलाएको सर्वदलिय बैठकमा नेकपा (एमाले) नगएको बताउनुभएको छ ।

मंगलवार पार्टीको केन्द्रिय कमिटी बैठकलाई सम्बोधन गर्दै अध्यक्ष नेपालले एकीकृत समाजवादीको छायाँ परेकाले एमाले राष्ट्रपतिले बोलाएको सर्वदलिय बैठकमा नगएको बताउनुभएको हो । उहाँले माधव नेपालको छायाँ बैठकमा परेकाले एमालेका नेताहरु अनुपस्थित भएका बताउनु भयो ।

उहाँले आफूहरुसँग त्यस्तो संकिर्णता र सानो चित्त नभएको भन्दै साझा विषयवस्तुहरुमा सबैसँग हातेमालो गर्दै अघि बढ्न चाहेको बताउनु भयो । उहाँले आफूहरुसँग न्युनतम संस्कार र सस्कृति रहेको उल्लेख गर्नुभयो । अध्यक्ष नेपालले आफ्नो मनमा नेपाली समाजलाई मुक्ति दिलाउने र नेपालमा समाजवादलाई कसरी साकार पार्न सकिन्छ भन्ने सोच र चिन्तनमात्र रहेको बताउनु भयो ।

उहाँले भन्नुभयो - ‘आज एउटा बैठक राष्ट्रपतिले बोलाउनु भएछ । राष्ट्रपतिले बोलाएको सर्वदलिय बैठकमा हाम्रो पार्टीको तर्फबाट म पनि गएको थिएँ । थाहा छैन मलाई के कारणले हो एमालेका नेताहरु आएनन् । सम्भवतः त्यहाँ माधव नेपालको छायाँ, एकीकृत समाजवादीको छायाँ परेको हुनाले होला आउने काम भएन । हामीमा त्यस्तो संकिर्णता छैन । हामीमा त्यस्तो किसिमको सानो चित्त पनि छैन । हामी सबैसँग साझा विषयवस्तुहरुमा हातेमालो गर्दै अघि बढ्न चाहन्छौँ । राष्ट्रको सरोकारका विषयहरु, जनताको सरोकारका विषयहरु, समाजका सरोकारका विषयहरुमा हामी विचार मिल्नेहरुसँग, हाम्रा धारणा मिल्नेहरु सँग, अडान मिल्नेहरुसँग हामी हातेमालो गर्दै अघि बढ्न चाहान्छु । हामी न्युनतम संस्कार कायम राख्छौँ । र त्यो नेपाली संस्कृतिलाई अवलम्वन गर्छौं । अरुको मानमर्दन गर्दैनौँ । अरुको अपमान हामी गर्दैनौँ । अरुको तेजोबध गर्दैनौँ । हामी अरुलाई धारे हात लगाएर मात्रै अनि चलेपछि मात्रै राम्रो हुन्छ भनेर मनलाई सन्तोष पनि दिँदैनौँ । हाम्रो दिमागमा यो समाजको परिवर्तनको कुरा छ । हाम्रो मनमा नेपाली जनतालाई मुक्ति दिलाउने कुरा छ । हाम्रो सोचमा कसरी नेपालमा समाजवादलाई साकार पार्न सकिन्छ भन्ने सोच छ । चिन्तन छ ।’

अध्यक्ष नेपालले तत्कालिन नेकपा(एमाले)बाट बिद्रोह गर्नु उचित र जायज भएको बताउनु भयो । उहाँले आजसम्मका घटनाक्रमहरुले आफूहरुले विगतमा गरेको बिद्रोह जायज थियो भन्ने कुरालाई बारम्बार पुष्टि हुँदै आएको बताउनु भयो । जुनसुकै कोणबाट हेर्दा पनि बिद्रोह जायज भएको उहाँले जिकिर गर्नुभयो ।

उहाँले भन्नुभयो - ‘त्यसबेलामा हामीले तत्कालिन पार्टी नेकपा(एमाले)बाट बिद्रोह गरेर अत्यन्तै उचित काम गरेका थियौँ । र त्यो बिद्रोह जायज थियो । औचित्यपूर्ण थियो । यस कुरामा हामी विश्वस्त हुनुपर्दछ भन्ने कुरामा म जोड दिन चाहन्छु । अहिलेसम्मका घटनाक्रमहरुले, अहिलेसम्मका सबै काम, क्रियाकलापहरुले, राष्ट्रिय राजनीतिले सामना गरेका अनेकौँ चुनौतिका घटनाक्रमहरुले हामीले त्यो चालेको कुरा ठिक थियो भन्नेकुरालाई बारम्बार पुष्टि गर्दै आएको छ । कसैकसैले औचित्यको पुष्टि गर्नका लागि निर्वाचनमा धेरै सिट जितेर अनि अर्कोलाई सानो बनाएर हामीले ठूलो बनेको भए हुन्थ्यो भन्ने पनि लाग्न सक्दछ । कसैकसैलाई त्यस्तो परेको पनि हुन सक्दछ । पहिले हामी केन्द्रिय कमिटीका सदस्यहरु, हामी नेतृत्वदायी तहमा भएका नेताहरु त्यस बारेमा प्रष्ट छौँ कि छैनौँ ? जिल्ला कमिटीकाले के भन्छन् ? प्रदेश कमिटीकाले के भन्छन् ? जनवर्गिय संगठनकाले के भन्छन् ? त्यो महत्वपूर्ण कुरा होइन । हामी के भन्छौँ ? हाम्रो दिमागमा के छ ? हामी त्यसमा विश्वस्त छौँ कि छैनौँ ? सबभन्दा पहिलो प्रश्न यहाँ रहेको छ । हामी विश्वस्त छौँ भने अरुलाई विश्वस्त बनाउँछौँ । हामी औचित्यपूर्ण देखिरहेका छौँ भने अरुलाई पनि औचित्यपूर्ण रहेको छ भन्ने कुरालाई पुष्टि गर्नसक्छौँ । जुनसुकै कोणबाट हेर्दाखेरी पनि त्यसबेलामा हामीले गरेको बिद्रोह गरेको कुरा एकदम जायज थियो ।’

उहाँले बिद्रोह औचित्यपूर्ण रहेको कुरामा स्पष्ट हुन केन्द्रिय सदस्यहरुलाई आग्रह गर्नुभयो । केन्द्रिय सदस्यहरु विश्वस्त भएमा तल्ला कमिटी र नेताहरुलाई पनि विश्वस्त बनाउन सकिने उहाँको भनाई छ ।

Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments

रिलेटेड न्युज

छुटाउनुभयो कि ?