सत्तापक्षले ध्यान नदिँदा संसद बैठक अझै सुचारु हुन सकेन : देवेन्द्र दाहाल

फाइल तस्बिर

हिमालय टाइम्स
Read Time = 2 mins

काठमाडौं । राष्ट्रियसभाका एमाले संसदीय दलका नेता देवेन्द्र दाहालले सत्तापक्षकै कारण संसद बैठक अझै खुल्ने सुनिश्चित नभएको बताउनुभएको छ ।

नेता दाहालले सुन तस्करी छानविनका लागि उच्चस्तरीय समिति बनाउने विषय सत्तापक्षकै कारण अझै निर्णयमा पुगिनसकेकाले संसद बैठक सुचारु हुने कुरा सुनिश्चिन नभएको जिकिर गर्नुभएको हो ।

मंगलवार राष्ट्रिय सभा बैठकमा बोल्दै उहाँले प्रतिपक्षलाई सत्तोसराप गर्ने काम नगर्न पनि सरकार र सत्तापक्षलाई आग्रह गर्नुभयो । समयमा आफ्नो काम नगर्ने तर प्रतिपक्षलाई सराप्ने काम सत्तापक्षले गर्न नहुने नेता दाहालको भनाई थियो ।

उहाँले भन्नुभयो, ‘सम्माननीय अध्यक्ष महोदय, झन्डै एक महिना भइसक्यो । यो सदन अवरुद्ध छ । र, यो सदन अवरुद्ध चाहीँ सत्तापक्षले नै गरेको छ भन्ने हामीले आरोप लगाएका छौं । कारण के त भन्दाखेरी अब लगभग नजिकनजिक उच्चस्तरीय छानबिन समिति बन्दैछ भन्ने कुरा सुनियो । तर पनि त्यो बनिसकेको छैन । त्यसले गर्दा सदन अझै पनि अवरुद्ध नै छ । अव त्यो के हुन्छ ? अझै भन्न सकिँदैन । सयममा हामीले ध्यान दिँदैनौं । त्यसले गर्दाखेरी प्रतिपक्षतिर फर्केर सत्तोसराप गर्ने हाम्रो एउटा प्रचलन छ । त्यसलाई अन्त्य गर्नुपर्छ भन्ने मलाई लाग्छ । सम्माननीय अध्यक्षज्यूमार्फत म यो कुरा संवद्ध सबै पक्षलाई ध्यानाकर्षण गराउन चाहन्छु । ’

नेता दाहालले सरकारले समयमै ध्यान नदिँदा राष्ट्रिय महत्वका हरेक सवालहरु ओझेलमा पर्ने गरेको बताउनु भयो । बाढि, पहिरोलगायतका पीडितलाई समेत सरकारले समयमै राहत दिन नसकेकोमा उहाँको आपत्ति थियो ।

 

Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments

रिलेटेड न्युज

छुटाउनुभयो कि ?