११ र १२ का कक्षा दिउँसो चलाउन पुतलीबजारको निर्देशन, अटेर गरे कारबाही

युवराज पौडेल स्याङ्जा, संवाददाता
Read Time = 4 mins

स्याङ्जा । स्याङ्जाको पुतलीबजार नगरपालिकाले नगरपालिका क्षेत्रभित्रका सबै विद्यालयहरुका कक्षा ११ र १२ मा हाल बिहानी सत्रमा सञ्चालित कक्षाहरु अनिवार्य रुपमा दिउँसोमा सञ्चालन गर्न निर्देशन दिएको छ ।

आज नगरपालिकाद्वारा एक सूचना प्रकाशित गरी सबै खालका सामुदायिक, संस्थागत र अन्य शैक्षिक संस्थाहरुले बिहानी सत्रमा चलाउँदै आइरहेका सबै कक्षाहरु दिवा सत्रमा चलाउन निर्देश गरेको हो ।

हाल बिहानी सत्रमा कक्षा ११ र १२ सञ्चालन गरिरहेका विद्यालयहरुले सरकारद्वारा निर्धारित पाठ्यभार तथा पाठ्यघण्टी पूरा नगरेकाले तोकिएको पाठ्यभार अनुसार पढ्न पाउने विद्यार्थीको अधिकारलाई सुरक्षित राख्न यस्तो निर्णय गर्नुपरेको पालिकाद्वारा प्रेषित पत्रमा उल्लेख गरिएको छ । नगरपालिकाभित्रका सबै विद्यालयहरुलाई सम्बोधनसहित प्रेषित पत्रमा नगरपालिकाको निर्देशनलाई आलटाल गरेमा प्रचलित कानुनअनुसार कारबाही हुने समेत बताइएको छ ।

हाल पुतलीबजार नगरक्षेत्रभित्रका कतिपय विद्यालयहरुले प्रचलित कानुनलाई उल्लङ्घन गरी तोकिएको पाठ्यभारको समेत वेवास्ता गरी विभिन्न बहानामा बिहानी सत्रमा कक्षा ११ र १२ का कक्षाहरु सञ्चालन गरिरहेका थिए । कक्षा ११ र १२ का कक्षाहरु दिवा सत्रमा नै निर्धारित पाठ्यभार अनुसार पढाउनुपर्ने र तत्काल व्यवस्थापनका लागि जटिल स्थिति आएका विद्यालयहरुका कक्षा १२ का हकमा भने आगामी वर्षबाट यो नियम लागु हुने पालिकाले जनाएको छ ।

नगरपालिकाको उक्त निर्णयसँगै हाल बिहानी सत्रमा कक्षा सञ्चालन गरिरहेका सामुदायिक र संस्थागत विद्यालयहरुका कक्षा ११ र १२ सम्पूर्ण सङ्कायका सबै कक्षाहरुको पढाइ आगामी भदौ १६ बाट दिउँसोमा सञ्चालन हुने भएको छ ।

नगरपालिकाले एकरुपताका लागि तथा अभिभावक र समुदायका विभिन्न समयमा आइरहेका गुनासाहरुलाई सम्बोधन गर्न यस्तो निर्णय गरिएको पुतलीबजारका मेयर तुलसीराम रेग्मीले बताउनुभएको छ । उहाँले भन्नुभयो, ’यो निर्णय विद्यार्थी र अभिभावकको अधिकारको लागि मात्र होइन, दिउसोमा सञ्चालन गर्नुपर्ने कानुनी प्रावधानको सम्मान गर्न पनि हो ।’

पुतलीबजार नगरपालिकाले बिहानीका कक्षालाई दिउँसोका सत्रमा चलाउनका लागि शिक्षक सङ्घ, सङ्गठन तथा पेब्सनका पदाधिकारीहरुलाई बोलाएर विभिन्न चरणमा छलफल गरी यो निर्णय गरेको पालिकाले जनाएको छ ।

पुतलीबजारको यो निर्णयपछि सबै विद्यालयहरुको पठनपाठन पाठ्यभार र पढाइ हुने समयमा एकरुपता आउने भएको छ । तर सिटिइभिटीद्वारा सञ्चालित कक्षाहरुका हकमा भने बिहानी सत्रमा पनि सञ्चालन गर्न पाइने व्यवस्था छ ।

Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments

रिलेटेड न्युज

छुटाउनुभयो कि ?