महिला टी-२० सिरिज : नेपालको विजयी सुरुवात

हिमालय टाइम्स
Read Time = 4 mins

काठमाडौं । चार देश सम्मिलित महिला टी-ट्वान्टी आई सिरिजअन्तर्गत हङकङविरुद्धको पहिलो खेलमा नेपाल विजयी भएको छ । नेपालले हङकङलाई ६ विकेटले पराजित गरेको हो । डेब्यु खेलमै नेपालकी पूजा महतोले उत्कृष्ट बलिङ र ब्याटिङ गर्नुभएको थियो । उहाँले हङकङविरुद्धको खेलमा १६ रन बनाउनुका साथै एक विकेटसमेत लिनुभयो ।

मलेसियाको राजधानी क्वालालम्पुरस्थित बायोमास ओभल क्रिकेट मैदानमा हङकङले नेपाललाई जितका लागि ८५ रनको लक्ष्य दिएको थियो । उक्त लक्ष्य नेपालले १५ दशमलब पाँच ओभरमा चार विकेटको क्षतिमा पूरा गर्‍यो । नेपालका लागि सम्झनाकुमारी खड्काले अविजित ३६ रन बनाउनुभयो ।

उहाँले ३६ बल खेल्ने क्रममा पाँच चौकासमेत प्रहार गर्नुभयो । यस्तै, पूजा महतोले १६, कप्तान रुविना क्षेत्री बेलबासेले १० रनको योगदान दिनुभयो । हङकङले नेपालको खातामा १३ अतिरिक्त रन थपेको थियो । यसअघि नेपाली टोलीकी कप्तान रुविना क्षेत्री बेलबासेले टस जितेर पहिला फिल्डिङ गर्ने निर्णय लिनुभएको थियो । हङकङले १९ दशमलब एक ओभरमा सबै विकेटको क्षतिमा ८४ रनमात्र बनायो । हङकङका लागि का यिङ चानले ३४ तथा शिङ यान दोरोथिया चानले १६ रन बनाउनुबाहेक अन्य खेलाडीले सम्झिन लायक रन बनाउन सकेनन् । हङकङको खातामा नेपालले चार अतिरिक्त रन थपेको थियो ।

बलिङतर्फ नेपालका लागि सीता रानामगर एक्लैले पाँच विकेट लिनुभयो । उहाँले चार ओभर बलिङ गर्दा १६ रनमात्र खर्चनुभएको थियो । सीता प्लेयर अफ दी म्याच हुनुभयो । सीता नेपाली महिला टी-२० आई क्रिकेटमा पाँच विकेट लिने चौथो बलर बन्नुभयो ।

यसअघि २०१९ मा अञ्जली चन्दले माल्दिभ्स र नेरी थापाले हङकङविरुद्ध ६-६ विकेट लिनुभयो । गत वर्ष अस्मिना कर्माचार्यले पाँच विकेट लिनुभयो । यस्तै, इन्दु बर्माले दुई तथा कविता कुँवर, पूजा महतो र रुविना क्षेत्री बेलबासेले एक/एक विकेट लिनुभयो ।

महिला टी-ट्वान्टी आई सिरिजअन्तर्गत मंगलबार नै भएको अर्को खेलमा मलेसियाले कुवेतलाई आठ विकेटले पराजित गरेको छ । आयोजक मलेसियासहित नेपाल, हङकङ र कुवेतले महिला टी-ट्वान्टी आई सिरिज खेलिरहेका छन् । यही अगष्ट ३१ तारिखदेखि मलेसियामै हुने आइसिसी महिला टी-२० विश्वकप एसिया क्वालिफायरको तयारी स्वरूप नेपालले उक्त सिरिज खेलिरहेको छ ।

नेपालले एसिया क्षेत्र छनोट अगष्ट ३१ देखि ९ सेप्टेम्बरमा मलेसियामा खेल्नेछ । नेपालको समूहमा युएई, कतार, मलेसिया, भुटान र बहराइन छन् । समूह ‘बी’मा चीन, हङकङ, कुवेत, म्यानमार र थाइल्याण्ड छन् । शीर्ष दुई टोलीले सेमिफाइनल खेल्नेछन् ।

फाइनल पुग्ने दुई टोलीले २०२४ मा ग्लोबल महिला टी-२० विश्वकप खेल्न पाउनेछन् । नेपालले पहिलो खेलमा ३१ अगष्टमा मलेसिया, १ सेप्टेम्बरमा बहराइन, ३ सेप्टेम्बरमा भुटान, ४ सेप्टेम्बरमा कतार र ६ सेप्टेम्बरमा युएईसँग खेल्नेछ ।

Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments

रिलेटेड न्युज

छुटाउनुभयो कि ?