बक्सिङमा नेपाललाई दुई कांस्य

हिमालय टाइम्स
Read Time = 3 mins

काठमाडौं । ब्राजिलको रियो दि जेनेरियोमा सुरु भएको दोस्रो ‘आइएसएफ जिम्न्यासाइड-२०२३’ नेपालले बक्सिङबाट दुई कास्य पदक जितेको छ । रियो दि जेनेरियोको ओलम्पिक पार्कमा सोमबार सम्पन्न खेलमा प्रकृति थापाले ५१ केजी तौल समूहमा तथा शेरप ग्याल्चेन शेर्पाले ६० केजी तौल समूहमा कांस्य पदक जित्नुभएको छ । दुवै खेलाडीहरूले क्वाटरफाइनलमा बाई पाएर सिधै सेमिफाइनल खेल्न पाउनुभएको हो । सेमिफाइनलमा शेरपले आयोजक ब्राजिली प्रतिद्वन्द्वीसँग कडा प्रतिस्पर्धा गरे पनि जित भने हात पार्न सक्नुभएन ।

तीन राउण्डको भिडन्तमा शेरपले दोस्रो र तेस्रो चरणमा राम्रो गरे पनि पहिलो राउण्डमा उहाँ पछि पर्नुभएको थियो । गत वर्ष काठमाडौंमा भएको अल नेपाल स्कुल ब्वाइज बक्सिङ प्रतियोगितामा स्वर्ण जित्नुभएका शेरपबाट स्वर्ण पदकको आशा गरिएको थियो । उहाँका प्रशिक्षक प्रकाश थापा मगरले शेरप भविष्यमा नेपालको राम्रो खेलाडी बन्न सक्ने प्रतिक्रिया दिनुभयो । उहाँले भन्नुभयो, ‘आयोजकविरुद्ध उनीहरूको घरमा खेल्दा सुरुमा खेल सम्हाल्न शेरपलाई समय लाग्यो । दोस्रो र तेस्रो चरणमा राम्रो खेले पनि जित्न सकेन । दुःखको कुरा हो । तर, उनी भविष्यमा नेपालको राम्रो खेलाडी बन्न सक्छन् ।’

यसैगरी प्रकृति सेमिफाइनलमा क्रोएसियाका खेलाडीसँग आरएससी आउट हुन पुग्नुभएको हो । पहिलो राउण्डमा उहाँले दुईपटक ‘काउण्ट’ खाएपछि दोस्रो राउण्ड खेल्न पाउनुभएन । त्यसैगरी बास्केट बलतर्फ महिला तीन अन तीन माचिलीसँग पराजित भएपछि नेपाल बाहिरिएको छ । त्यसरी नै पौडीतर्फ ५० मिटर बेष्ट स्ट्रोकमा सहभागी नेपालका सुगम श्रेष्ठले पनि पदक जित्न सक्नुभएन ।

प्रतियोगितामा समावेश गरिएका १८ खेलमध्ये नेपालले पाँच खेल बक्सिङ, पौडी, तेक्वान्दो, टेबलटेनिस र बास्केटबलमा सहभागिता जनाएको छ । अन्तर्राष्ट्रिय स्कुल स्पोटर््स महासंघ (आइएसएफ) को आयोजनामा हरेक दुई वर्षमा हुने जिम्न्यासाइड यो वर्ष अगष्ट १७ देखि २५ तारिखसम्म हुँदैछ । यो १३ देखि १५ वर्ष उमेर समूहको ‘मिनी ओलम्पिक’ प्रतियोगिता हो । प्रतियोगितामा ४४ राष्ट्रबाट दुई हजार खेलाडीले विभिन्न १८ खेलमा प्रतिस्पर्धा गरिरहेका छन् ।

Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments

रिलेटेड न्युज

छुटाउनुभयो कि ?