मियामी युएस ओपन कपको फाइनलमा

Read Time = 2 mins

मियामी । अर्जेन्टिनी फरवार्ड लियोनल मेस्सीको कप्तानीमा रहेको इन्टर मियामीले युएस ओपन कपको फाइनलमा स्थान बनाएको छ । सिन्सिनाटीविरुद्ध टाइब्रेकरमा ५-४ को जित निकाल्दै मियामी फाइनलमा प्रवेश गरेको हो । सेमिफाइनलको निर्धारित समय २-२ र अतिरिक्त समय पनि १-१ गोलको बराबरीमा सकिएपछि खेलको नतिजा टाइब्रेकरबाट लिइएको थियो ।

टाइब्रेकरमा दुवै टोलीको सुरुवाती ४-४ प्रहारमा गोल परिणत भए पनि सिन्सिनाटीका हागलन्डले गरेको पाँचौँ प्रहार मियामीका गोलरक्षक क्यालेन्डरले बचाउनुभयो । त्यसपछि मियामीका लागि क्रेमास्कीले गोल गर्दै जित दिलाउनुभयो ।

प्रतियोगितामा अमेरिकाका ९९ क्लब सहभागी थिए । क्वाटरफाइनलमा मियामीले बर्मिंघम एफसीलाई १-० र त्यसअघि नाशभिल एससीलाई २-१ ले हराएको थियो । यसै साता मियामीले लिग्स कपको फाइनलमा स्थान बनाएको थियो । त्यसअघि खेलको १८औँ मिनेटमा घरेलु टोली सिन्सिनाटीका लागि लुसियानो अकोस्टाले गोल गर्नुभयो । दोस्रो हाफको ५३औँ मिनेटमा ब्रान्डन भाज्केजले गोल गर्दै टोलीलाई २–० को अग्रता दिलाउनुभयो ।

६८औँ मिनेटमा मियामीका लागि लिओनार्डाे काम्पानाले एक गोल फर्काउनुभयो । इन्जुरी समयका लागि थप गरिएको आठौँ मिनेटको अन्तिम समयमा मियामीका लागि लियोनल मेस्सीको पासमा काम्पानाले हेडरमार्फत् बराबरी गोल फर्काउनुभयो । त्यसपछि अतिरिक्त समयमा मार्टिनेजले मियामीलाई पुनः अग्रता दिलाउनुभयो । युया कुबोले ११४औँ मिनेटमा गोल गरेपछि फेरि खेलमा बराबरी भयो । त्यसपछि खेलको निर्णय टाइब्रेकरबाट लिइएको हो । एजेन्सी ।

Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments

रिलेटेड न्युज

छुटाउनुभयो कि ?