मन्त्रिपरिषद्को निर्णय : राजपत्रांकित श्रेणीका ४६९ अस्थायी दरबन्दी स्वीकृत

Read Time = 9 mins

काठमाडौं । सरकारले विभिन्न सरकारी निकायमा ६५८ राजपत्रांकित श्रेणीका कर्मचारीको दरबन्दी स्वीकृत गर्ने निर्णय गरेको छ । मन्त्रिपरिषद्का दुईवटा बैठकका निर्णयबाट विभिन्न मन्त्रालयको प्रस्तावमा ६५८ राजपत्रांकित श्रेणीका कर्मचारी दरबन्दी स्वीकृत गर्ने निणर्य गरिएको बिहीबार सिंहदरबारमा आयोजित नियमित पत्रकार सम्मेलनमा जानकारी गराइएको हो । सरकारका प्रवक्तासमेत रहनुभएका सञ्चार तथा सूचना प्रविधिमन्त्री रेखा शर्माका अनुसार बुधबार बसेको मन्त्रिपरिषद् बैठकले सहरी विकास मन्त्रालयको प्रस्तावमा मन्त्रालयअन्तर्गत नयाँ सहर आयोजना लगायतका निकायको आर्थिक वर्ष २०८०/०८१ का लागि राजपत्रांकित श्रेणीका ४६९ अस्थायी दरबन्दी स्वीकृत गर्ने निर्णय गरेको छ ।

बिहीबारकै बैठकले शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयको प्रस्तावमा मन्त्रालयअन्तर्गत निकायका लागि र चिकित्सा शिक्षा आयोगका लागि राजपत्रांकित श्रेणीका ७४ अस्थायी दरबन्दी स्वीकृत गर्ने निर्णय गरेको सञ्चारमन्त्री शर्माले जानकारी गराउनुभयो । उहाँका अनुसार सोही दिनको बैठकले वन तथा वातावरण मन्त्रालयको प्रस्तावमा मन्त्रालयअन्तर्गत आर्थिक वर्ष २०८०/०८१ मा सञ्चालन हुने संरक्षित क्षेत्र र जैविक मार्गका लागि एकीकृत भू-परिधि व्यवस्थापन आयोजना लगायतका १७ वटा आयोजना तथा कार्यक्रमका लागि राजपत्रांकित श्रेणीको ३८ अस्थायी दरबन्दी सिर्जना गर्न स्वीकृत दिने निर्णय गरेको छ ।

उहाँले यसअघि साउन ३० गते बसेको बैठकले कानुन, न्याय तथा संसदीय मामिला मन्त्रालयको प्रस्तावमा साउन ३० गते बसेको मन्त्रिपरिषद् बैठकले सत्यनिरूपण तथा मेलमिलाप आयोग र बेपत्ता पारिएका व्यक्तिको छानविन आयोगका लागि ५८ जना राजपत्रांकित कर्मचारीको अस्थायी दरबन्दी स्वीकृत गर्ने निर्णय भएको छ । साउन ३० गतेकै बैठकले कृषि तथा पशुपन्छी विकास मन्त्रालयको प्रस्तावमा मन्त्रालयअन्तर्गत आर्थिक वर्ष २०८०÷०८१ का लागि नेपाल लाइभस्टक सेक्टर इनोभेसन आयोजना र उक्त आयोजनाअन्तर्गत विकेन्द्रित आयोजना सहयोग इकाइका लागि आवश्यक १९ वटा राजपत्रांकित पदको अस्थायी दरबन्दी स्वीकृत गर्ने निर्णय पनि गरेको उहाँले जानकारी गराउनुभयो ।

यस्तै, मन्त्रिपरिषद्ले धुलिखेल अस्पताल ट्रमा तथा आपतकालीन केन्द्र सुधार परियोजनाका लागि जापान सरकारबाट प्राप्त हुने जापानी येन तीन अर्ब २९ करोड ६० लाख अनुदान सहायता स्वीकार गर्ने, कर्जा सुरक्षण (चौथो संशोधन) नियमहरू, २०८० स्वीकृत गर्ने, २०८० साल असोज ८-९ गते इजिप्टको शार्म एल शेखमा आयोजना हुने एसियाली पूर्वाधार लगानी बैंकको बोर्ड अफ गभर्नर्सको आठौं वार्षिक बैठकमा माननीय अर्थमन्त्री (एसियाली पूर्वाधार लगानी बैंकका लागि गभर्नर) नेतृत्वको प्रतिनिधि मण्डललाई सहभागी हुन स्वीकृति दिने निर्णय गरेको छ ।

त्यस्तै, धितोपत्र दर्ता तथा निष्कासन (सातौँ संशोधन) नियमावली, २०८० संशोधन गर्न स्वीकृति प्रदान गर्ने, नेपाल इञ्जिनियरिङ सेवा, केमिकल इञ्जिनियरिङ समूह, राजपत्रांकित प्रथम श्रेणी (प्रा.) मा बढुवा गर्ने, राष्ट्रिय खानेपानी, सरसफाइ तथा स्वच्छता नीति, २०८० स्वीकृत गर्ने, उमेर, जात र नाम सच्याउने (तेस्रो संशोधन) नियमहरू, २०८० स्वीकृत गर्ने, मल्दिभ्समा भदौ २३, २०८० (तदनुसार सेप्टेम्बर ९, २०२३), मा हुन गइरहेको राष्ट्रपतीय निर्वाचनको अवलोकन गर्न भदौ २१-२६, २०८० सम्मका लागि निर्वाचन आयुक्त रामप्रसाद भण्डारीको भ्रमण स्वीकृत गर्ने, प्रधानमन्त्री श्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ नेपाली प्रतिनिधिमण्डलको नेतृत्व गर्दै न्युयोर्कमा आयोजना हुने संयुक्त राष्ट्रसंघको ७८औँ महासभामा सहभागी हुन भ्रमण कार्यक्रम स्वीकृत गर्ने, सुर्खेत जिल्ला साबिक अवलचिंग गाविस वडा नं. ४क को नौ रोपनी जग्गा चिंगाड गाउँपालिका वडा न. ५ मा निर्माण हुने १५ शैय्याको आधारभूत अस्पताल निर्माणार्थ चिंगाड गाउँपालिकालाई उपयोग गर्न स्वीकृति दिने मन्त्रिपरिषद्ले निर्णय गरेको छ ।

यसैगरी, वन तथा वातावरण मन्त्रालयअन्तर्गत आव २०८०/८१ मा सञ्चालन हुने संरक्षित क्षेत्र र जैविक मार्गका लागि एकीकृत भू–परिधि व्यवस्थापन आयोजना लगायतका सत्रवटा आयोजना तथा कार्यक्रमहरूका लागि राजपत्रांकित श्रेणीको ३८ अस्थायी दरबन्दी सिर्जना गर्न स्वीकृति दिने, चिकित्सा शिक्षा आयोग र शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयअन्तर्गत निकायहरूका लागि राजपत्रांकित श्रेणीका ७४ अस्थायी दरबन्दी स्वीकृत गर्ने, गीत-संगीतमार्फत राष्ट्रलाई पु¥याउनुभएको योगदानको कदर स्वरूप स्व जेबी टुहुरे (जुठबहादुर टुहुरे खडगी) लाई जनगायक उपाधि प्रदान गर्ने, आगामी मिति २०८० असोज १३ देखि १७ गतेसम्म संयुक्त राज्य अमेरिकाको टेक्सासमा आयोजना हुने (अन्तर्राष्ट्रिय सहर २०२३/आइसिएमएको वार्षिक समारोह) विषयक कार्यक्रममा सहभागी हुन वीरगञ्ज महानगरपालिकाका प्रमुख राजेशमान सिंहको भ्रमण स्वीकृत गर्ने, सहरी विकास मन्त्रालयअन्तर्गत नयाँ सहर आयोजना लगायतका निकायहरूको आर्थिक वर्ष २०८०/८१ को लागि राजपत्रांकित श्रेणीका ४६९ अस्थायी दरबन्दी स्वीकृत गर्ने, संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्री सुदन किरातीका पिता हर्कबहादुर राईको ७६ वर्षको उमेरमा असामयिक निधन भएकोमा नेपाल सरकारको तर्फतबाट गहिरो शोक प्रकट गर्दै श्रद्धाञ्जलि व्यक्त गर्ने । यस दुःखद घडीमा माननीय मन्त्रीज्यू, शोकसन्तप्त परिवारजन र शुभेच्छुकप्रति हार्दिक समवेदना प्रकट गर्ने निर्णय मन्त्रिपरिषद्ले गरेको छ ।

सञ्चारमन्त्री शर्माले भदौ ६ र साउन ३० गते बसेको मन्त्रिपरिषद् बैठकका निर्णय बिहीबार एकसाथ सार्वजनिक गर्नुभएको हो ।

Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments

रिलेटेड न्युज

छुटाउनुभयो कि ?