जिल्ला अस्पताल खोटाङको सेवाप्रति चौतर्फी आचोचना

चिसाङ शेर्पा खोटाङ, संवाददाता
Read Time = 11 mins

खोटाङ । खोटाङको एकमात्र १५ शश्याको सरकारी अस्पतालको सेवालाई लिएर सामाजिक सञ्जालमा चौतर्फी आलोचना सुरु भएको छ ।

उपचारमा अस्पताल गएका विरामीहरूलाई सामान्य स्वास्थ्य समस्यामा पनि बाहिर रिफर गर्ने तथा समस्या के, भन्ने यक्किन कुरा चिकित्सकले ठम्याउन नसक्दा सेवाग्राहीहरूले दुःख पाएको भन्दै व्यापक आलोचना सुरु भएको हो ।

उपचारमा जिल्ला अस्पताल जाँदा मृर्गौला बर्बाद भइसकेकाले तुरुन्त बाहिर जान सुझाव दिएपछि रातारात विराटनगर पुग्दा ग्यास्ट्रिकले थला पारेको पत्ता लागेको भन्दै दिक्तेलका ओजोनबाबु आचार्यले जिल्ला अस्पतालको सामाजिक सञ्जालमा कडा आलोचना गरेका छन् ।

अचानक पछाडी कम्मर दुखेर निहुरिएर जिल्ला अस्पता गए । एक्सरे गराउँदा मेरुदण्डमा असर छ, मेरुदण्डको पुछारमा र्याक छ भनेर औषधि दिए । तर, औषधिले बीसको उन्नाईस भएन शहरमा गएर चेक गर्दा ग्यास्ट्रिकै भएको पत्ता लाग्यो । आचार्य थप्छन्, सुत्केरी व्यथाले थलिएकी महिलाको शल्यक्रिया बिना संम्भव छैन भनेर रातारात एम्बुलेन्समा हालेर लैजाँदा महिलाले हुर्लुङमा शकुसल बच्चा जन्माइन् ।

कुनै हालतमा यहाँ(जिल्ला अस्पतालमा) सकिन्दैन भनेको डेलिभरी केसकी महिलाले मास्तिर(फेमेली केयर अस्पताल)मा शकुसल बच्चा जन्माउँछिन् । अरु थुप्रै किस्सा बजारमा, गाउँमा, चिया पसलमा जताततै सुन्न पाईन्छ । के यी हावा गफ हुन् ? आचार्य प्रश्न गर्छन् ।

दिक्तेल सोल्माका गंगा विश्वकर्माले अस्पताल सञ्चालन व्यवस्थापन समिति अध्यक्ष सन बहादुर राईलाई सामाजिक सञ्जालमै प्रश्न गर्छन्,‘जिल्ला अस्पताल गयो अन्य अस्पतालमा रिफर, गुनासो सुन्ने अधिकारी कता ? सन बहादुर राई अनि सबै पार्टीका नेता ज्युहरू ।’

जिल्ला अस्पतालको चरम लापारबाही र बेतिथिको श्रृंखलाहरू छरपस्ट छन् । जिल्लामै उपचार गराउने र कमजोर आर्थिक अवस्था हुनेहरुले शास्ती र मृत्यु खेप्नु परिरहेको छ । नेपाल विधार्थी संघ(नेविसंघ)का केन्द्रीय सदस्य राजकुमार बस्नेत लेख्छन्, अब त अति भो सरोकारवाला निकायको चाँडो ध्यान जाओस् । ‘जिल्ला अस्पताल भन्न मलाई त लाज लाग्छ । त्यसैले म जिल्ला प्राथमिक उपचार केन्द्रको नामले चिन्छु ।’ सन्तोष आचार्य नाम गरेका व्यक्ति सामाजिक सञ्जालमा लेख्छन्, ‘नेतालाई लुट्दै ठिक, जनतालाई ऋण तिर्दै ठिक ।’

खोटाङबासीको सबैभन्दा ठूलो पीडा जिल्ला अस्पतालका डाक्टरहरुले सहि सल्लाह दिन नसक्नु हो । इन्दिरा पोखरेल नाम गरेकी व्यक्ति फेसबुकमा लेख्छिन्, उपचारको त कुरै छोडौ, स्थानीय सरकारको ध्यान जाओस ।

जिल्ला अस्पतालमा गरीव, दुखीले बिनासितीको पीडा भोगिरहेको जगजाहेर गर्दै नवराज घिमिरे नाम गरेका व्यक्ति लेख्छन्, ‘यहाँका डाक्टरसावहरू खै के पढेर आउनु भाछ कोनी, खोटाङ आउने डाक्टरसावहरुले पढ्ने किताब र काठमाडौं, बिराटनगरमा काम गर्ने डाक्टरहरूले पढ्ने किताब नै बेग्लै छ कि जस्तो पो लाग्दैछ मलाई पनि ।’

खाजासमेत नखाई चिकित्सकहरुले आफ्नो ड्युटी गरिरहँदा पनि आलोचना भईरहको पाईएकाले कहाँनेर समस्या भएको, ग्याप भएको भन्दै सम्पूर्ण चिकित्सकहरुसँग समन्वय र सहकार्य गरेर सेवा दिइरहेको जिल्ला अस्पतालका निमित्त प्रमुख एमडीजीपी डा. चतुरानन्द यादवले बताए ।

१५ शश्याको अस्पताल भए पनि जनशक्ति कम छ । काउण्टरमा, ल्यावमा मान्छे छैन । चिकित्सकहरू हामी चारजना छौं । दुईजना डाक्टरले छोडेर गएको छ । यी कुराहरूलाई व्यवस्थापन गर्ने प्रशासन हो । प्रशासनमा मान्छे नै छैन । डा.यादव भन्छन्, ‘म प्रशासन प्रमुख भए काम गरिरहेको छु । एक घण्टा मात्रै कार्यकक्षमा बसे भने बिरामी हेर्ने डाक्टर नै हुँदैन ।’

अस्पतालको सेवा सपार्न धेरै प्रयत्न गरेको, प्रयत्न पनि भइरहेको, अस्पतालले जति दिने त्यति सेवा दिइरहेको अस्पताल सञ्चालन व्यवस्थापन समिति अध्यक्ष सन बहादुर राईले बताउँछन् । शल्यक्रिया पनि भईरहेको छ । दैनिक उपचार पनि भईरहेको छ । औषधि पनि सबै पाईरहेका छन् । तर, विरोधका लागि विरोध पनि छ ।

अस्पतालको भौतिक संरचना बन्दै गरेकाले साँघुरो कोठमा खचाखच गरेर चलाउनु परेको छ । व्यवस्थापन गाह्रो कुरा हो, कसैले देख्दैन, स्थायी डाक्टर पठाई माग्दा कोशी प्रदेश स्वास्थ्य मन्त्रालयले डाक्टर छैन भन्छ । भएका डाक्टर पनि आउन मान्दैन । अध्यक्ष राईले भने, प्रशासनमा पनि कर्मचारी दिईरहेको छैन, करार नियुक्ति गर्न पनि दिँदैन । हामी लागि रहेका छौं । व्यवस्थापन गरिरहेका छौं ।

तत्कालिन जिल्ला अस्पतालका प्रमुख डाक्टर दिपेश परियारले एमडीजीपी डा.यादवलाई निमित्तको अधिकार छोडेर गए पनि डा.यादवले प्रदेशले पनि निमित्त नतोकेसम्म आर्थिक कामकाज गर्न पाउँदैनन् । त्यसका लागि पनि ३ भदौमा निमित्त तोकिदिन भनि प्रदेश स्वास्थ्य मन्त्रालयका सचिव सुधा देवकोटालाई अस्पताल सञ्चालन व्यवस्थापन अध्यक्ष राईले चिठ्ठी लेखेको थियो । श्रोतका अनुसार प्रदेश स्वास्थ्य मन्त्रालयले अस्पताल सञ्चालन व्यवस्थापन समितिको चिठ्ठीले मात्रै नभएर स्वयंम् डा.यादवले पनि निमित्त दिन भनि चिठ्ठी पठाउन भनेको थियो । डा.यादवले चिठ्ठी पठाए पनि कुनै प्रतिक्रिया नआएको बुझिएको छ । जसका कारण अस्पतालको आर्थिक कारोबार नै ठप्प छ ।

स्थायी डाक्टर नहुँदा अस्पतालमा दैनिक विरामी जाँचमा समस्या भएको विषय ५ भदौमा बसेको कार्यालय प्रमुखको बैठकमा पनि डा.यादवले राखेका थिए । प्रमुख जिल्ला अधिकारी सन्त बहादुर सुनारले स्थायी चिकित्सक ल्याउनमा पहल गर्ने बताएका थिए । तर, पारिवारिक समस्याले प्रजिअ सुनार गृह जिल्ला जानु भएको छ ।

अस्पतालमा स्थायी चिकित्सक ल्याउनलाई स्थानीय सरकारको तर्फबाट मन्त्रालयमा भन्ने र पहल कदमी गर्ने काम निरन्तर गरिरहेको दिक्तेल रुपाकोट मझुवागढी नगरपालिकाका मेयर तीर्थराज भट्टराईले बताए । राज्यले स्थायी चिकित्सक दिन नसक्नु एउटा विषय होला । तर, पहल गरेकै छौ, सबैजना लागेका छौ । मेयर भट्टराईले भने, अस्पतालका चिकित्सकले दिने सेवाको नियमित खबरदारी गरिरहेका छौ । यहि उपचार गर्न सक्नेलाई यहि गर्नुहोस रिफर नगर्नुस भनिरहेका छौ । स्थायी चिकित्सक नहुँदा असहज त भएकै छ । तर, व्यवस्थापन गर्नमा पनि सम्बन्धित निकाय र मन्त्रालयमा निरन्तर दवाव दिइरहेका छौं ।

स्थायी डाक्टरका लागि प्रदेशमा लोकसेवा पनि खुलेको छैन, हाम्रो उत्पादन पनि छैन, भएका सिमित डाक्टरलाई चलाईयो भने खोटाङमा जस्तै हल्ला गर्ने भएकाले स्थायी डाक्टर पठाउन नसकिएको कोशी प्रदेश स्वास्थ्य मन्त्रालयका सचिव सुधा देवकोटाले बताइन् ।

जिल्लाका अस्पतालहरुमा छात्रबृत्तिका डाक्टर पठाउने हो । केन्द्रसँग छात्रबृत्तिका डाक्टर माग गरिरहेका छौं । एकादुई छात्रबृत्तिका डाक्टर भए पनि खोटाङमा भन्दा तराईमा डेंगीको अत्याधिक महामारी र विरामी भएकाले डाक्टरहरुलाई यता खटाएका छौं । डेंगी महामारी कम हुने वितिक्कै पहिलो नम्बर खोटाङमा डाक्टर पठाउँछौ । सचिव देबकोटाले भन्नुभयो ।

निमित्तका लागि हाम्रो कार्यालयबाट एक जनालाई दिँदै गर्न मिल्दैन । निमित्तका पनि लागि मुख्यमन्त्रीको कार्यालयमा तत्काल ताकेता गर्ने देवकोटाको भनाइ छ ।

Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments

रिलेटेड न्युज

छुटाउनुभयो कि ?