समय र दृष्टिकोण

डा. नारायणप्रसाद निरौला
Read Time = 12 mins

समयको परिवर्तनसँगै दृष्टिकोणमा पनि भिन्नता रहने गर्दछ । समयको चक्रले नै परिवर्तनका नयाँ पालुवा पलाइ रहन्छन् । देश, काल, परिस्थिति, एवं अवस्थाअनुसार विचारका बान्कीमा पनि विविधता आउने गर्दछ । हिजोको हेराइ आज भिन्नै र आजको हेराइभन्दा भोलि भिन्नै हुन्छ । किनकि यो परिवर्तशील संसार हो । समयका प्रत्येक पलसँगै मानवीय चिन्तनमा पनि नयाँ पन थपिइरहेको हुन्छ । यसैले शास्त्रमा युग धर्म र युग व्यवस्थाको परिकल्पना गरिएको छ । हरेक युगअनुसार भएका परिवर्तनका उपाख्यान पुराणमा जोडिएका छन् जुन समयको परिवर्तनसँगै दृष्टिकोणमा पनि आएका बदलाव हुन् ।

आजको जस्तो बुझाई भोलिसम्मा रहँदैन । एउटै विषयवस्तुलाई हेर्ने हेराइमा फरक हुन्छ । एउटा रूखलाई व्यापरीले हेर्दा कुन आकारमा चिरान गर्दा अधिक फाइदा आउँछ भन्ने देख्दछन् । त्यसै अनुसारको योजना गर्दछन् र सोही प्रकृतिका धारणा बनाउने गर्दछन् । मूर्तिकारले त्यही रूखमा सुन्दर मूर्तिको परिकल्पना गरिरहको हुन्छ । कविले त्यही रूखलाई आधार बनाएर सुन्दर सृजना गरिरहेको हुन्छ भने एउटा इन्जिनियरले उक्त रूखको वस्तुबनावटअनुसार अर्को कुनै कुरा निर्माण गर्न सक्ने सिद्धान्तको प्रतिपादन गरिरहेको हुन्छ ।

वस्तु एउटै भए पनि हेर्ने दृृष्टिमा भिन्नता रहनाले हरेक विषयवस्तुलाई हेर्ने हरेकका भिन्नाभिन्नै दृष्टिकोण हुने गर्दछन् । सबै कुरामा रावण खराब नै होइन । उक्त समयमा आएको माता सीताप्रतिको कुभावनाले नै रावणलाई खराब प्रवृत्तिको चरित्रका रूपमा हेरिएको हो । समयानुसार नै रावणको दृष्टिकोणमा भिन्नाता आयो । अधर्मवृत्तिको चिन्तनले नै रावणालाई खराबको बाटोमा हिँडाएको हो । रावणले सीता माताको हरण नगरेको भए रामायणका युद्ध पनि हुँदैन थियो ।

समयजन्य अनुभवले पनि मान्छेका दृष्टिकोणलाई भिन्न पार्ने गर्दछ । हिजोको सोच र विचारले मात्र आज काम गर्दैन । आजलाई हेरेर दशवर्षको योजना बनाउनु व्यर्थ हुन्छ । किनकि समयको गतिमा निरन्तर परिवर्तन भइरहन्छ ।

समय एउटै सरल रेखामा चल्दैन । हरेक पल पलमा समयले नयाँ मोड लिइरहेको हुन्छ । समय उही हो । परिस्थिति उही हुन्छ । कोही त्यही समयमा खुशी हुन्छन् त कोही दुःखी । समय एउटै भए पनि भिन्न दृष्टिकोण अनुसार कसैले सोही परिस्थितिलाई कलामा उतार्छन् त कसैले नयाँ प्रविधि र सीपमा । जसले जे जसरी बुझ्छन् उक्त कुरा सोही अनुसार मूत्र्त रूपमा आउने गर्दछ । कुनै पनि कुरालाई हुँदैन भनी नकार्न सकिदैन । जसले जस्तो मूत्र्तरूप दिन्छ त्यो त्यही नै सार्थक हुन्छ । त्यही नै त्यो समयको पूर्ण प्रतिकृति हो ।

हिजो जे थियो त्यो आज अलि भिन्न बनिरहेको छ भने भोलि पनि भिन्न अवश्य नै बन्नेछ । समयजन्य अनुभवले पनि मान्छेका दृष्टिकोणलाई भिन्न पार्ने गर्दछ । हिजोको सोच र विचारले मात्र आज काम गर्दैन । आजलाई हेरेर दशवर्षको योजना बनाउनु व्यर्थ हुन्छ । किनकि समयको गतिमा निरन्तर परिवर्तन भइरहन्छ । उक्त परिवर्तनको पाटोलाई पनि आकलन गर्न सकियो भने मात्र सफलताको नजिक पुग्न सकिन्छ । यसैले योजना केवल गोरेटोमात्र हो । जसरी भनाइ र गराइमा भिन्नता रहन्छ त्यसैगरी जीवन भोगाइ र भनाइमा पनि भिन्न रहन्छ ।

परिवर्तनले हरेक विषयवस्तुमा भिन्नता ल्याउने गर्दछ । हिजो खुशी भएको व्यक्ति आज बेखुशी पनि रहनसक्छन् । हिजोको सापेक्षमा भोलिलाई हेर्ने मात्र हो । किनकि हिजो हिजो नै थियो, आज आज नै हो र भोली भालि नै हुनेछ । कायिक रूपमा पनि आज हामी जस्ता छौँ त्यस्तै रहँदैनौ । समयले जीवनमा केही न केही बदली गरिरहेको हुन्छ, जसरी मौसममा फेरबदल हुन्छ । हिजोको संसार हेर्ने प्रवृत्ति र आजको भोगाइ निकै भिन्न छ भने भोलिको दृष्टिकोण पनि भिन्न रहने गर्दछ । कुनै सिद्धान्त सोही सिद्धान्तमा स्थिर रहन्छन् । समयअनुसार परिवर्तन हुनसकेन भने त्यसको उपादेयता रहँदैन ।

यसैले त प्रजातन्त्रवादी सिद्धान्त त बोकेर हिँडेका हुन्छन् तर स्वयंमा प्रजातन्त्रको अभ्यस छैन । सामम्यवादीले भन्ने नेता स्वयं साम्यवाद अवलम्बन गर्न सकेका छैनन् । किनकि समयसँगै ती दृष्टिकोणमा भिन्नता आउने गर्दछ । यसैले त हरेक सिद्धन्तको आजको सन्दर्भमा ब्याख्या गरिन्छ । किनकि तिनै व्यक्तिले पुनः त्यही सिद्धान्तलाई पुनर्लेखन गरे भने पनि भिन्नता आउने गर्दछ । किनकि त्यो समयमा वदलाब आइसकेको हुन्छ ।

प्राकृतिक भिन्नताकै कारणले मान्छेका यावत् कुराहरूमा अनेकता रहन्छ । जब मान्छेमा कुनै कुराको तनाब पर्छ अनि ऊ निरन्तर त्यही विषयको चिन्तनमै रुमलिरहन पुग्छ । अन्य कुराहरू सबै गौण भएर एउटै विषयवस्तु निरन्तर चिन्ताको केन्द्रबिन्दु बन्न पुग्छ । त्यो तनाबको पनि कति शक्ति छ त्यति नै त्यसले प्रभावित पार्ने गर्दछ । जब त्यो भन्दा अर्को शक्तिशाली तनाब जन्मन्छ अनि त्यसैले पहिलो तनाबलाई गौण बनाउन पुग्छ । सानो घाउ भएको दुखाइको पीडा भइरहेको अवस्थामा अर्को त्योभन्दा ठूलो घाउ भयो भने उक्त सानो दुखाइ ठूलो घाउलको तुलनामा कम हुने भएकाले कम पीडादायी रहन्छ । यस्तै दृष्टिकोणमा पनि परिस्थितिले भिन्न बनाउने गर्दछन् ।

समयसँगै स्वभावगत परिवर्तन आइरहन्छन् । प्रातकालीन स्वभाव भिन्न हुन्छ भने मध्यकालीन अलि भिन्न र सायङ्कालिक स्वभाव अलि परिवर्तित भइरहेको हुन्छ । स्वभावसँगै मान्छेमा हेर्ने दृष्टि पनि परिवर्तित हुने गर्दछ । बाल्यकालीन रुचि जे थिए ती विस्तारै उमेरसँगै वदलिन्छन् । 

स्वअनुकूल हुनु मानवीय प्रवृत्ति हो । एउटै कुरालाई पनि मन्छेले भिन्न देखिरहेको हुन्छ । एउटै साँठगाँठमा चलेका पाण्डवहरू पनि सबै भिन्न प्रकारका थिए । उनीहरूमा कार्यगत एकता रहे पनि स्वभाव र दृष्टिगत भिन्नता वेग्लै थियो । कोही कुनै कुरामा कुशल थिए त कुनै कुरामा कमशल । द्रौपदी सबैकी साझा पत्नी भए पनि प्रत्येकका किन भिन्ना भिन्नै पत्नी रहेभन्दा पाण्डवमा पनि वैभन्नता थियो । युधिष्ठिर भालाधारी, भीम गधा धारी, अर्जुन धनुर्धारी थिए भने नकुल र सहदेव तरबार धारी ।

सबैका भिन्न भिन्न स्वभावलाई युधिष्ठिरले समेटेर नै अघि बढेका थिए । दर्शन एक भए पनि विचार भिन्न थिए । युधिष्ठिरका स्थानमा भीम हुन्थे भने परिस्थितिले अर्कै मोड ल्याउथ्यो । समयसँगै युधिष्ठिरले जुन निर्णय लिए त्यही ठाउँमा अर्को व्यक्ति मुख्य भएको भए अर्कै निर्णय लिन्थे । एउटै मानिसमा पनि एकै स्वभाव निरन्तर रहिरहँदैन । समयसँगै स्वभावगत परिवर्तन आइरहन्छन् । प्रातकालीन स्वभाव भिन्न हुन्छ भने मध्यकालीन अलि भिन्न र सायङ्कालिक स्वभाव अलि परिवर्तित भइरहेको हुन्छ । स्वभाव सँगै मान्छेमा हेर्ने दृष्टि पनि परिवर्तित हुने गर्दछ । बाल्यकालीन रुचि जे थिए ती विस्तारै उमेरसँगै वदलिन्छन् । किशोर अवस्थका रुचि युवा अवस्थामा पुगेपिछ भिन्न बन्न पुग्छन् । युवा अवस्थाको सोच वृद्ध अवस्थामा भिन्न हुन्छ । यसैले समय र दृष्टिकोणमा भिन्नता निरन्तर अउने गर्दछ ।

प्रेममा आत्मीयताको आगाध मायामा दरार अउनु पनि दृष्टिकोण बदलिनु नै हो । जब प्रेम प्रेमीबीचको दृष्टिगत भिन्नता हुन्छ तब उनीहरूको जीवनमका भँगाला छुट्टिन पुग्छन् । एकले अर्कालाई हेर्ने दृष्टिमा भिन्न पाए पछि नै सम्बन्धमा सुनामी चल्ने गर्दछ । यो स्वभावलाई परिवर्तन गराउने मुख्य कारक समय हो र उक्त समयले दिएको दृष्टिकोण हो । आजका दार्शनिक विचारहरू पनि भिन्न परिस्थितिका उपज हुन् । जीवन हेर्ने छुट्टै दृष्टि भएर नै संसारमा विभाजनका रेखा कोरिएका हुन् । रगतका खोला बगेर सीमानामा किल्लाहरू गाडिएका हुन् ।

यदि सबैको समभाव वा एकत्वभाव हुन्थ्यो भने न त महाभारत जन्मिन्थ्यो न रामायण नै । ट्रयको युद्ध पनि उही दृष्टिगत भिन्नताको परिणति हो । विश्व इतिहासमा छेडिएका अनन्त युद्धका विभीषिकाहरू पनि तिनै विचारगत भिन्नताका परिणति हुन् । चाहे राजनीतिक हुन् चाहे धार्मिक हरेक विषयमा भिन्नता हुने प्रवृत्तिले गर्दा नै संसारमा मान्छे जुट्ने र फुट्ने क्रम चलिरहन्छ । यी सबै विषयवस्तुको कारक भनेको समय र समयले बनाएको दृष्टिकोण हो ।

Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments

रिलेटेड न्युज

छुटाउनुभयो कि ?